ad ad

विचार


‘प्रदीप गिरि अर्ध कम्युनिस्ट हुनुहुन्थ्यो, ३ कारणले कम्युनिस्ट बन्नुभएन’

‘नेपाली कांग्रेसमा उहाँ अप्राशंगिक हुँदै गइराख्नुभएको थियो’
‘प्रदीप गिरि अर्ध कम्युनिस्ट हुनुहुन्थ्यो, ३ कारणले कम्युनिस्ट बन्नुभएन’

अरुणकुमार सुवेदी
भदौ ५, २०७९ आइतबार ११:४६, काठमाडौँ

मैले एसएलसी पास गर्दा वीपी कोइराला बितिसक्नुभएको थियो, उहाँका कुरा सुन्न पाएनौं। हामी नयाँ पिँढीको भएको हुनाले प्रदीप दाइ बनारसतिर हुँदाखेरि उहाँसँग भेट्न सकेनौं। त्यसबेला हाम्रो उमेर पनि धेरै भएको थिएन। पछि उहाँहरु प्रवास छाडेर सबैजना नेपाल आउनुभयो।

म धरानमा आइएस्सी उतीर्ण गरेर काठमाडौं आएँ। चित्रन्द्र कलेजमा बीएस्सीमा भर्ना भएपछि काठमाडौंमा प्रदीप दाइसँग मेरो भेट हुन थालेको हो। हामी विद्यार्थी नै थियौं, उहाँहरु प्रौढ राजनीतिज्ञ भइसक्नुभएको थियो।

हाम्रो भेटघाट राजनीतिक सिलसिलामै भएको हो। त्यतिखेर हामी नेविसंघका विद्यार्थी नेताका रुपमा उहाँहरुकहाँ कुरा सुुन्न जाने गरेका थियौं। वैचारिक, राजनीतिक तथा ऐतिहासिक कुरा सुन्न जाने सीमित ठाउँ थिए। जस्तो– हामी गणेशराज शर्माकहाँ जान्थ्यौं। भीमबहादुर तामाङसँग जान्थ्यौं। रामहरि शर्माकहाँ जान्थ्यौं। बढी प्रदीप दाइसँग कुरा हुन्थ्यो।

त्यतिखेर प्रदीप दाइसँग समाजवादी कोणबाट धेरै छलफल हुन्थे। कम्युनिस्ट इतिहास र समाजवादीहरुको इतिहासका बारेमा उहाँसँग गहिरो ज्ञान थियो। इतिहास र राजनीतिक विचारधारको समन्वयात्मक शिक्षा लिनका लागि प्रदीप दाइकहाँ बारम्बार जाने गरिन्थ्यो।

एक किसिमले प्रदीप दाइ मेरो नथापेको गुरु हो। एकलब्यको द्रोणाचार्यजस्तो गुरु हुनुभो। उहाँसँग मेरो धेरै नै आउने जाने र कुरा गर्ने हुन्थ्यो।

नेपाली कांग्रेस विभाजित हुँदा उहाँले किसुनजी, देउवाजीलाई सघाउनुभयो। म पनि प्रजातान्त्रिक कांग्रेस नै भएँ। उहाँ पनि प्रजातान्त्रिक कांग्रेस नै हो।

अहिले म आर्थिक नीतिमा धेरै परिवर्तित भइसकें। मेरो पुस्तक सपनाका गाथाहरुको भूमिका लेख्दाखेरि प्रदीप दाइले भन्नुभयो, इकोनोमिक सोचमा तिम्रो र मेरो अलिकति मिल्दैन।

मेरो विकासको खाका मेघा डेभलपमेन्ट र इनर्जीको एकदमै उपभोग गर्नुपर्छ भन्नेखालको थियो। मेरो यो थ्यौरीसँग प्रदीप दाइ खासै सहमत हुनुहुन्नथ्यो। ठूला शहरहरु विकसित गर्नुहुँदैन, साना गाउँको क्लष्टर बनाउनुपर्छ, दीगो गाउँहरु हुनुपर्छ भन्नेखालको उहाँको एप्रोच थियो। ‘स्माल इज ब्युटिफुल’ का लेखकबाट उहाँ बढी प्रभावित हुनहुन्थ्यो।

विदेश नीतिको सोचमा चाहिँ उहाँको र मेरो कुरा मिल्थ्यो। भूराजनीतिक यथार्थलाई महसुस गरेर युटोपियन भन्दा पनि रियालिस्टिक विदेश नीतिमा जानुपर्छ भन्नेमा मेरो र उहाँको कुरा मिल्थ्यो।

प्रदीप दाइ महाभारतको चाहिँ किरो हो। महाभारत, पुराण आदिमा उहाँको एकदमै राम्रो दख्खल थियो। तर, वेदान्ततिर चाहिँ खासै उहाँले रुचीकर रुपमा पढेको मैले पाइनँ।

इतिहासको सुरुआत पनि स्टोरी टेलिङबाट (कथा वाचन) भएको हो। हेरोडोटसको इतिहास पनि पढ्नुभयो भने इतिहास र कथा छ। पुराणहरुमा पनि इतिहासँगै कथा छ। यो कुरामा उहाँलाई असाध्यै ठूलो चाख थियो। महाभारतमाथि उहाँका दुईचार वटा डिस्कोर्ष पनि युट्युबमा छन् जस्तो लाग्छ।

पढ्न त म महाभारतको पनि पारखी हुँ। महाभारतमाथि पुस्तक पनि लेखेको छु। तर, मलाई त्योभन्दा पनि उपनिषदमाथि एकदमै ठूलो चाख छ। म साइन्सको विद्यार्थी भएको हुनाले त्यसलाई अर्को किसिमले व्याख्या गर्छु। यसमा हामीलाई बुझ्न दुस्कर हुँदोरहेछ भनेर प्रदीप दाइले दुई–चारचोटि मसँग कुरा गर्नुभएको थियो। यसमा मेरो रामानन्द गिरि र प्रदीप गिरि दुईजनासँग दुईचार चोटि कुरा भएका छन्।

प्रदीप दाइ असाध्यै युटोपियन मान्छे लाग्थ्यो कहिलेकाहीँ। उहाँ राजनीतिको गुरु हुनचाहिँ एकदम सक्षम मान्छे हो। तर, राजनीतिको व्यवस्थापन गर्नचाहिँ उहाँले कहिल्यै पनि आफूलाई लगाउनुभएन। अधिकतम नेपाली कांग्रेसको केन्द्रीय सदस्यसम्म हुनुभयो। जहिल्यै मन्त्री पाउनुहुन्थ्यो, मन्त्री पद कहिल्यै लिनुभएन। मन्त्री भनेको व्यवस्थापकीय पद हो। उहाँ व्यवस्थापनको बन्धनको पक्षमा कहिल्यै हुनुहुन्नथ्यो।

पदै लिनु मात्रै सफलता हो भन्ने हो भने त गणेशमानजीलाई पनि असफल भन्दा हुन्छ। न उहाँ नेपाली कांग्रेसको सभापति हुनुभो, न प्रधानमन्त्री हुनुभो। प्रदीप दाइ कहिलेकाहीँ उदासीनताका बावजुद पनि निरन्तरको अभियन्ता रहनुभयो। राजनीतिप्रतिको सक्रियता, प्रजातन्त्रप्रतिको समर्पणभाव, अध्यनशीलता सबै किसिमको समर्पणका रुपमा आयो।

अर्ध कम्युनिस्ट​ प्रदीप गिरि 
प्रजातान्त्रिक समाजवाद भनेर लगभग इकोनोमिक थ्यौरीमा त उहाँलाई अर्ध कम्युनिस्ट भन्दा पनि हुन्छ।  पछिल्लो अध्यायमा आएर मचाहिँ बढी पुँजीवादी हुँदै गएँ। उहाँ अन्तिमसम्म पनि समाजवादीको समाजवादी रहिरहनुभयो।

नेपालमा मार्क्सवाद लेनिनवाद माओका बारेमा पढाउनुपर्यो भने कुनै पनि कम्युनिस्टले भन्दा प्रदीप दाइले राम्रो पढाउनुहुन्थ्यो। कम्युनिस्टबारे उहाँमा त्यति गहिरो ज्ञान थियो।

गहिरो ज्ञान भए पनि उहाँ कम्युनिस्ट चाहिँ हुनुभएन। यसका तीनवटा कारण छन् :

पहिलो– कम्युनिस्ट हुनलाई उनीहरुको भाषामा भन्दा विद्रोह चेत र त्यसमाथि हिंसा चेत पनि अपरिहार्य पाटो हो। प्रदीप दाइ यति धेरै हिंसा चेतको विरुद्धमा हुनुहुन्थ्यो कि नेपाली कांग्रेसले नै सशस्त्र संघर्ष गर्दाखेरि उहाँ त्यसको पक्षमा हुनुहुन्थेन। वीपी कोइराला, गिरिजा कोइरालाको पक्षमा हुनुहुन्थेन। त्यतिखेर ठूलो भिन्नता भएर उहाँले ‘डेमोक्रेटिक सोसलिस्ट युथ लिग’ पनि गठन गर्नुभो। हिंसाको पक्षमा उहाँ कहिल्यै पनि लाग्नुभएन।

दोस्रो– एकदलीय सर्वसत्तावादको पक्षमा उहाँ कहिल्यै उभिनुभएन। जस्तो रसियन कम्युनिस्टको चर्चा गर्दा स्टालिनको आलोचना गर्नुभयो। उहाँ सर्वसत्तावादको पक्षमा हुनुहुन्थेन। नेपालमा डेमोक्रेटिक तर सामाजिक न्यायसहितको प्रणाली हुनुपर्छ भन्नेमा उहाँको प्रतिवद्धता रह्यो। उहाँ डेमोक्रेटिक सोसलिस्ट हुनुभयो। तर, बहुदलीय प्रजातन्त्र, आधारभूत मानव अधिकारसँग उहाँले सम्झौता गर्नुभएन।

तेस्रो– प्रदीप दाइ आध्यात्मिक व्यक्ति हुनुहन्थ्यो। मैले भेट्दाखेरि उहाँलाई तपाई अराजक आध्यात्मिक मान्छे हो भनेको थिएँ। भारतमा आचार्य नरेन्द्र देवहरुसँग उहाँको संगत भयो। संगतका कारणले पनि उहाँ कम्युनिस्ट पार्टीमा लाग्नुभएन।

कांग्रेस–कम्युनिस्ट मिलनमा योगदान
नेपाली कांग्रेसको राजनीति अहिले आदर्शको अध्याय भन्दा व्यवहारिकताको अध्यायमा प्रवेश गरिसकेको छ। आदर्शको अध्यायको उहाँ उदाहरणीय पात्र हो। अहिलेको व्यवहारिक अध्यायमा उहाँ केही हदसम्म अप्राशंगिक पनि हुँदै गइराख्नुभएको थियो।

तर, कांग्रेस र कम्युनिस्टलाई बहुदलीय प्रजातन्त्र मानिसकेपछि एक ठाउँमा ल्याएर उभ्याउन सकिन्छ भन्ने सैद्धान्तिक धारचाहिँ किसुनजी प्रधानमन्त्री हुँदा ०५६ सालमै प्रदीप दाइले ल्याउनुभयो। यसमा राम्रै भूमिका खेलेर माओवादीहरुलाई शान्तिपूर्ण अवतरण गराउन धेरै काम त्यतिखेर गर्नुभएको थियो। यसलाई उहाँको अडान र राजनीतिक लाइनको सफलताका रुपमा ग्रहण गर्न सकिन्छ। त्यतिबेला नै कांग्रेस र कम्युनिस्टबीच धेरैवटा मिलन बिन्दूहरु छन् भनेर उहाँले प्रस्ताव गर्नुभएको हो। त्यसका सानातिना साक्षी हामी पनि हौं।

अरुण कुमार सुुवेदी

कम्युनिस्टलाई हेर्ने सवालमा प्रदीप दाइ र मबीच केही फरकजस्तो देखिएकै हो। मैले आफ्ना अन्तरवार्ताहरुमा पनि भन्ने गरेको छु, झण्डै झण्डै प्रदीप दाइ अर्ध कम्युनिस्ट नै हो नि भनेर। यो कुरा रेकर्डमा पनि कहीँ होला।

पछिल्लो अध्यायमा आएर खास गरी कम्युनिस्टलाई हेर्ने दृष्टिकोणमा उहाँसँग म केही असहमत भएकै हो। प्रदीप दाइ भन्दा म नयाँ पिँढीको भएको हुनाले उहाँ अलिकति क्लासिकल र म अलिकति व्यवहारिक हुँदै आएँ कि भन्ने लाग्छ।

आफूसँग कुरो मिलेन भने देश बेचुवा, दलाल भन्ने उग्रताको जुन संस्कार अहिले समाजमा उठिराखेको छ, यसको त म विपक्षमै छु। कुरा नमिल्न सक्छन्, नमिल्ने वित्तिकै अभद्र लेभल लगाउनु उचित होइन।

(प्रधानमन्त्री शेरबहादुर देउवाका विदेश मामिला सल्लाहकार सुवेदीसँग कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .