ad ad

छापा खबर


काठमाडौं उपत्यकामा अघोषित लोडसेडिङ, फेरि पनि जनताले सम्झन थाले कुलमान

काठमाडौं उपत्यकामा अघोषित लोडसेडिङ, फेरि पनि जनताले सम्झन थाले कुलमान

नेपालखबर
पुस १६, २०७७ बिहिबार २३:३०,

१३ पुसको साँझ काठमाडौं र यस वरपरका क्षेत्रको विद्युत् माग तीन सय ७७ मेगावाट थियो । त्यो गत सालको सोही दिनको तुलनामा ६६ मेगावाट कम हो।

आपूर्तिका हिसाबले पनि सो दिन विद्युत् अभाव थिएन । गत वर्षको सोही दिनको तुलनामा भारतबाट करिब डेढ सय मेगावाट विद्युत् बढी आयात भइरहेको थियो । तैपनि काठमाडौंमा पटकपटक लामो समय विद्युत् आपूर्ति रोकियो।

सो दिन मात्रै होइन, विगत केही महिनादेखि यसरी नै विद्युत् आपूर्ति अकारण अवरुद्ध हुने गरेको छ । चार वर्षअघि मुलुकमा लोडसेडिङ अन्त्य भएपछि पहिलोपटक जनताले यसरी पनि लोडसेडिङ अनुभव गरिरहेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले लेखेका छन्।

चार वर्षअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँग सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि मुलुकमा लोडसेडिङ अन्त्य गर्ने काम सुरु भएको थियो । सुरुमा काठमाडौं उपत्यकामा लोडसेडिङ हटाइएकोमा बिस्तारै घिसिङले मुलुकलाई नै लोडसेडिङमुक्त बनाए ।

तर, गत भदौमा घिसिङले अवकाश पाए, ओली सरकारले उनको कार्यकाल थप गरेन । यससँगै फेरि पनि लोडसेडिङ सुरु भएको छ। विगतमा प्राधिकरणले लोड व्यवस्थापनका लागि छोटो समयका लागि विद्युत् कटौती हुने गरेको (फोर्स लोडसेडिङ) अनौपचारिक रूपमा बताउने गरे पनि बिहीबार भने यससम्बन्धी सूचना नै जारी ग¥यो।

सूचनामा ‘बानेश्वर सबस्टेसनको लोड व्यवस्थापनका लागि लगनखेल वितरण केन्द्रअन्तर्गतको चापागाउँ फिडर बिहान ९ बजेदेखि १० बजेसम्म, हरिसिद्धि फिडर दिउँसो १२ देखि २ बजेसम्म र रेडियो नेपाल फिडर १२ देखि ३ बजेसम्म सटडाउनमा राख्नुपर्ने भएकाले सो क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ’ उल्लेख थियो।

अघिल्ला दिनहरूमा बानेश्वर सबस्टेसनअन्तर्गत पटकपटक बिजुली गएपछि प्राधिकरणले ती फिडर बन्द गराएको थियो । प्राधिकरणले ललितपुरका तीन फिडरबाट एक घन्टादेखि तीन घन्टासम्म विद्युत् अवरुद्ध हुने सूचना निकाले पनि दिनभर विद्युत् अवरुद्ध थियो।

काठमाडौं उपत्यकामा होटेल, सिनेमा हल, रात्रिकालीन व्यवसायलगायत बन्द हुँदा अहिले विद्युत्को माग नै करिब एक सय मेगावाट कम भएको वेला विद्युत् कटौती भइरहनु आश्चर्यको विषय भएको प्राधिकरणकै एक अधिकारीले बताए।

गत साल उपत्यकामा हिउँदमा औसत विद्युत् माग साढे चार सय मेगावाटभन्दा बढी हुने गरेकोमा अहिले पौने चार सयभन्दा कम छ । मुलुकभरको माग तथा आपूर्ति भने गत साल १३ सय मेगावाट हाराहारीमा भएकोमा अहिले साढे १४ सय मेगावाट पुगेको छ।

‘विगतमा काठमाडौंमा माग बढी हुन्थ्यो, तराईमा कम हुन्थ्यो, तर यसपटक कोरोनाका कारण काठमाडौंमा माग घटेको छ, तर तराईमा बढेको छ,’ उनले भने, ‘विगतमा चोरी नियन्त्रणमा रहेकोमा तराईमा अहिले तीव्र रूपमा चोरी बढेको देखिन्छ ’

अहिले विद्युत् प्राधिकरणका आयोजनाबाट औसत दैनिक पाँच सय मेगावाट र निजी क्षेत्रबाट तीन सय मेगावाट गरी आठ सय मेगावाट हाराहारी नेपालमै उत्पादन भइरहेको छ । त्यस्तै, औसत साढे ६ सयदेखि सात सय मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । नेपालमा पिक डिमान्ड १४ सय ६० मेगावाट हाराहारी छ।

मुलुकभित्र पर्याप्त आपूर्ति भए पनि व्यवस्थापन गर्न नसकेको प्राधिकरणले थप ५० देखि एक सय मेगावाट विद्युत् भारतबाट आयात गरेर समस्या समाधानको पहल गरेको छ । थप एक सय मेगावाट आयात भएमा गत वर्षको तुलनामा साढे तीन सय मेगावाट बढी बिजुली भारतबाट मात्रै आयात हुनेछ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य गत वर्षभन्दा डिमान्ड बढेकाले आयात धेरै गर्नुपरेको बताउँछन् । ‘गत वर्षभन्दा सय मेगावाट बढी आयात गरिएको छ, नपुगेपछि पुनः ५० देखि सय मेगावाट आयात गरेर व्यवस्थापन गर्न लागिरहेका छौँ,’ कार्यकारी निर्देशक शाक्यले भने ।

प्राधिकरणको अहिलेको व्यवस्थापनले चुहावट नियन्त्रणमा ध्यान नदिनुका साथै प्राविधिक समस्या आएको अवस्थामा तत्कालै समाधानमा तदारुकता नदेखाउँदा लोडसेडिङको सम्भावना देखिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए।

‘घिसिङको कार्यकालमा सुरु गरिएका चुहावट नियन्त्रणका काम ठप्प भएका छन्, चुहावट नियन्त्रणको लक्ष्यसमेत राखेर प्राधिकरणका उच्च कर्मचारीसँग कार्यसम्पादन सम्झौता हुने गरेको थियो, त्योसमेत रोकिएको छ,’ प्राधिकरण स्रोतले भन्यो। नियमित रूपमा हुने गरेका मर्मतका कामसमेत हुन नसकेको उनले बताए ।

‘पहिला कार्यकारी निर्देशक आफैँले शाखा प्रमुख, ग्रिड प्रमुखलगायतलाई फोन गरेर माग र आपूर्तिको अवस्था र चुहावट नियन्त्रणलगायत विषय अपडेट लिने गरेकोमा त्योसमेत रोकिएको छ,’ उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .