विचार


युक्रेन युद्धले अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिलाई खोक्रो बनाउनेछ

युक्रेन युद्धले अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिलाई खोक्रो बनाउनेछ

चाउ बो
बैशाख २९ , काठमाडौँ

यदि मेरो शत्रुको शत्रु मेरो मित्र हुन्छ भने के मेरो मित्रको शत्रु मेरो पनि शत्रु हुन्छ? हुनैपर्छ भन्ने छैन। अर्थात्, जारी रुस–युक्रेन युद्धप्रति चीनको सोचाइ यही ढाँचाको छ।

एकातिर चीन रुसको रणनीतिक साझेदार हो। अर्कोतिर, चीन युक्रेनको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। तसर्थ आफ्ना दुई मित्रहरुबीच युद्ध चलिरहेका बेला बेइजिङ निकै मेहनतपूर्वक दुवैको बीचमा सन्तुलनमा बस्ने कोसिस गर्दैछ। नेटो विस्तारप्रति रुसको ‘वैध चासो’लाई चीनले समर्थन गरेको छ भने अर्कोतिर ‘हरेक मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गरिनुपर्छ’ भन्नेमा जोड दिएको छ।

होसियारीपूर्वक अपनाइएको यस्तो तटस्थतालाई युद्धमा सामेल पक्षहरुले मन नपराउन सक्छन्। तर, यो दुवै पक्षलाई स्वीकार्य भने छ। चीनले पश्चिमाहरुसँग होमा हो मिलाएर रुसको भर्त्सना गर्यो भने वासिङ्टन र युरोपका धेरैजसो राजधानीमा बेइजिङको प्रशंसा हुनेछ। तर, त्यसबेला चीनले रुसको साझेदारी गुमाउनेछ। र, केही समयपछि त फेरि अमेरिका चीनसँगै भिड्न थालिहाल्नेछ। बाइडेन प्रशासनले चीनप्रति ‘चरम प्रतिस्पर्धा’को नीति लिएको छ। त्यो भनेको युद्धभन्दा अलिकति मात्रै कम हो।

पक्कै पनि युक्रेनको द्वन्द्वले चिनियाँ स्वार्थमा ठूलो क्षति पुर्याएको छ। युरोपमा चीनको बेल्ट एन्ड रोड इनिसियटिभमा पनि धक्का लागेको छ। तर, यो द्वन्द्वको वास्तविक कारण सोभियत संघको पतनपछि पूर्वतर्फ नेटोको हठी विस्तार नै हो भन्ने मस्कोको दाबीप्रति बेइजिङ सहानुभूति राख्छ। मिखाइल गोर्बाचेभयताका सबै रुसी नेताले यस्तो विस्तारको नतिजा नराम्रो हुने चेतावनी दिँदै आएका छन्। रुसलाई के लाग्छ भने ऊ आफ्नो युक्रेनी भाइलाई ‘रुसी दुनियाँ’ छाडेर अर्को शिविरमा प्रवेश गर्ने अनुमति दिन सक्दैन। यदि रुसले नेटोलाई कहिले यता कहिले उता विस्तार हुने राक्षसका रुपमा हेरेको हो भने त्यस्तो राक्षसलाई वध गर्नैपर्छ भन्ने विश्वास सायद भ्लादिमिर पुटिनलाई भएको छ।

युरोपको भविष्य अनुमान गर्न कठिन छैन। युक्रेनविरुद्ध पुटिनको युद्ध असफल भएको छ। त्यही कारणले कुनै न कुनै प्रकारको ‘जित’ घोषणा गर्ने मौका नपाउन्जेल उनी लडिरहने छन्। सम्भवतः त्यसका लागि युक्रेनले क्रिमियालाई रुसको हिस्सा मान्नुपर्ने, नेटोमा सहभागी नहुने बाचा गर्नुपर्ने र दोनेस्क र लुहान्स्क गणराज्यको स्वतन्त्रता स्वीकार्नुपर्ने हुनसक्छ। तर, रुसी सेनाले जितपछि दोनबासलाई नियन्त्रण गर्न सक्छ कि सक्दैन, त्यो चाहिँ चुनौती हो। 

अवश्यंभावी नभए पनि युद्ध लम्बिने सम्भावना ज्यादा देखिन्छ। अहिलेको परिस्थिति १९८० को दशकमा अफगानिस्तानमा रुसको युद्धसँग धेरै हदसम्म मिल्दोजुल्दो देखिन्छ। त्यसबेला अमेरिका नेतृत्वको गठबन्धनले मुजाहिद्दिनहरुलाई असंख्य हतियार पठाइरह्यो। अन्ततः तिनले आक्रमणकारी सोभियत सैनिकहरुलाई अल्झाए र थकित तुल्याए।

युक्रेन संकटकै कारण मस्तिष्क मरण भइसकेको नेटो ब्युँतिएको छ। फेब्रुअरीमा जर्मन चान्सलर ओलाफ सोल्जले रक्षाका लागि १०५ अर्ब डलरको कोष बनाए। उनले नेटोको मार्गनिर्देशअनुसार प्रत्येक वर्ष जीडीपीको दुई प्रतिशत रकम रक्षा क्षेत्रमा खर्च गर्ने घोषणा पनि गरे। यसले नेटोलाई मजबुत तुल्याउनेछ र युरोपको ‘रणनीतिक स्वायत्तता’ को विचारलाई सुदृढ गर्नेछ। जुन अहिलेसम्मको फ्रान्सको नारामा मात्र सीमित थियो।

तर, बिडम्बना के छ भने नेटो जति लोकप्रिय हुन्छ, युरोप त्यति असुरक्षित बन्दै जान्छ। फिनल्यान्ड नेटोमा सामेल हुने सम्भावना देखिन्छ। यदि सो मुलुक नेटो सदस्य बन्यो भने गठबन्धनका सैनिकहरु रुसको सेन्ट पिटर्सवर्गबाट ढुंगा हान्दा लाग्ने ठाउँमा हुनेछन्। यस्तो कदमले ‘बाल्टिक सागरको गैरआणविक अवस्था’ अन्त्य हुने चेतावनी क्रेमलिनले दिएको छ। यो धम्की मात्रै पनि हुनसक्छ। तर, धम्की मात्र होइन रहेछ भने? 

यदि नेटोको सबैभन्दा ठूलो डर रुसले आणविक हतियार प्रहार गर्छ कि भन्ने हो भने पुटिनलाई किन जिस्क्याइरहनु? विगतमा जस्तै युरोपको सुरक्षा तब मात्रै प्राप्त हुन्छ, जब रुससँग सहकार्य हुन्छ।

फेब्रुअरीमा हिउँदे ओलम्पिकका लागि पुटिनले चीन भ्रमण गर्दा बेइजिङ र मस्कोबीच ‘असीमित साझेदारी’ को घोषणा भएको थियो। पछिल्ला महिनाहरुमा त्यो साझेदारी सैन्य गठबन्धनमा परिणत हुने अनुमान हुन थालेका थिए। तर, युक्रेन युद्धले बेइजिङ र मस्कोबीचको मेलजोल गठबन्धन होइन भनेर स्पष्टसँग साबित गरिदिएको छ। चीनले रुसलाई सैन्य सहायता दिएन। बरु, उसले युक्रेनलाई खाद्यान्न, स्लिपिङ ब्यागजस्ता मानवीय सहयोग र पैसा दुई पटक उपलब्ध गराएको छ। र, ‘रचनात्मक भूमिका निर्वाह गर्ने’ बाचा गरेको छ।

चीन र रुसबीच गठबन्धन नबन्नुको एउटा कारण के हो भने यसले दुवै साझेदारलाई सहज लचकता अपनाउन सहयोग गर्छ। चीन र रुस दुवै बहुध्रुवीय विश्वका पक्षधर हुन्। यो सत्य हो। यति हुँदाहुँदै पनि उनीहरुलाई असंलग्नता सुहाउँछ। किनभने यी दुवै मुलुकले विश्वलाई अलग तरिकाले हेर्छन्।

पुटिनको रुस सोभियत साम्राज्यकालीन सुनौला दिन सम्झेर उदास छ। पुटिनले सोभियत संघको पतनलाई २० औँ शताब्दीको ‘सबैभन्दा ठूलो भूराजनीतिक प्रलय’ भन्दै विलाप गरेका छन्। रुस आफूलाई विद्यमान विश्व व्यवस्थाको सिकार मान्छ। 

यसविपरीत चीन भने दोस्रो विश्वयुद्धपछि आर्थिक तथा वित्तीय क्षेत्रमा पश्चिमले बनाएका नीतिनियमबाट सबैभन्दा धेरै फाइदा लिएको मुलुक हो। विद्यमान विश्व व्यवस्थाको रक्षा गर्दा चीनलाई ठूलो फाइदा छ। यही कारणले वैचारिक विमति र कहिलेकाहीँ चर्को तनाव हुँदा पनि चीनले पश्चिमसँग कमसेकम आर्थिक सम्बन्ध सुदृढ नै राखेको छ। यो सम्बन्ध टुटाउन दुवै पक्ष चाहँदैनन्।

अमेरिकाले एकै पटक दुई थिएटर– इन्डो प्यासिफिक र युरोपको युद्धमा कसरी ध्यान दिन सक्ला, त्यो देखिन बाँकी नै छ। जो बाइडेनले रुस नीतिलाई ‘स्थिर र अपेक्षित’ स्थानमा राखेर अमेरिकाले इन्डो प्यासिफिक रणनीतिमा ध्यान केन्द्रित गर्ने अपेक्षा लिएका थिए। तर, युक्रेनको युद्धले अमेरिकाको ध्यान भंग गर्ने र उसको स्रोत खर्च गर्नेमा कुनै सन्देह छैन। यसले बाइडेनको इन्डो प्यासिफिक रणनीतिलाई झन् खोक्रो तुल्याउनेछ। यसै पनि यो रणनीतिका उदेश्य धेरै, साधनस्रोत थोरै र समर्थक एकदम कम छन्। 

बाइडेनले कतिञ्जेल युक्रेनलाई आफ्नो अवरोध बनिरहन देलान्? त्यसमाथि सो क्षेत्रमा चीन धेरैजसो मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। जसका कारण अमेरिकाका सबैभन्दा कट्टर सहयोगी मुलुकले समेत अमेरिकाको फाइदाका लागि चीनसँगको आफ्नो सम्बन्धलाई बलि चढाउन चाहने छैनन्।

के रुस–युक्रेन युद्ध विश्वलाई भाँडभैलोतिर धकेल्ने ‘टर्निङ प्वाइन्ट’ हो? भनिन्छ, चीनका तत्कालीन प्रधानमन्त्री चाउ एनलाइलाई १७८९ को फ्रान्सेली क्रान्तिबारे तपाईंको धारणा के छ भनेर सोध्दा उनले जवाफ दिएका थिए रे– यसबारे बोल्न अलिक हतार हुन्छ। तर, युक्रेन युद्धले पश्चिमबाट पूर्वतर्फ हुन थालेको भूराजनीतिक र आर्थिक बदलावलाई तीव्रता दिनेछ। यति भन्न हतार हुन्न। तसर्थ, चीन सबै मामिलाको बीचमा उभिनु अर्थपूर्ण छ। र, चीन स्थायित्व प्रदायकका रुपमा अझ अडिग भएर उभिनुपर्छ। 

(दि इकोनोमिस्टबाट। चाउ बो चीनको जनमुक्ति सेनाका अवकाशप्राप्त सिनियर कर्णेल हुन्। उनी सिङहुवा युनिभर्सिटी, बेइजिङस्थित सेन्टर फर इन्टरनेसनल सेक्युरिटी एन्ड स्ट्राटेजीका वरिष्ठ अध्येता पनि हुन्)

बैशाख २९, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad