शनिबार बिहान ३ बजेको हुँदो हो । बिजलीदेवी सदा अचानक ब्युँझिइन् ।
घरै जलाम्य भइसकेछ । कोसीको भँगालो कतिखेर खाटमुनि आइपुग्यो, पत्तै पाइनन् । हतारिँदै बालबालिका च्यापेर बाहिर निस्किइन् । आकाशबाट मुसलधारा बर्सिरहेको थियो ।
‘एक्कासि खाटै डुब्ने गरी पानी आएपछि हाम्रो त होसै उड्यो,’ उनले भनिन्, ‘घरमा पोहोर सालकै पाल भएका कारण जसोतसो टाँगेर वर्षा र बाढीबाट जोगियौं ।’
सप्तरी, हनुमाननगर–कंकालिनी नगरपालिका–७ मा कोसीको पश्चिमी तटबन्धछेउमै छ सदाको घर ।
कोसीमा पानी बढ्ने र जुनसुकै बेला बाढी आउन सक्ने जोखिमका कारण राति १२ बजेसम्म उक्त बस्तीका सबै जाग्रामै थिए । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
‘बिहानपख आँखा लाग्यो, त्यत्तिकैमा बाढी घरै छोप्ने गरी आयो,’ बिजलीदेवीले भनिन्, ‘केहीबेर आँखा नखुलेको भए कोसीको भेलसँगै पूरै परिवार बग्ने रहेछ ।’
रातिमा बाढी आएका कारण घरका केहीबाहेक धेरै सामान जोगाउन नसकेको उनले बताइन् । बिजलीदेवी मात्र होइन, सोही गाउँकी कुमरी सदा र फुलोदेवी सदाको पनि कथाव्यथा उस्तै छ ।
उनी पनि शनिबार बिहान बाढीले घर डुबाउन लाग्दा मस्त निद्रामा थिइन् । बिहानीपख घरआँगनमा पानी भरिएपछि भागेर पश्चिमी तटबन्धमा आएर ज्यान जोगाएको उनको भनाइ छ ।
कोसीको धार पूर्वबाट पश्चिम मोडिएकै कारण अहिले हनुमाननगर–कंकालिनी नगरपालिकाको वडा नम्बर ७ र १२ का करिब ३ सय परिवार विस्थापनमा परेका छन् ।
उनीहरूले नजिकै कोसीको पश्चिमी तटबन्धमा पाल टाँगेर आश्रय लिइरहेका छन् ।
परबाट घर देखिन्छ । तर जाने उपाय छैन । जताततै पानी नै पानी छ । अन्नपात लत्ताकपडा सबै त्यहीँ छन् । बितन पासवान सडकमा टाँगिएको त्रिपालमुनि टोलाइरहेकी छन् ।
‘दिनभरि सडकमा बसें । अब राति छिमेकीका घरमा आश्रय लिन्छौं,’ उनले भनिन्, ‘घर डुबानमा छ । एकसरो कपडासमेत निकाल्न पाएनौं ।’
प्रतिक्रिया