छापा खबर


पीडितको गुहार : निर्मलाको जस्तै नहोस् सम्झनामाथिको अपराध

पीडितको गुहार : निर्मलाको जस्तै नहोस् सम्झनामाथिको अपराध

नेपालखबर
असोज १३, २०७७ मंगलबार २३:३६,

बझाङ चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा मंगलबार सर्वपक्षीय छलफल हुँदै थियो, जहाँ सम्झनाका हजुरबा गोरखबहादुर कामी पनि थिए।

‘हामी गरिब छौँ, तर मेरी नातिनीको हत्यारा समातिएर पनि उम्कने हुन् कि भन्ने डर छ, जसरी हुन्छ न्याय दिनुहोस्,’ उनी हात जोडेर गुहार माग्दै थिए। तर, यसो भन्दाभन्दै उनी भिडकै बीचमा भक्कानिए।

आँसु पुछे र एकछिनपछि आंशकापूर्ण भावमा भने, ‘निर्मला पन्त बलात्कार र हत्याको घटनामा पनि दोषी उम्किए, सजाय पाएनन्, मेरी नातिनीको पनि त्यस्तै गुपचुप गर्दिन्छन् कि।’ यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटी र सम्राट सिंहले लेखेका छन्।

बोहरा गाउँका टाढाबाठा र आफूहरूभन्दा धनी र पहुँचवाला भएका कारण प्रहरी र सरकारले न्याय नदिने हो कि भन्ने आशंका गोरखबहादुरको परिवारमा छ । उनको गाउँमा धेरै खेतीपाती गर्ने जमिन छैन । भएको आम्दानीले परिवारको दुई छाक टर्दैन।

गोरखबहादुरले आरनमा हातहतियार तिखारेको आम्दानीले परिवार पालिएको छ । सम्झना गोरखबहादुरकी सबैभन्दा ठूली सहयोगी, ठूली नातिनी थिइन्।

एउटै स्कुलमा पढ्ने छिमेकी राजेन्द्र बोहराले एक दिन सम्झनालाई कानका मुन्द्री मागे । तर, उनले दिइनन् । उनले धम्क्याए, नदिए कुट्ने, पिट्ने र मार्ने भनेका थिए । त्यसलगत्तै उनले हजुरबा गोरखबहादुरलाई भनेकी थिइन्, ‘मलाई डर लाग्न थालेको छ, त्यो राजेन्द्रले यसो भनिरहेको छ, म मुन्द्री फुकालेर राख्छु।’

तर, गोरखबहादुरले फुकाल्न दिएनन् । उनी भन्छन्, ‘मैले फुकाल्नुपर्दैन, म त्यसलाई भेटेको वेला सम्झाउँछु भनेको थिएँ, म उनीहरूको घरमा पनि गएको हुँ, तर उसलाई भेटिनँ, सम्झाउन नपाउँदै मेरी नातिनीको ज्यानै लिइदियो ।’ राजेन्द्र धम्क्याएको करिब साता मात्रै बित्दै थियो।

कुरा ७ असोजको हो । दिनभरि बाख्रा चराएर गलेकी सम्झना दिउँसो करिब ४ बजे गोठमा गोरुलाई घाँस काट्न हिँडेकी थिइन्।

एकातर्फ खोला र वरिपरि खोल्सी छन् । त्यहाँ मान्छे कराएको, चिच्याएको पनि वरिपरि सुनिने अवस्था छैन । स्थानीय शिक्षक शेरबहादुर ओखेडा भन्छन्, ‘हजुरआमाले देखेको घुम्तीबाट गोठ पुग्न नपाउँदै उनीमाथि आक्रमण भएको हुनुपर्छ।’

गाउँमा हल्लीखल्ली मच्चियो । सुरुमा गाउँभरि खोजी भयो । कतै नभेटिएपछि मन्दिरमा गइन् कि? भन्ने प्रश्न उठ्यो।

उनको नाम्लो र डोको मन्दिरनजिकै खोलाछेउमा भेटियो । ‘हामीले पनि ठूलै मान्छे त जाँदैनन्, यति राति त्यति सानी केटी त्यहाँ किन जान्छे भन्ने सोच्यौँ,’ शिक्षक ओखेडा भन्छन्, ‘करिब ८ बजेको थियो, हामीले मन्दिर पुगेर हेर्दा त्यहाँ उसको लास पो भेटियो।’

अर्धनग्न शरीर । यौनांगबाट रगत बगिरहेको । टाउको, अनुहार, जिउभरि सबै रक्ताम्मे । शरीरभरि चोटैचोट थियो । कानमा लगाएका मुन्द्रा थिएनन् । मन्दिरभित्रै बलात्कारीसँग घम्साघम्सी परेका संकेतहरू प्रस्ट देखिएका थिए । पीडाले छट्पटिँदा बनेका डोबहरू छर्लंग छुट्टिन्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad