ad ad

छापा खबर


अघिअघि सीः पछिपछि रेल !

अघिअघि सीः पछिपछि रेल !

नेपालखबर
असोज २४, २०७६ शुक्रबार १:२१,

चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आउँदै छन्।

चीनबाट २३ वर्षपछि हुन लागेको राष्ट्रप्रमुखस्तरीय भ्रमणलाई नेपालले उच्च प्राथमिकता दिँदै स्वागतको भव्य तयारी गरेको छ । राष्ट्रपति सीको भ्रमणमा छलफल हुने प्रमुख एजेन्डामा केरुङ–काठमाडौं रेलमार्ग छ।

भ्रमणकै क्रममा यो विषयमा सम्झौता गर्ने दुवै पक्षको तयारी छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्ले र जीवन बस्नेतले लेखेका छन्।

अहिलेसम्म भएको तयारीअनुसार रेल निर्माणका लागि मिश्रित मोडालिटीमा हस्ताक्षर हुनेछ । बुधबार अबेरसम्म भएको छलफलअनुसार चीनले अनुदान र ऋण दुवै दिनेछ भने नेपालले पनि लगानी गर्नेछ ।

चीनले करिब ५० प्रतिशत अनुदान र २५ प्रतिशत ऋण दिने तथा नेपालले २५ प्रतिशत लगानी गर्ने सहमति भएको छ । तर, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने एकान्त वार्तामा यससम्बन्धी ठोस मोडालिटी टुंगिनेछ।

स्रोतका अनुसार नेपालले रेलमार्गमा ८० प्रतिशत अनुदानका लागि चीनसँग छलफल गरिरहेको छ । शीर्ष वार्तामा सहमति भए समझदारीपत्र आदानप्रदान हुनेछ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्ग निर्माणसम्बन्धी एजेन्डालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ।

यसअघि २४ मंसिर ०७५ मा चिनियाँ राष्ट्रिय रेल्वे संस्थाको अध्ययन टोलीले गरेको पूर्वसम्भाव्यता अध्ययनले केरुङ–काठमाडौं रेलमार्ग निर्माण चुनौतीपूर्ण भए पनि सम्भव रहेको देखाइसकेको छ।

अध्ययनअनुसार नेपाली भू–भागमा मात्र रेलमार्गको लम्बाइ ७२ किलोमिटर रहनेछ । त्यस्तै, अन्तिम बिन्दु टोखा हुने सम्भाव्यता अध्ययनले देखाएको थियो । लागत भने तीन सय अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा नेपालले अरनिको राजमार्गलाई डबल लेनमा स्तरोन्नति गर्ने एजेन्डा प्रस्तुत गर्दै छ।

नेपाल–चीन जोड्ने अर्को प्रमुख नाका केरुङ र काठमाडौं जोड्ने सडक काठमाडौं–गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी–केरुङ थप व्यवस्थित रूपमा निर्माण र स्तरोन्नतिका लागि पनि नेपालले चीनलाई प्रस्ताव गर्दै छ।

काठमाडौंस्थित टोखाबाट सुरुङमार्ग हुँदै छहरे–ढिकुरे–गँगटेनजिक पुरानो सडकमा लगेर जोड्ने गरी नयाँ प्रस्ताव तयार गरिएको छ । तर, निर्माण थाल्नुअघि अत्यावश्यक कुनै तहको अध्ययन अहिलेसम्म भएको छैन।

त्यस्तै, यही सडकअन्तर्गत बेत्रावतीदेखि रसुवागढीसम्म नयाँ सुरुङमार्ग प्रस्ताव गरिएको छ । यसको लम्बाइ करिब २० किलोमिटर हुने सडक विभागका अधिकारी बताउँछन् । निर्माणको चरणमा पुग्नुअघि करिब २ वर्ष अध्ययन गर्नुपर्ने उनीहरूको भनाइ छ।

हाल काठमाडौं–गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी–केरुङ सडकको लम्बाइ ८२ किलोमिटर छ । दुई सुरुङमार्ग बने यो सडकको दूरी करिब आधा नै छोटिने अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .