विचार


जनताको बहुदलीय जनवादबारे यस्तो छ एमालेको व्याख्या

जनताको बहुदलीय जनवादबारे यस्तो छ एमालेको व्याख्या

फाइल फाेटाे


विष्णु पौडेल
असोज १६

पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले हामीलाई सिद्धान्त, कार्यक्रम, नीति र विधि निर्माणका साथै समग्र पार्टी निर्माणमा समेत मार्गदर्शन गर्दछ। 

लामो समयसम्म कम्युनिष्ट पार्टीले राज्यसत्ता या पार्टी सञ्चालन गर्दा बहुदलीय प्रतिस्पर्धामा आधारित लोकतान्त्रिक प्रणाली अवलम्बन गर्नु हुँदैन भन्ने मानिन्थ्यो। तर, जननेता मदन भण्डारीले कम्युनिष्ट पार्टीको नेतृत्वमा सञ्चालित राज्यसत्तामा लोकतान्त्रिक प्रणाली अवलम्बन गर्नुपर्ने दार्शनिक, सैद्धान्तिक, राजनीतिक र व्यवहारिक  कारण र आधारहरू प्रस्तुत गर्नुभयो। 

जनताको बहुदलीय जनवाद भन्दा पहिला नेपालमा मात्र होइन दुनियाँको कम्युनिष्ट आन्दोलनमा समेत कसैले पनि यो सच्चाइलाई यस उचाइमा स्वीकार गरेका थिएनन्। बहुदलीय प्रतिस्पर्धामा भाग लिनेहरूले पनि सैद्धान्तिक प्रतिवद्धताको अर्थमा नभएर कार्यनीतिक अर्थमा मात्र यसलाई बुझ्ने गरेका थिए।

जनताको बहुदलीय जनवादलाई पाँचौँ राष्ट्रिय महाधिवेशनमा कार्यक्रम भनिएको थियो तापनि यो त्यतिबेलादेखि नै सिद्धान्त थियो। यसले त्यतिबेलादेखि नै नेपाली कम्युनिष्ट आन्दोलनलाई मार्गदर्शन गरिरहेको छ। सिद्धान्तकै हैसियतमा मार्गदर्शन गरिरहेको जनताको बहुदलीय जनवादलाई हामीले पछिल्ला महाधिवेशनहरुबाट सिद्धान्त भनेका हौं। 

माक्र्सवादको उदय हुनुपूर्व पनि भौतिकवाद र द्वन्द्ववाद अस्तित्वमा थिए। र, यी दुईबीचको वैज्ञानिक अन्तरसम्बन्ध उद्घाटित गर्ने क्रममा माक्र्सवादको उदय भएको थियो। त्यस्तै जनताको बहुदलीय जनवादको उदय हुनुपूर्व पनि श्रमजीवी वर्ग पक्षधर राज्यसत्ता र बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली अस्तित्वमा थिए। र, यी दुईबीचको वैज्ञानिक अन्तरसम्बन्ध जनताको बहुदलीय जनवादले उद्घाटित गरिदियो। श्रमजीवी वर्गीय राज्यसत्ताले पनि बहुदलीय प्रतिस्पर्धामा आधारित लोकतान्त्रिक प्रणाली अवलम्बन गर्न सक्छ भन्ने निष्कर्षलाई सैद्धान्तिक आधारसहित स्थापित गरिदियो।

जसरी कार्ल मार्क्सले फायरबाखको भौतिकवाद र हेगेलको द्वन्द्ववादका सकारात्मक योगदानलाई ग्रहण गर्नु नक्कल थिएन, त्यसैगरी जननेता मदन भण्डारीले बुर्जुवा वर्गले प्रयोग गरिआएको लोकतान्त्रिक प्रणालीलाई सर्वहारा श्रमजीवी वर्गको पक्षमा प्रयोग गर्नु नक्कल होइन। जसरी कार्ल मार्क्सले टाउकोले टेकेको भौतिकवाद र द्वन्द्ववादलाई खुट्टाले टेक्ने अवस्थामा विकास गर्नुभयो, त्यसैगरी मदन भण्डारीले दार्शनिक र सैद्धान्तिक आधार र कारणहरुसहित श्रमजीवी वर्गीय राज्यसत्ताले पनि बहुदलीय प्रतिस्पर्धा सहितको लोकतान्त्रिक प्रणाली अवलम्बन गर्नुपर्छ भन्ने मान्यता अघि सारेर बुर्जुवा वर्गले प्रयोग गरिआएको लोकतन्त्रलाई खुट्टाले टेक्ने अवस्थामा विकास गर्नुभयो। 

जनताको बहुदलीय जनवादलाई सिद्धान्तको उचाइमा स्थापित गर्न र ग्रहण गर्न नसक्ने हो भने हामी सहभागी हुने गरेको बहुदलीय प्रतिस्पर्धा कार्यनीतिक कदम वा शक्ति आर्जन गर्ने दाउपेच हो भन्ने सावित हुनेछ। अनुकूल नभएर बहुदलीय प्रतिस्पर्धाको प्रणाली अवलम्बन गरेका हौं, अनुकूल पर्नासाथ वा शक्ति आर्जन हुनासाथ यसलाई छाडेर कम्युनिष्ट पार्टीको एकदलीय शासन वा अर्को कुनै अधिनायकवादी शासन प्रणाली अवलम्बन गर्नेछौं भन्ने अर्थ लाग्छ। तसर्थ, जनताको बहुदलीय जनवाद बुर्जुवा वर्गले अवलम्बन गर्दै आएको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीको नक्कल होइन, बरु यो श्रमजीवी वर्गीय राज्यसत्ताले बहुदलीय प्रतिपर्धात्मक प्रणाली अवलम्बन गर्दा पनि राज्यसत्ताको वर्ग चरित्र श्रमजीवी नै कायम रहने सिद्धान्त हो। श्रमजीवी वर्गीय राज्यसत्तालाई लोकतान्त्रिक प्रणाली अन्तर्गत  सञ्चालन गर्ने सिद्धान्त हो। यो शक्ति आर्जन गर्ने दाउपेच वा कार्यनीतिक कदम होइन, हाम्रो पार्टीको सैद्धान्तिक र कार्यक्रमिक प्रतिवद्धता हो। हामीलाई सिद्धान्त, कार्यक्रम र नीति निर्माणमा पथप्रदर्शन गर्ने मार्गदर्शन गर्ने सिद्धान्त हो।  

लोकतान्त्रिक प्रणाली पुँजीपति वर्गको पेवा होइन। यो मानव जातिले वर्ग संघर्ष, विचारधारात्मक संघर्ष र वैज्ञानिक प्रयोगका क्रममा विकास गरेको समाज विज्ञान हो। यसलाई पुँजीपति वर्गले आफ्नो हितमा प्रयोग गर्दै आएको छ, श्रमजीवी वर्गले पनि आफ्नो हितमा प्रयोग गर्नुपर्दछ। यही मान्यताका साथ लोकतान्त्रिक प्रणालीलाई श्रमजीवी वर्ग अर्थात उत्पादक शक्तिको हितमा प्रयोग गर्ने क्रममा जनताको बहुदलीय जनवाद विकास भएको हो।  

जनताको बहुदलीय जनवादले हामीलाई नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक राजनीतिक पार्टीको हैसियत प्रदान गर्न, सरकारको नेतृत्व गर्ने हैसियतका साथ सर्वोच्च जनप्रतिनिधि संस्थामा पुग्न, हाम्रो पार्टीको लोकतान्त्रिक व्यक्तित्वलाई राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा स्थापित गर्न निर्णायक योगदान गरेको छ। 

हामीले जनताको बहुदलीय जनवादको रक्षा, प्रयोग र विकास गर्दै आएका छौं। यो वर्ग संघर्ष, विचारधारात्मक संघर्ष र व्यवहारिक प्रयोगका क्रममा अझ बढी विकास हुँदै अघि बढ्नेछ। पार्टी जीवनको लोकतान्त्रिकरणको जनताको बहुदलीय जनवादको विकासको एउटा महत्वपूर्ण कोशेढुङ्गा थियो। २०६२/६३ को क्रान्तिकारी परिवर्तन र संविधान निर्माणमा हाम्रो पार्टीको वैचारिक नेतृत्व पनि जनताको बहुदलीय जनवादकै मार्गदर्शनमा सम्भव भएको हो। 

जनताको बहुदलीय जनवाद सिद्धान्त नभएको तर सिद्धान्त बनाउन सकिने, हामीले सिद्धान्त बनाइदिनु पर्ने बिषय होइन। त्यो आफै सिद्धान्त हुन नसक्ने तर कसैले त्यसको व्याख्या गरिदिए पछि मात्रै सिद्धान्त हुने भनेर भ्रम पाल्न हुँदैन। जननेता मदन भण्डारीको अगुवाइमा सम्पन्न नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनमा प्रारम्भिक अवधारणा अघि सारिएको र नेकपा (एमाले)ं को पाँचौ राष्ट्रिय महाधिवेशनमा सैद्धान्तिक आधारहरू सहित कार्यक्रमका रुपमा अघि सारिएदेखि नै जनताको बहुदलीय जनवाद सिद्धान्त थियो र यसले समाजवादसम्म पनि हामीलाई मार्गदर्शन गर्नेछ। हामीले यसको सफल र सार्थक प्रयोग गर्ने र यसलाई विकसित गर्दै अघि बढ्ने हो। 

जनताको बहुदलीय जनवाद नेपाली समाजको क्रान्तिकारी र लोकतान्त्रिक रुपान्तरणका लागि सिद्धान्त, कार्यक्रम, नीति, विधि र आचरण निर्धारण गर्ने र तिनमा सामयिक विकास गर्न मार्गदर्शन गर्ने सिद्धान्त हो। यो परिपूर्ण लोकतन्त्रसहितको जनवाद र समाजवादको स्थापना र विकासको कालखण्डमा पनि हामीलाई मार्गदर्शन गरिरहने सिद्धान्त हो। जनताको बहुदलीय जनवादको मार्गदर्शन बिना नीति तथा विचारका दृष्टिले सही र संगठन तथा जनाधारका दृष्टिले सबैभन्दा ठूलो र राष्ट्रिय राजनीतिलाई नेतृत्व एवं दिशावोध गर्ने लोकतान्त्रिक र क्रान्तिकारी चरित्रको शक्तिशाली कम्युनिष्ट पार्टी सम्भव थिएन।

बुर्जुवा वर्गले चुनौती महसुस गर्ने गरी पार्टी जीवनमा लोकतान्त्रिकरणको गर्न सम्भव थिएन। आठौं राष्ट्रिय महाधिवेशनबाट पार्टी जीवनको लोकतान्त्रिकरणको मान्यता स्वीकार गर्न र नवौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व स्थापित गर्न सम्भव थिएन। जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नीति र नेतृत्व निर्माणका लागि पार्टी सदस्यको निर्णायक भूमिका स्थापित गरिएको हुनाले नै यो सम्भव भएको हो।

पार्टीको मूख्य नेतृत्वको चाहना विपरीत प्रतिस्पर्धाको माध्यमबाट नयाँ नेतृत्व निर्वाचित गर्ने नवौं राष्ट्रिय महाधिवेशनको परिणाम नेपाली कम्युनिष्ट आन्दोलनमा  अपवादको घटना हो। अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि यस्ता उदाहरण विरलै पाइन्छ। आउने दिनमा पार्टी जीवनको लोकतान्त्रिकरणको प्रक्रियालाई निरन्तरता दिन र विकास गर्न पनि जनताको बहुदलीय जनवादको मार्गदर्शन अपरिहार्य छ। पार्टी विधानले यस कुरालाई पूर्ण रुपमा अंगिकार गरेको छ र यसै अवधारणाबाट निर्देशित छ। 

(नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा उल्लेखित ‘जनताको बहुदलीय जनवाद’ बारेकाे ब्याख्या।)

असोज १५, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .