केही समयअघि नेपाल प्रहरी लागूऔषध नियन्त्रण ब्युरोको एउटा टोली मकवानपुरतिर लाग्यो। टोलीको उद्देश्य थियो– अफिम खेती नष्ट गर्नु।
‘हामीले मकवानपुरका विकट गाउँमा अफिम खेती हुन्छ भन्ने सूचना पाएका थियौं। सूचना भेरिफाई गर्यौं र अफिम खेती नष्ट गर्ने उद्देश्यले मकवानपुरतिर लाग्यौं’, ब्युरोका डीएसपी कृष्णगोपाल पनेरु भन्छन्, ‘त्यहाँ पुगेपछि हामीले अर्कै संसार देख्यौं। गाउँमा ८०–९० वर्षका बूढाबूढी मात्रै थिए। हामी पुगेको थाहा पाएपछि सबै मानिस जंगलतिर भागेछन्।’
डीएसपी पनेरूका अनुसार ८–१० वर्षदेखि नेपालका विभिन्न जिल्लामा अफिम खेती मौलाउँदो छ। यस्तै नष्ट गर्ने प्रवृत्ति पनि बढेको छ। त्यसैले अफिम नष्ट गरेको अनुभव उनीजस्ता धेरै प्रहरी अधिकारीसँग छ।
तीमध्येका एक हुन् रौतहटका डीएसपी नवीन कार्की। २०७५ साल सकिनै लागेका बेला कार्कीसमक्ष अफिम खेतीको सूचना आयो।
सूचनाका आधारमा रौतहट प्रहरीले अप्रेसन चलायो। ‘हामीले मकैबारीमा लुकाएर अफिम खेती भइरहेको पायौं। त्यसअघि मकैबारीमा अफिम खेती भएको भेटिएको थिएन’, कार्की भन्छन्, ‘हामी त्यहाँ पुग्दा अफिम खेती गर्ने मान्छे भागिसकेका थिए। दुई बिघा मकैबारीभित्र लगाइएको अफिम नष्ट गर्यौं।’
नेपालको पहाडी भूभागदेखि समथर भूभागसम्म कसरी अफिम खेती फैलिएको छ भनेर जान्न यी दुई प्रहरी अधिकारीको अनुभव सुने पुग्छ। पहिलेपहिले नेपाल–भारत सीमाका जिल्लामा हुने अफिम खेती पछिल्ला वर्षमा मध्यपहाडी जिल्लामा फैलिएको प्रहरी अनुसन्धानले देखाएको छ।
ब्युरोको दुईवर्षे तथ्यांकले मकवानपुरमा सबैभन्दा धेरै अफिम खेती भएको देखिन्छ। ब्युरोका अनुसार दुई वर्ष अवधिमा मकवानपुरबाट मात्र ६१ बिघाभन्दा धेरै जमिनमा गरिएको छ।
त्यस्तै मकवानपुरपछि रौतहट, उदयपुर, दाङ, जाजरकोट, सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिमलगायत जिल्लामा अफिम खेती हुने गरेको छ।
सबै ठाउँमा पुगेर अफिम खेतीको पहिचान र नष्ट गर्न नसकिएको डीएसपी पनेरू स्वीकार गर्छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा आकाश क्षेत्रीले लेखेका छन्।
‘सवारीसाधन पुग्न नसक्ने ठाउँमा अफिम खेती हुने भएकाले त्यहाँ हिँडेरै पाँचदेखि छ घण्टासम्म लाग्छ’, उनी भन्छन्, ‘प्रहरीले सक्ने जति अफिम खेती नष्ट गरेको छ तर स्रोतसाधन अभावमा सबै ठाउँमा पुगेको छैन।’
प्रतिक्रिया