छापा खबर


कोभिड १९ : रेम्डिसिभिरले निको हुने दर बढी

कोभिड १९ : रेम्डिसिभिरले निको हुने दर बढी

नेपालखबर
फागुन १२, २०७७ बुधबार १:२१,

प्लाज्मा थेरापी र रेम्डिसिभिर प्रयोग गरेका कोभिड १९ का बिरामीमध्येमा रेम्डिसिभिर मात्र प्रयोग गरिएका संक्रमितमा निको हुने दर बढी पाइएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको अध्ययन सर्वेक्षणले यस्तो देखाएको खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

परिषद्ले गत जुलाइदेखि अक्टोबरभित्र यी बिरामीहरूमा यो अध्ययन गरेको थियो । परिषद्ले मंगलबार ‘नेपालमा कोभिड १९ संक्रमणको उपचारको लागि रेम्डिसिभिर र कन्भलेसेन्ट प्लाज्मा थेरापीको अवलोकन अध्ययन’मा यस्तो नतिजा निस्केको हो।

रेम्डिसिभिर मात्र प्रयोग गरिएका ८४ प्रतिशत बिरामीहरू निको भई डिस्चार्ज भएका थिए । रेम्डिसिभिर मात्र प्रयोगले मध्यम तहको संक्रमण भएका (जटिल निमोनिया नभएका) बिरामीहरूको निको हुने दर ९४.४ प्रतिशत रहेको थियो ।रेम्डिसिभिरको तुलनामा कन्भालेसेन्ट प्लाज्मा थेरापी मात्र प्रयोग भएका बिरामीको निको हुने दर ३९ प्रतिशत कम रहेको छ । प्लाज्मा मात्र लिएका बिरामीमा गम्भीर निमोनिया तथा संक्रमण भएको थियो।

अध्ययन अनुसार रेम्डेसिभर र कन्भालेसेन्ट प्लाज्मा दुवै पाएका बिरामीको निको हुने दर ५४ प्रतिशत थियो । यो दुवै थेरापी प्रयोग भएका २१.६ प्रतिशत बिरामीको मृत्यु भएको थियो। जसमा ८३.६ प्रतिशतले रेम्डेसिभर मात्र, ५.८ प्रतिशतले प्लाज्मा मात्र, १०.६ प्रतिशत बिरामीले दुवै थेरापी लिएका थिए। अध्ययनले कोभिड १९ को उपचारमा दुवै थेरापी सुरक्षित रहेको जनाएको छ । ५ प्रतिशतभन्दा कम बिरामीमा मात्र प्रतिकूल असर परेको थियो।

अध्ययनले उपचार सफल नभएका बिरामीहरू अस्पताल आउनुअघि नै दीर्घरोगी भएको र उनीहरूमा कोरोना संक्रमण खतरापूर्ण रहेको जनाएको छ । मध्यम तथा अलिक कडा लक्षण देखिएका बिरामीमा रेम्डेसिभर मात्रले कडा सन्तोषजनक र कडा लक्षण भएका बिरामीहरूमा दुवै थेरापीले मात्र बिरामीमा राम्रो प्रभाव परेको अध्ययनले देखाएको छ।

तर तुलनात्मक रुपमा प्लाज्माथेरापी मात्रै पाएका बिरामीमा भन्दा रेम्डिसिभिर पाएका बिरामीहरूमा बढी लाभ देखिएको अध्ययन टोलीका संयोेजक तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता जनक कोइरालाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad