ad ad

विचार


जब रूपा घर पुगिन्, बाबुले भने– तेरो किरिया परारै गरिसकेँ

जब रूपा घर पुगिन्, बाबुले भने– तेरो किरिया परारै गरिसकेँ

डा. मीना पौडेल
भदौ १८, २०७८ शुक्रबार १०:४०, काठमाडौँ

‘मैले त छोरीको परारै किरिया गरिसकेँ। छोरीको राम्ररी बिहे गरिदिउँला, ज्वाइँ नाति–नातिनाको मुख हेरेर मरौंला भनेको थिएँ, तर छोरी अचानक हराई, खोजी गरेँ। ऊ त पल्ला गाउँका केटीहरूसँग बम्बै पो गई भन्ने सुनेँ। मन कुँडियो। अब उसको आश भएन। बरु किरिया गरेर उम्किँदा ठीक होला भन्ठानेर शास्त्रअनुसार काजकिरिया गरी उम्किएँ।’

यो भनाइ हो– बर्दियाका एक बाबु, जसकी एक मात्रै छोरी रूपा (नाम परिवर्तन) बेचिएको २ वर्षपछि एउटा गैरसरकारी संस्थाको सहायतामा आफ्नो घर फर्केकी थिइन्। 

मसँगको कुराकानीमा रूपाले भनेकी थिइन्, ‘धन्न! सास लिएर घर फर्कें, अब त घर छाडेर कहीँ कतै जान्नँ, बरु आधा पेट खाएर बस्छु।’

तर जब उनी घर पुगिन्, तब उनका बाबुले घोषणा गरिदिए– तेरो किरिया परारै गरिसकेँ!’

उता झापाकी तारा (नाम परिवर्तन) को पनि कथा उस्तै छ। उनी १४ वर्षको हुँदा विद्यालयकै शिक्षकको कुरा पत्याइन् र स्कुलका अन्य २ जना सहपाठीसहित नाताले अलि टाढाको दाइ पर्ने गाउँकै एक युवकसँग सिनेमा हेर्न र नजिकिँदै गरेको तीजको किनमेल गर्न भन्दै बाबु–आमासँग २ हजार रुपैयाँ मागेर सिमानापारि गइन् र हराइन्। 

मैले कुरा गर्दा उनी ६ वर्षपछि कसैको सहयोगमा स्वदेश फर्किसकेकी थिइन्। तर घर जाने बाटोमा काँडेतार लगाएका थिए, उनका दाजुले। उसो त दाजु स्थानीय विद्यालयका शिक्षक तथा एउटा मूलधारको राजनीतिक पार्टीको पेसागत संगठनका सक्रिय सदस्य पनि हुन्। अनुसन्धानका क्रममा उनका दाजु र र बाबु–आमालाई भेट्दा थाहा पाइयो– ती किशोरीले नागरिकता बनाइदिन अनुरोध गरेकी रहिछन्, तर इज्जत फालेको आरोप लगाउँदै बाबुले नागरिकताका लागि सिफारिस नदिने मात्र होइन, घरमै नआउन आदेश दिएका रहेछन्। 

यी पात्र त प्रतिनिधि मात्रै हुन्, जसले ती लाखौं नेपाली महिलाको प्रतिनिधित्व गर्छन्, जो परिवार र समाजको ‘इज्जत जोगाउने जिम्मेवारी पूरा गर्न नसकेर’ अनागरिक हुनुको सजाय भोगिरहेका छन्। बेचिनु उनीहरूको न रहर हो, न अपराध, तर ती सधैं अपराधी ठहरिन्छन्। नेपालको कानुनअनुसार अपराधी त ती दलाल हुन्, तर हामीलाई थाहै छ– महिला र सीमान्तकृत समुदायका लागि संविधान–कानुनभन्दा सामाजिक (कु)रीति, (कु)संस्कृति बलिया छन् र यी समुदायका अधिकार, कर्तव्य, अपराध, न्याय सबैको सीमा तिनैले निर्धारण गर्छन्। र, जीवनशैलीको मापदण्ड तोकिदिन्छन्; यति मात्र होइन, इज्जतको परिभाषा दिन्छन्, जिम्मेवारी तोक्छन्, अनि दण्ड दिन्छन, ‘इज्जत फालेको’ भनेर। 

आखिर यो इज्जतको अवधारणा के हो? यसका पछाडि के कस्ता वैज्ञानिक आधार छन्? अनि किन यो इज्जत भन्ने कुरा वा अवधारणा महिलाको अतिस्त्व, यौनिकता र पहिचानसँग मात्र गाँसिएको छ? यी र यस्ता प्रश्नका उत्तर खोज्ने उद्देश्य यो आलेखको होइन, यहाँ त लैंगिक दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरिएको हो। साथै यो अवधारणा नागरिकताजस्तो कानुनी पहिचानसँग कसरी जेलिएको छ भनेर पनि पत्ता लगाउने प्रयास गरिनेछ, बेचबिखनबाट पीडित महिलाका अनुभवलाई आधार बनाएर। 

‘इज्जत’ आफैंमा वैज्ञानिक आधार भएको, वैज्ञानिक अर्थ लाग्ने शब्द होइन, बरु समाज विकाससँगै सांस्कृतिक खासगरी धर्ममा आधारित मूल्य/मान्यतासँग जोडिएको पुरातन अवधारणा हो। जसलाई विश्वका विभिन्न भागमा विभिन्न कालखण्डमा विभिन्न धर्मावलम्बीले आआफ्ना तरिकाबाट व्याख्या गरी एउटा सांस्कृतिक मापदण्डका रूपमा प्रयोग गरे/गरिरहेका छन्। उसो त प्राज्ञिक क्षेत्रमा युरोपेली समाजशास्त्रीले २०औं शताब्दीको सुरुवातसँगै यसलाई आफ्नो अध्ययनको विषय बनाउन थालेको पाइन्छ। उनीहरूको तर्कलाई आधार मान्ने हो भने औपनिवेशिक शासक र तिनका धर्म गुरुले समाजमा आफ्नो नियन्त्रण कायम गर्न विभिन्न उपाय अपनाउने क्रममा मूल रूपमा पारिवारिक संरचनालाई आफूअनुकुल राख्न इज्जतको अवधारणा अघि सारेको पाइन्छ। 

परिवार र यो संस्थाका लागि मापदण्ड तय गर्ने भन्नेबित्तिकै लैंगिक सवाल त आउने नै भयो। परिवारका मूल्य/मान्यता निर्विवाद रूपमा परम्परागत पारिवारिक संरचनाको मूली पुरुषको नियन्त्रण र निर्णयमा निर्धारण गरिएका नियम हुन्। घरमूली पुरुषको चाहना, नियन्त्रण तजबिजमा गरिने निर्णय स्वाभाविक रूपमा उसको शक्ति कायम र अझ सुदृढ गर्नेगरी गरिने भए। त्यो नै पितृसत्ताको स्वरूप र चरित्र हो। 

हालसम्म लैगिंक दृष्टिाकोणबाट भए/गरेका सबैजसो समाजशास्त्रीय, मानवशास्त्रीय अध्ययनले के कुरा प्रस्ट पारेका छन् भने चाहे जुनसुकै राजनीतिक प्रणालीभित्र हुर्किएको/फस्टाएको पितृसत्ता होस्, उसले महिला र फरक लैंगिक पहिचानका व्यक्तिलाई परिवार, समाज, बजार र राज्य संरचनाको पिँधमा राख्ने मात्र होइन, थरीथरीका मूल्य/मान्यतारूपी मापदण्ड लाद्छ र इज्जत जोगाउने जिम्मेवारी थोपरिदिन्छ। अनि नैतिकताको डन्डाले शासन गर्न थाल्छ र भन्छ– महिलाले घर, परिवार, समाज र राष्ट्रको ‘इज्जत’ फाले! 

यो आरोप सबैभन्दा बढी लाग्ने समूह हो– विविध कारण त्यही पितृसत्ताको बजारमा बेचिन बाध्य महिला। बेचबिखनमा परेका समूहमा महिला र पुरुष वा अन्य लैंगिक पहिचान र सबै उमेरका व्यक्ति छन्। तर समाजले नैतिकताको मापदण्ड बेचिएर फर्केका पुरुषलाई चलाउँदैन र भन्छ– ‘चिन्ता नगर, तिम्रो भाग्य नै यस्तै रहेछ!’ अनि घर, खेतबारी जे छ तिम्रो अंशमा परेको गरिखाऊ भनेर स्वागत गर्छ र समाजमा सम्मानजनक स्थान बनाउन सहयोग गर्छ। तर त्यही स्थिति महिलालाई कहाँ हुन्छ र! बेचिएर फर्केका महिलाको अवस्था अध्ययन गरिएका विश्वका अधिकतर समाज त्यसमा पनि दक्षिण एसियाका महिलाले भोग्ने नियति त सालाखाला मेरो अनुसन्धानमा सहभागी बर्दियाकी रूप र झापाकी ताराकै जस्तो छ। 

आफ्नो लामो समाजशास्त्रीय अनुसन्धानअन्तर्गत मैले नेपाल र भारत मात्र नभएर दक्षिण एसियाली र अन्य देशका संविधान, बेचबिखनसम्बन्धी कानुनलगायत दस्तावेज अध्ययन गरेकी छु। त्यस क्रममा निस्केका निष्कर्षलाई ती समाजले अंगीकार गरेका धर्म, समाजिक मूल्य/मान्यतालगायत सांस्कृतिक प्रचलनसँग जोडेर पनि विश्लेषण गरेँ। धेरैजसो लैंगिक विभेदका सवाल गएर ठोकिने ठाउँ भनेको त्यस समाजले स्वीकारेको धर्म र धर्मको व्याख्या, विश्लेषण, बुझाइ र यसअनुसार गरिने व्यवहारमा भएको असमानता नै हो। 

अनि अझ उदेक लाग्ने पाटो त उक्त बुझाइ र व्यवहारका धरातलमा तय गरिने नीति–नियम र तिनको व्याख्या पाइयो। त्यसैले त रूपा र ताराले फर्केर आएपछि आफ्नो समाजबाट अपमान खेप्नुपरेको मात्र होइन, जन्मघर र घरमूलीबाट नागरिकताको सिफारिस पनि पाएनन्। नागरिकता व्यक्तिको कानुनी पहिचान स्थापना गर्ने दस्तावेज मात्र होइन, राज्यसँग साइनो गाँस्ने माध्यम पनि हो। व्यक्तिको यो सम्बन्धको सार्थकता राज्यद्वारा परिभाषित राजनितिक, सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्ने सन्दर्भसँग जोडेर हेर्नुपर्ने हुन्छ। व्यक्तिको राज्यसँग सम्बन्ध स्थापना नभए ऊ मौलिक अधिकारबाट वञ्चित हुने अवस्था आउँछ। यसरी बिनाअधिकार कुनै राज्यभित्र रहनुपर्ने स्थिति भनेको राज्यविहीनिताको अवस्था हो, सरल भाषामा भन्दा अनागरिक हुनु हो। 

धेरै महिला आफ्नो र परिवारको गुजारा चलाउने उपाय खोजीका लागि तथा समाजमा व्याप्त लैंगिक हिंसाबाट उम्किन घर छाड्दा बेचिन्छन्। कारण जेसुकै भए पनि बेचिने क्रम बढेसँगै घर फर्किने क्रम पनि बढ्दो छ। अनुसन्धानबाट पुष्टि भएको कुरा के हो भने यसरी फर्किने क्रम विगत दशकमा झन् बढेको छ। तर उदेक लाग्दो अवस्था के पनि छ भने यसरी फर्केका महिला कहाँ, कसरी बसेका छन्, तिनको जीविका कसरी चलेको छ, न राज्य जानकार छ, न उनीहरूका परिवारलाई थाहा छ! 

अध्ययनबाट के पनि पुष्टि भएको छ भने फर्केर आएका महिलाहरूको प्रमुख समस्या भनेको जीविकोपार्जन र परिवारसँग पुर्नमिलनको अधिकार नपाउनु हो। रूपा र ताराको नियति नै बेचिएर फर्केर आएका सबै महिलाको भोगाइ हो र त्यो भोगाइसँग प्रत्यक्ष जोडिएको सवाल हो– नागरिकताको अधिकार। अनि नागरिकता नपाउने एउटै कारण हो– परिवारको मूली, पितृसत्ताको मुखिया र निर्णयकर्ता, जो संविधानतः नागरिकताका लागि सिफारिस गर्ने वा नगर्ने भन्ने अधिकारीको हैसियत राख्छ। त्यति मात्र होइन, ‘इज्जत’ के हो, के होइन, कसले इज्जत राख्यो, कसले फाल्यो भन्ने समान्ती मापदण्ड तोक्छ र आफूले चाहेजसरी लागू गराउँछ। 

यसो गर्दा उसलाई यो मुलुकको कानुनले छेक्दैन, संविधानका मौलिक अधिकारका धाराले रोक्दैन। सामाजिक परिवेशले उसलाई दण्ड होइन, बरु सम्मान गर्छ। बहिष्कार र अपमान त त्यस महिलालाई गर्छ, जसलाई समाज, परिवार, आफन्त र राज्यको साथ, सहयोग र संरक्षण आवश्यक छ। अनि त यो समाजमा रूपा र ताराहरूको जन्म हुन्छ– अनागरिकका रूपमा। अझ बढी पिरलो त त्यतिबेला हुन्छ, जतिबेला रूपा र ताराहरू बेचबिखनका क्रममा बलात्कृत भएर बच्चा लिएर फर्किन्छन्। किनकि ती बच्चा जन्मिँदै अनागरिक हुन्छन्; समाजमा इज्जत राख्न ‘असफल’ आमाबाट जन्मेका अवैधानिक सन्तानको पहिचान पाउँछन्। 

यसरी यौनिकताका आधारमा तोकिएका सामाजिक–सांस्कृतिक मापदण्ड र ‘इज्जत’ भन्ने अवैज्ञानिक अवधारणाका साङ्लोमा बाँधिएर अनागरिक वा राज्यविहीन हुने अवस्था र भोगाइ राजनीतिक निर्णय गरेर कानुका दस्तावेज बनाएजस्तो सजिलो त छैन नै, फर्केपछि ‘इज्जत’सँग जोडेर गरिने अपमान र सामाजिक बहिष्काले कैयौं महिलाले आत्महत्याको बाटो रोजेको थुप्रै उदाहरण छन्। 

जुन घरको आर्थिक संकट टार्न भनेर गाउँबाट बाहिरिँदा बेचिएका आफ्ना सदस्यलाई त्यही घरका त्यसमा पनि बाबु, दाजु, श्रीमानहरूले इज्जत फालेको र वंशमा दाग लगाएको भनेर गरिने अपमान, बहिष्कार भनिसाध्य छैन। जब आफ्नै परिवारले अपमान र बहिष्कार गर्छ, तब छरछिमेक, समाजले पनि हेला त गर्ने नै भए। नागरिकताविहीन हुँदा उता पुँजीवादी बजारले पनि उनलाई श्रमिकका लागि अयोग्य ठान्छ। अनि यस्ता महिलाका लागि परिवार, समाज, बजार र राज्य कोही हुनुको अर्थ हुँदैन। 

अनि फेरि कि मानव तस्करको पछि लाग्नुपर्यो कि त आत्महत्या गर्नुपर्यो, विकल्प हुँदैन। अब प्रश्न उठ्छ– यो देश रूपा र ताराहरूका लागि होइन? 

उसो त परस्पर विरोधी कुरा के हो भने राजनीतिक बजारमा बिक्री हुने नारा हो– समाजवाद–उन्मुख भनिएको गणतान्त्रिक संविधानले कसैलाई अनागरिक बनाउँदैन, मौलिक अधिकारका दफाले कसैलाई अधिकारविहीन बनाउँदैन र आर्थिक समृद्धिका योजनाले कसैलाई बेरोजगार राख्दैन। विडम्बना! तारा र रूपाहरूको जीवनमा यी नारा कहिले लागू भएनन्, अझै कति वर्ष हुने सम्भावना पनि देखिँदैन।

त्यसैले तारा र रूपाहरू यो देश, समाज, परिवार र बजारका लायक होइनन्, किनकि उनीहरूले ‘इज्जत’ राख्न सकेनन्। भन्न कर लाग्छ– नेपाल र यसको सामाजिक चरित्र अनागरिक जन्माउने कारखाना हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .