ad ad

विचार


ट्रम्प फेरि राष्ट्रपति भए के गति होला अमेरिकाको?

ट्रम्प फेरि राष्ट्रपति भए के गति होला अमेरिकाको?

मार्टिन वुल्फ
भदौ १०, २०७९ शुक्रबार ७:२०, काठमाडौँ

गत साता निरंकुशतन्त्रतर्फको यात्रामा अमेरिकाले अर्को एउटा पाइला चाल्यो। डोनाल्ड ट्रम्पलाई चुनौती दिन खोजिरहेकी लिज चेनी रिपब्लिकन पार्टीको वायोमिङमा प्राइमरीमै हारिन्। उनका बुबा हुन् पूर्वउपराष्ट्रपति डिक चेनी। जो इराक युद्धको ‘मास्टरमाइन्ड’ मानिन्छन्। लिज चेनी निर्विवाद रुपले अत्यन्त अनुदार हुन्। तैपनि उनी पछिल्लो समय रिपब्लिकनहरुका लागि अभिशाप बनेकी छन्। उनको अपराध? उनी आफ्नो ‘महान नेता’को झुटलाई फैलाउन सघाउनुभन्दा निष्पक्ष निर्वाचनको नतिजालाई स्वीकार्नु ठूलो कर्तव्य हो भन्ने विश्वास गर्छिन्।

रिपब्लिकन पार्टीले १९३० को दशकको जर्मनहरुको नेतृत्व सिद्धान्तलाई अपनाएको छ। जसमा सहीसत्य के हो, शीर्षस्थ नेताले निर्क्यौल गर्छ। र, त्यो नेताप्रतिको बफादारी नै अरुको सबैभन्दा ठूलो कर्तव्य हो। गएको चुनावमा आफूले जितेको ट्रम्पको झुटो दाबीलाई सारा रिपब्लिकनहरुले स्वीकार्नु यो सिद्धान्तको सबैभन्दा गतिलो उदाहरण हो। यहाँनेर अझ महत्वपूर्ण कुरा के छ भने उदार लोकतन्त्रको केन्द्रीय मान्यता अर्थात् निष्पक्ष चुनावविरुद्ध नै यो प्रयोग भएको छ। दस वर्षअघि हामीमध्ये धेरैजसो अमेरिकामा यस्तो घटना हुनै सक्दैन भन्ने सोच्थ्यौँ। तर, डोनाल्ड ट्रम्प सत्तामा आएसँगै त्यसको सम्भावना बढेर गयो। अहिले फेरि, ट्रम्पको झुटलाई उनको पार्टीले पत्याउँदा अर्को निर्णायक क्षण देखा परेको छ।

हार्वर्ड विश्वविद्यालयका स्टिभन लेभित्स्की र डेनियल जिब्लाटले आफ्नो उत्कृष्ट पुस्तक हाउ डेमोक्रेसी डाइमा तर्क गरेका छन्– लोकतन्त्रलाई बिगार्न गाह्रो छैन। यो काम धेरै पटक भइसकेको छ। अतीत र वर्तमान दुवैमा। त्यसका लागि सबैभन्दा पहिले निर्वाचन प्रणाली बिगारिदेऊ। दोस्रो, रेफ्रीहरु (न्यायपालिका, कर प्रणाली, गुप्तचर निकाय र प्रहरी) लाई कब्जामा लेऊ। तेस्रो, राजनीतिक विपक्षी र सबैभन्दा मुख्य कुरा सञ्चारमाध्यमलाई छेउ लाइदेऊ वा सिध्याइदेऊ। यी सबै आक्रमणहरुलाई समर्थन गर्नु भनेको विपक्षीको अवैधानिकताको विरोध गर्नु हुनेछ, नेताले उपयोगी ठानेका झुटसँग मेल नखाने सूचनाहरु ‘मिथ्या’ हुनेछन्।

पहिलो कार्यकालमा आफ्ना झुटहरुलाई समर्थकमाझ सत्यका रुपमा स्थापित गर्ने काममा ट्रम्प धेरै हदसम्म सफल भएका छन्। तर, निर्वाचन प्रणाली वा सरकारलाई कसरी घुमाउने, यसमा न उनी न उनका बफादारहरु नै सफल भए। यसको आंशिक कारण के हो भने ट्रम्पले ‘सही’ अर्थात् कट्टर, सक्षम र प्रतिबद्ध सहयोगीहरु फेला पारेका छैनन्। त्यतिबेला उनी ती मानिसहरुबाट घेरिएका थिए, जसलाई आज उनी ‘विश्वासघाती’ भन्ने गर्छन्।

तर, अहिले अवस्था फरक छ। अहिले ट्रम्पले सिंगो पार्टीलाई लगभग आफ्नै बनाइसकेका छन्। चेनीलाई झ्यालबाट बाहिर मिल्क्याइनु त्यसैको प्रमाण हो। रिपब्लिकनहरुमाझ ट्रम्पलाई जवाफदेहीभन्दा माथिको, अझ भन्दा कानुन र संसदभन्दा माथिको ठान्न थालिएको छ। यो कुरा निकै महत्वपूर्ण छ। निर्वाचन प्रणालीलाई बिगार्ने प्रयासलाई उचित ठहर्याउन ट्रम्प र उनको पार्टीले नतिजा आफूबाट ‘चोरिएको’ दाबी गरेका थिए। यसमा पनि धेरै प्रगति गरिएको छ। 

ट्रम्पवादको अर्को महत्वपूर्ण चरण भनेको राज्यका केन्द्रीय संस्थाहरुका नेता तथा कर्मचारी हटाएर व्यक्तिगत रुपमा आफूप्रति बफादार व्यक्तिहरुलाई भर्ती गर्नु हो। त्यसो गर्नका लागि उनी राष्ट्रपति बन्नैपर्ने हुन्छ। त्यसैले चुनाव बिगार्नु उनका लागि महत्वपूर्ण छ। त्यस्तै, उनी जेलबाहिर रहनु पनि उत्तिकै महत्वपूर्ण छ। 

जोनाथन स्वानका दुई पछिल्ला लेखका अनुसार ट्रम्पसँग सरकारको शिरदेखि पुछारसम्म आफ्ना बफादारलाई भर्ती गर्ने योजना छ। यसको एउटा महत्वपूर्ण पाटो सरकारी एजेन्सीहरुका स्थायी कर्मचारीलाई वफादारहरुले विस्थापित गर्नु हो। यदि रिपब्लिकनहरुले कंग्रेसमा बहुमत हासिल गरे भने यो त्यति कठिन पनि हुने छैन।

मानौँ, एफबीआई, सीआई र आन्तरिक राजश्व सेवाको नेतृत्वमा ट्रम्पका बफादार पुगे, कर्मचारी पनि तिनै भए। मानौँ, ट्रम्पप्रति बफादार रक्षामन्त्रीमुनि वरिष्ठ सैन्य अधिकारीहरुमा पनि उनकै भक्तहरुलाई राखियो। मानौँ, फेडेरल रिजर्भ र अन्य सबै महत्वपूर्ण नियामक निकायको बोर्डमा पनि उनकै बफादारलाई राखियो। अब कल्पना गरौँ, कानुनी शासन र नागरिक अधिकारमा यसको कस्तो प्रभाव पर्ला? यो पनि कल्पना गरौँ, ती एजेन्सीले स्वतन्त्र व्यवसाय, खासगरी सञ्चारमाध्यममाथि कति दबाब देलान्?

निरंकुशतन्त्रमा बजारले आसेपासे पुँजीवादको स्वरुप लिन्छ। के अमेरिका यसभन्दा फरक हुन सक्ला? व्यक्तिगत स्वतन्त्रता सायद संघीय प्रणाली र न्यायपालिकाले रक्षा गर्ला। तर, आफ्नो नेताप्रतिको बफादारी नै एक मात्र सिद्धान्त भएका व्यक्तिहरु संघीय सरकारको कर्मचारी भए भने ट्रम्पको इच्छालाई रोक्न कठिन हुनेछ।

तानाशाहीको अर्थ जवाफदेहीबिनाको शासन हो। यसको अर्थ सक्षम र हस्तक्षेपकारी शासन होइन। तानाशाही असक्षम र अल्छी पनि हुन सक्छ। त्यसका अनगिन्ती उदाहरण हाम्रासामु छन्। तर, यो अरु सबैजस्तै तानाशाही नै हुनेछ।

ट्रम्पको यस्तो प्रकृतिको दोस्रो कार्यकाल सम्भव भयो भने त्यसले विश्वलाई कस्तो असर पार्ला? सबैभन्दा महत्वपूर्ण, अमेरिकाका सहयोगीहरुलाई के असर पर्ला? ‘अमेरिका फर्स्ट’ भन्ने राष्ट्रवादीले माथि उल्लेख गरिएको जस्तो शासन चलाए भने उदारवादी अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थाको बचेखुचेको विश्वसनीयता के होला? विश्वव्यापी सहकार्य के होला? 

यी सबै प्रश्नहरुको एकमुष्ठ जवाफ हो– ‘राम्रो केही पनि हुँदैन।’ यसले ‘अमेरिकी असाधारणता’ लाई अन्त्य गर्नेछ। त्यसको अर्थ विश्व व्यवस्थाको आधारका रुपमा अलगअलग स्वार्थहरुको प्रभाव क्षेत्र गठन हुनेछ। केहीले त्यसलाई मन पराउने छन्। तर, मेरो विचारमा यो तानाशाहीतर्फको एउटा प्रलयकारी परिवर्तन हुनेछ।

इशापूर्व २७ मा रोमन गणतन्त्र सैन्य तानाशाहीमा बदलियो। जसलाई हामी रोमन साम्राज्य भन्ने गर्छौँ। त्यस्तै खालको परिवर्तन अमेरिकामा हुँदैछ। अहिले धेरै मानिसका लागि नपत्याउँदो भए पनि यो असम्भव छैन। यो असम्भव भइदिए हुन्थ्यो भन्ने मेरो आशा छ। आखिर ट्रम्प बुढो भइसके। आफ्नो त्यस्ता बफादार उनीसँग नहुन सक्छन्।

तर, हरेक दिन उनी अमेरिकी गणतन्त्रलाई शोषण गरिरहेका छन्, यसको नैतिक पतनको प्रदर्शन गरिरहेका छन्। अमेरिकी अनुदारवाद कट्टर राष्ट्रवादमा फेरिएको छ। त्यो राष्ट्रवाद एउटा व्यक्तिले आविष्कार गरेको सत्यमा विश्वास गर्छ र आफ्नै सरकार फाल्न प्रतिबद्ध छ। डिक चेनी भन्छन्– ‘ट्रम्प हाम्रो गणतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हुन्।’ यस विषयमा हामीले चेनीलाई विश्वास गर्नुपर्छ। किनभने ट्रम्प सबैभन्दा ठूलो खतरा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .