विचार


गहिरिँदो आर्थिक संकट र उत्तरआधुनिक रोमाञ्चकता

गहिरिँदो आर्थिक संकट र उत्तरआधुनिक रोमाञ्चकता

सीताराम भट्टराई
असार २८, २०७९ मंगलबार १८:१३, काठमाडौँ

प्रसिद्ध मार्क्सवादी अर्थशास्त्री डेभिड हार्वेले अर्थतन्त्रको उत्तर आधुनिक अवस्थाबारे लेखेका छन् – उत्तर आधुनिकतावादीहरुको बयानबाजी खतरनाक हुन्छ, किनभने यसले अर्थतन्त्रको वास्तविकता र विश्वव्यापी राजनीतिक शक्तिले सिर्जना गरेको परिस्थितिको सामना गर्ने कुरालाई उपेक्षा गर्छ ।

नेपालमा आर्थिक सङ्कट गहिरिँदै गएका बेला राष्ट्र बैङ्कका गभर्नर लगायत जिम्मेवार व्यक्ति र यसबारे चिन्ता गरेझैँ देखिएका सचेत नागरिक समेतले औपचारिक/अनौपचारिक रुपमा व्यक्त गरेका टिप्पणी  पढेर/सुनेर यहाँ हार्वेलाई स्मरण गरिएको हो । 

यो आलेखमा विश्वव्यापीरुपमा देखा परेको आर्थिक समस्या र त्यसले नेपालमा सिर्जना गर्न सक्ने परिस्थितिबारे गहिरिएर चर्चा गरिएको छैन। न त नेपालमा समेत देखा परिसकेको आर्थिक समस्याबाट मुलुकलाई कसरी बाहिर निकाल्न सकिन्छ भन्ने उपायको खोजीमा नै यो लेख केन्द्रित छ। बरु नेपालमा देखा परिसकेको आर्थिक सङ्कटलाई सम्बोधन गर्नुपर्ने उपायको खोजी गर्नु भन्दा यस सन्दर्भमा कुरा गर्दै गर्दा हरेक बहसमा प्रष्टै देखिने अनौठो रोमाञ्चकताको विश्लेषणचाहिँ यसको केन्द्र भागमा छ।

नेपाल पनि हाम्रै दक्षिण एसियाको छिमेकी मुलुक श्रीलङ्काको बाटोमा छ वा छैन भन्ने बहसमा देखिएको उत्तर आधुनिक रोमाञ्चकताबारे पनि यसमा संक्षिप्त विमर्श गरिएको छ।

गभर्नर अध्याय
आर्थिक वर्ष २०७९/०८० को लागि केन्द्रीय बैङ्कले जारी गर्ने मौद्रिक नीति सार्वजनिक गर्नु पूर्वउद्योगी/व्यापारीहरुसँग गरिएको सुझाव सङ्कलन कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले प्रश्न गरे, ‘उपभोक्ताले उधारो खाएको छैन, बैङ्कले (ऋण) दिएको छ, पैसा कहाँ गएर अड्कियो त ?’ तरलता अभावको खास कारण उनी व्यापारीहरूलाई नै सोध्दै थिए। उनको मुखाकृतिमा मुलुक गम्भीर आर्थिक समस्या तर्फ उन्मुख छ भन्ने स्वीकारोक्ति त देखिन्थ्यो । तर, त्यसको चिन्ता क्लेश मात्र समेत थिएन। प्रस्तुतिले प्रष्ट पार्दै थियो – (आहा !) सङ्कट आयो, मैले आउँदै गरेको देखेँ।

उत्तर आधुनिकताका असङ्ख्य आयामहरू छन्। अनेकौँ विशेषतामध्ये एक मात्र हो, रोमाञ्चकता। समस्या औँल्याएर खित्का छोडेर हाँस्ने।  समाधानबारे थोरैपनि चिन्तन मनन नगर्ने। बरु, ‘तिमीले भनेजस्तो होइन कुरा अर्कै छ’ भन्ने शैलीमा अन्य मतहरूको उपहास गर्ने। भएका र हुँदै आएका व्याख्या र विश्लेषणलाई नै अवैध अनि भ्रामक भन्ने। अरूले समस्या भनेर पहिचान गरेका विषय अनि सन्दर्भलाई समस्या नै नमान्ने लगायतका व्यवहारहरू त्यो रोमाञ्चकताभित्र पर्छन्।

हो, यस्तै रोमाञ्चकता गभर्नरमा देखियो। यस्तो देखिनुमा अनेकौँ कारणहरू छन्। त्यसमध्ये एक हो, उनी मानसिकरुपमा वर्तमान सरकारप्रति बफादार बन्न नसक्नु।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग उनको पहिलो दिनदेखि नै कुरा मिल्न नसक्नुमा उनी मात्र दोषी छन् भन्न मिल्दैन। शर्माको बन्दुके प्रवृत्ति र विवेकविहीनताका कारण उनी चिप्लिँदै जाने र मुलुकलाई नै जोखिममा पर्ने सङ्केत उनी अर्थ मन्त्रालय छिर्नेबित्तिकै देखिएको थियो। तर, शर्मा लगायत हालको सरकार र गभर्नरबीच स्वार्थको टकराब थियो र त्यो अझै छ।

अप्रमाणित तर स्थापित सत्य के पनि हो भने महाप्रसाद अधिकारी राजनीतिकरुपमा एमालेसँग नजिक र केपी ओलीप्रति बफादार हुन्। अहिलेको प्रमुख प्रतिपक्षी एमाले जे जसरी भए पनि यो सरकारको हरेक नीति र कार्यक्रम असफल पार्न चाहन्छ। त्यसको सारथि बन्न सक्ने पात्र हुन्, हालका गभर्नर।

गभर्नरमा देखिएको रोमाञ्चकता कतै सरकारका आर्थिक नीति र कार्यक्रम नै असफल पार्ने निर्देशित योजनाको प्रतिविम्ब त होइन भनेर शङ्का गरियो भने त्यसले ‘अतिशयोक्तिपूर्ण व्याख्या’ भन्ने आरोप खेप्नु पर्दैन। यसो किन पनि भन्न मिल्छ भने अहिले अर्थमन्त्री छैनन्। आर्थिक विधेयक (बजेट) सांसदले पारित गरिसकेको छ। जसलाई लागु गर्न र त्यसले निर्दिष्ट गरेको लक्ष्य प्राप्ति गर्न जे जस्तो नीति आवश्यक हो, त्यो अनुरूपको मौद्रिक नीति जारी गर्नुपर्ने जिम्मेवारीमा रहेका गभर्नरमा अनौठो उदासीनता देखिएको छ।

गभर्नर अधिकारी मुलुकको अर्थतन्त्र जोगाउन निर्मम ढङ्गले अगाडि बढ्नुको विकल्प छैन भनेर बोल्न किन चाहिरहेका वा सकिरहेका छैनन् भन्ने प्रश्न अहिले महत्त्वपूर्ण बनेको छ।   

जे होस्, गभर्नर अधिकारी जसरी उत्तर आधुनिक घनचक्करमा फसेका छन्, उनी त्यसबाट बाहिर निस्कनुपर्छ। सिर्जित परिस्थितिको सामना गर्ने कुरालाई उपेक्षा गर्ने उत्तर आधुनिक व्यवहार छोडेर उनले वर्तमानमा हाम्रासामु देखापरेको आर्थिक चुनौतीलाई कसरी समाधानमा पु¥याउने भन्ने सोच्नु आवश्यक छ।

कम्तीमा पनि ‘देउवा सरकारले बर्खास्त गर्दासमेत सर्वोच्च अदालतले पुनर्बहाली गराएको प्रतिफल आम नेपालीले स्वादिलो उपहारका रुपमा चाख्न पाए’ भन्ने दृष्टान्त निर्माण गर्न सक्ने समय र सामर्थ्य उनमा छ भन्ने आम विश्वास हो।

राष्ट्र बैङ्कसँगको लामो सम्बन्ध र जागिरे जीवन भोगाइका क्रममा उनले सँगालेका अनुभव अहिले नेपाललाई चाहिएको छ। त्यसैले उनले वस्तुवादी बन्ने र परिस्थितिको ठोस मूल्याङ्कन गर्दै समाधानका सर्वाधिक उपायहरू खोज्नेतर्फ ध्यान दिनेछन् भन्ने विश्वास गर्दै गभर्नर अध्याय यहीँ बिट मारौँ।

काजीबारे केही कुरा
अब पालो राजनीतिक नेतृत्वमा देखिएको उत्तर आधुनिक रोमाञ्चकताको। त्यसो त नेपालमा आर्थिक सङ्कटका प्रारम्भिक सूचकहरू देखा पर्नासाथ धेरै नेताहरूमा एक तमासको रोमाञ्चकता देखिएको थियो। त्यो सिलसिला यति व्यापक बन्यो कि आम नेपालीले सजिलैसँग अनुभूत गर्न सक्ने गरी त्यो रोमाञ्चकता प्रदर्शित हुँदै  आएको छ। माओवादी नेता नारायणकाजी श्रेष्ठले सोमबार लेखेको फेसबुक स्टाटसलाई त्यसको पछिल्लो उदाहरणका रुपमा लिएर यसबारे छोटो चर्चा गरौँ।

श्रेष्ठले लेखेका छन् – हामी अहिले नै श्रीलङ्काको अवस्थामा पुगिसकेका छैनौँ। यो सही नै हो। तर, तीतो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, बिचार, सिद्धान्त एवं मूल्यविहीन  भ्रष्ट, स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा पु¥याउने त्यतै हो । सचेत होऔँ र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं सङ्गठित प्रयत्न गरौँ ।’

क्याबात ! कति राम्रो कुरा, विद्रोहको आह्वानसहित। तर, उनले लेखेका कुराको अन्तर्यमा नेपालमा बढ्दै गएको आर्थिक सङ्कट मोचनको उपायको खोजी छ ? यसबारे थप चर्चा आवश्यक छैन। जवाफ सपाट छ, छैन? त्यसो भए के छ ? उत्तर आधुनिक रोमाञ्चकता।

यहाँ कागले ‘काग, काग’ भन्दै कराउनुलाई पनि उत्तर आधुनिक रोमान्ससँग जोड्न मिल्छ। त्यति मात्र होइन, उनले त झन् पूरै लोकलाई नै ‘उ काग करायो’ भन्दै हाँस्ने मौकासमेत दिएका छन्। मुलुकको अर्थतन्त्र बिस्तारै कसरी उनी सम्बद्ध दलका अर्थमन्त्रीले नै बिगारे भन्नेबारेको चर्चाको यहाँ आवश्यकता नै छैन। न त उनी स्वयम् नै किन र कसरी ‘निष्ठा, बिचार, सिद्धान्त एवं मूल्यविहीन  भ्रष्ट– स्वार्थी राजनीतिको’ जल्दोबल्दो नमुना हुन् भन्नेबारे नै व्याख्या जरुरी हुन्छ।

फेरि पनि उनी एक प्रतिनिधि पात्र मात्र हुन्, जो नेपालको अर्थतन्त्र डुब्दै गरेको हेरेर रमाइरहेका छन्। हाम्रो सम्पूर्ण राजनीतिक नेतृत्वमा त्यो झलक भेटिन्छ/देखिन्छ।

बौद्धिक वर्गको बुद्धिविलास 
यसबाहेक अर्को पनि तप्का छ, जो नेपाल र श्रीलङ्काबीच तुलना गर्न केही महिनादेखि व्यस्त छ।  कुनै पनि औपचारिक मञ्चदेखि सामाजिक सञ्जालका भित्ताहरू समेतमा अति सक्रिय त्यो तप्कामा देखिएको रोमाञ्चकताको फेहरिस्त झन् रोचक छ।

त्यो तप्काको चिन्ता गराई नै गज्जबको छ। वस्तुगत अवस्था भन्दा मनोगत विचार र (कु)तर्कका आडमा गरिने ती विमर्शहरूमा बेग्लै अट्टहास देखिन्छ। त्यसबारे कुरा गर्दा वा विचार पस्कँदा भित्रभित्रै कति रोमाञ्चक बन्दै हुन्छन् यस्ता पात्रहरू भन्ने उनीहरूले बोलेका/लेखेका हरेक शब्दमा देखिने पाइरियाको भन्दा कडा उत्तरआधुनिकतावादी गन्धले प्रष्ट्र पारिरहेको हुन्छ।

त्यसैले उनीहरू समस्याबारे धेरै कुरा गर्छन् तर समाधानबारे बोल्दैनन्। अरूको कमजोरी देखाउन र समस्याको कारणबारे व्याख्या गर्न अति नै खप्पिस यस्ता पण्डितहरूले न त समस्याको जड नै पहिल्याएको देखिन्छ, न त समाधानको खोजीको प्रयास नै गरेको पाइन्छ। उनीहरू फगत आर्थिक सङ्कटको सुनामी आउँदैछ मात्र भन्छन्। अनि आनन्दले बस्छन् । मानौँ यस्तो हुनु नियमित प्रक्रिया हो। जसबारे चिन्ता गर्नुपर्ने छैन।

यो तप्काबारेको टिप्पणी पनि यति नै। किनकि आलेख लामो बन्न नदिनुपर्ने दायित्वसमेत लेखकसँग जो छ।

उत्तरआधुनिक सामन्तका दासहरूको चर्चा 
अब कुरा नगर्दा पनि हुनेहरूको कुरा गरौँ। ती हुन्, दलीय झोला बोकेका र त्यसैको भारीले थिचेर दिमाग नै चल्न नसक्ने अवस्थामा पुगेका मानिसहरू।

तर, फेरि पनि उनीहरूको चर्चा यहाँ किन आवश्यक छ भने देशका नेता र जिम्मेवार निकायका प्रमुखहरू उत्तर आधुनिक रोमान्समा रमिरहेका बेला उनीहरू भने आदिम सामन्तवादी युगका दासहरू भन्दा माथि उठ्न सकिरहेका छैनन्। विचार र दृष्टिकोण दुवैको आधारमा नव सामन्ती युगका ‘नवदास’ भन्न मिल्ने उनीहरू अहिले पनि दलका नेताबाट निर्देशित बिचारको युद्धमा जीवन आहुति दिन तयार देखिन्छन्।

श्रीलङ्कामा राजपाक्षे परिवारमाथि त्यहाँका जनताले गरेको भौतिक आक्रमणबाट आत्तिएर त्यो लहर यता नआओस् भन्ने कामनामा लागेका नेताहरूले भर्खरै  आफ्ना दासहरूलाई एउटा काम लगाएका छन्। त्यो हो– नेपाल श्रीलङ्काको बाटोमा छैन भन्ने (कु)तर्क सहित केही मिथ्याङ्कसमेत हालेर सामाजिक सञ्जालका भित्ताहरू रङ्गाउने।

आज्ञा शिरोपर गर्दै उनीहरूले गरेको कार्यको एउटा उदाहरण यस्तो छ ः नेपालबाट ६३४ मेगावाट बिजुली भारत निर्यातको सम्झौता भएको छ । अहिले ३६४ मेगावाट बिजुली बेचिरहेका छौँ। एक वर्षपछि १६०० मेगावाट बिजुली भारतलाई बेच्ने तयारी छ । त्यति बेलासम्म तेलको आयात घटाउने हो भने हाम्रो भारतसँगको बिओपी (भुक्तानी सन्तुलन) लगभग सकिन्छ। बैंक निक्षेप बैङ्किङ इतिहासकै उच्च अङ्कमा छ। एकाएक सिसिडी रेसियो खारेज गरेर सिडी रेसियो कायम गर्दा पनि बैंक  सुरक्षित स्थान नजिक छन्। बैंकले लगानी रोकेको झन्डै ६ महिना हुँदा पनि व्यवसायीले जेनतेन धानेका छन्। बैङ्किङ इन्डेक्स समालिँदैछन्। सिमेन्ट निर्यात सुरु भैसकेको छ ।

बियर चाउचाउ लगायतका बस्तुको निर्यात पनि जारी छ। यार्सागुम्बा र जडीबुटीको माग त थेगिनसक्नु छ, त्यसको निर्यात जति पनि गर्न सकिन्छ । डलर सञ्चिति निरन्तर बढिरहेको छ । अहिलेकै हिसाबमा पनि ८ महिनाका लागि पुग्ने छ । यो भनेको सामान्य अवस्थासरह नै हो । यो सबै सकिए पनि आइएमएफको अन्तिम विकल्प त बाँकी नै रहन्छ । अबको दुई वर्षमा झन्डै २००० मेगावाट विद्युत् उत्पादन थपिने पक्का छ । यसले प्रतिव्यक्ति आय र देशको जिडिपीमा कति योगदान दिन्छ, त्यसको हिसाब छुट्टै छ । रेमिटेन्स आयात घटेको छैन । बरु युरोप र अमेरिकाबाट आउने रेमिटेन्स बढेको छ । जापान,बेलायत र कोरियामा महँगो कामदार आपूर्ति सुरु भएको छ । देशको पर्यटन क्षेत्र निरन्तर वृद्धि उन्मुख  छ। कच्चा तेलको मूल्य निरन्तर घट्दो छ। सन् २०२५ सम्ममा मट्टितेलको मूल्य न्यून बिन्दुमा रहने प्रक्षेपण छ आदि आदि ।

उनीहरू यतिमा मात्र रोकिएका छैनन्। परैबाट ह्वास्सै दलीय गन्ध आउने गरी सामाजिक सञ्जालमा छाएका ‘साइबर सेना’ आम मानिसमा भ्रम छर्न र उनीहरूमा विकास हुनसक्ने विद्रोही चेतलाई रोक्न थप यसरी प्रस्तुत भइरहेका छन् ः 

कुखुरा, अण्डा, केरा, जुत्ता, कपडा आदि उपभोग्य बस्तुहरूमा आत्मनिर्भरको बाटोमा छौँ। आइटी उत्पादन निर्यात, कृषिमा ठुला घरानाहरूको प्रवेश र बहुराष्ट्रिय कम्पनीहरूको आकर्षणले आगामी दिन अझै उज्ज्वल देखिन्छ । नेपालको कुल बिदेशी ऋण हालको अन्तर्राष्ट्रिय कुल मुद्रा सञ्चितिको करिब चार प्रतिशत मात्र छ। जुन अत्यन्त सुरक्षित हो। राजनीति सफा र स्वच्छ हुनुपर्छ भन्ने स्वरहरू बढ्दो छन् । जनता ‘हाम्रोभन्दा पनि राम्रो रोजौँ’ को बाटोमा छन्। पछिल्लो २ सातामा मात्र अर्वौ रकम लगानीका लागि बिदेसी कम्पनीहरूले नेपाल सरकारबाट लगानी अनुमति प्राप्त गरेका छन् आदि इत्यादि।

आफू दलको दास भएको प्रमाणचाहिँ यसरी पेश गरिरहेका छन् :

गभर्नरदेखि शीर्ष नेताहरू सबैलाई नेपाललाई श्रीलङ्का बनाउने हतार छ । के उनीहरूको आफैँ कालोमोसो दलेर विदेश भाग्ने तयारी हो ? उनीहरूको चाहना अब आउने निर्वाचनले पक्कै पूरा गर्ला। नेपाल क्रमशः समृद्धिको बाटोमा छ। तथ्यहरू केलाउँदा पनि हामीचाहिँ आशावादी छौँ । राम्रोलाई राम्रो भनौँ। राम्रो गर्ने बाटो खोजौँ र रोजौँ। डर र त्रास देखाई समस्या समाधान हुँदैन।

जिम्मा पाठकलाई नै 
यसरी एकथरी आफ्ना ख्वामितहरूको रक्षामा सार्वजनिकरुपमा उत्रिरहँदा इतर पक्षको प्रतिरोधसमेत उस्तै कडा र रोचक छ। तर, फेरि पनि लेख छोटउनुपर्ने आफ्नै बाध्यताले गर्दा यहाँ अर्को साँढेको हुंकार राख्न सम्भव भएन । जे भएपनि आखिर मिचिने भनेको हामी बाच्छाहरू नै हौँ। यिनीहरूले गर्दै गरेको भ्रमको खेतीलाई कसरी बुझ्ने भन्ने जिम्मा आम पाठकहरूलाई नै।

यस्तो जिम्मेवारी किन पनि त्यता नै सुम्पिएको हो भने आखिर यो आलेख पनि त उत्तर आधुनिक धरातलमा नै उब्जिएको न हो।

(भट्टराई अन्तर्राष्ट्रिय राजनीतिका अध्येता हुन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .