ad ad

छापा खबर


जनआन्दोलन कि जनयुद्ध? नेकपामा यसरी चर्किदै छ विवाद

जनआन्दोलन कि जनयुद्ध? नेकपामा यसरी चर्किदै छ विवाद

नेपालखबर
फागुन ८, २०७६ बिहिबार २:१३,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले फागुन १ गते जनआन्दोलन तथा जनयुद्धका सहिदहरूलाई श्रद्धाञ्जली दिने कार्यक्रम तय गरेको थियो।

कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गर्ने भनिए पनि प्रधानमन्त्रीसमेत रहेका ओली सहभागी भएनन्।

उनी प्रधानमन्त्री निवासमा विशेष काम परेको जनाउँदै सहभागी नभएका हुन्। कार्यक्रममा कार्यकारी अध्यक्ष दाहाल भने सहभागी भए।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल काठमाडौँमा भए पनि सो कार्यक्रममा उपस्थित भएनन्। नेता माधवकुमार नेपालले मुलुकबाहिर भएका कारण उपस्थित हुन नपाएको बताएका छन्।

ईश्वर पोखरेललगायत पूर्वएमाले खेमाका नेताहरु काठमाडौं भएर पनि सो कार्यक्रममा सहभागी भएनन्। पूर्वएमाले खेमाबाट उपाध्यक्ष वामदेवगौतम, महासचिव विष्णु पौडेललगायत थोरै मात्र कार्यक्रममा उपस्थित भए।

आजको नागरिक दैकिमा टपेन्द्र कार्कीले लेखेको समाचार अनुसार तत्कालीन नेकपा माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो। पार्टी एकतापछि फागुन १ मा जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय भएको थियो।

सोही अनुरुप यस वर्ष पनि गत वर्षझैं पार्टी केन्द्रीय कार्यालयमा जनआन्दोल र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।

‘पार्टी एकतापछि नेता र कार्यकर्ताको मर्मबमोजिम फागुन १ गतेलाई जनआन्दोलन र जनयुद्धका क्रममा साहदत प्राप्त गरेकाको सम्मानमा श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको हो। त्यो निर्णयलाई पार्टीले तल्लो तहसम्म सर्कुलर गरेको हो’, स्थायी कमिटीका एक सदस्यले भने।

पूर्वएमाले खेमाका नेताले हिंसात्मक आन्दोलन अस्वीकार गरिरहेका बेला पार्टीले फागुन १ लाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर मध्यमार्ग अपनाएको भए पनि रुकुमलगायत पूर्वमाओवादी प्रभावित क्षेत्रमा केन्द्रको निर्णय उल्लंघन भयो।

निर्णय उल्लंघनसँगै सत्तारुढ नेकपामा जनआन्दोलन कि जनयुद्ध भन्ने विवाद सुरु भएको छ। पार्टीको आगामी महाधिवेशनमा यही विषयले प्रमुखता पाउने आकलन भइरहेका बेला यो विषय अहिले सतहमा आएको छ।

पार्टी एकीकरणकै बेला जनयुद्ध मात्र स्वीकारेर जानुपर्छ भन्ने पूर्वमाआवादी खेमाको भनाइलाई पूर्वएमाले खेमाले अस्वीकार गरेको थियो।

यसै कारण करिब–करिब पार्टी एकीकरण नहुने अवस्थामा पुगेपछि दुवै पक्षका शीर्ष नेताहरू यसमा शान्तिपूर्ण जनआन्दोलन पनि समेट्न सहमत भएपछि पार्टी एकीकरण भएको थियो।

तर यस वर्ष माओवादी उद्गमस्थल रुकुममा जनआन्दोलनलाई उपेक्षा गरी जनयुद्ध दिवस मनाइएपछि त्यहाँ पुगेका पूर्वएमाले खेमाका नेताहरुले पार्टी निर्णय उल्लंघन भएको भन्दै आपत्ति जनाए।

नेकपा पाँच नम्बर प्रदेश इन्चार्जसमेत रहेका पूर्वमाओवादी खेमाका जनार्दन शर्माले रुकुम जनयुद्धको उद्गमस्थल भएकाले यहाँ जसरी पनि जनयुद्ध दिवस मनाइन्छ भन्ने धारणा राखे।

नेकपाभित्र अहिले जनआन्दोलन वा जनयुद्ध भन्ने विवादले ठूलै रुप लिएको छ।

‘पार्टी एकताका बेला जनयुद्ध राख्ने कि नराख्ने भन्ने विषय पेचिलो बनेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकले मध्यमार्गी बाटो अवलम्बन गरेको थियो। एकतापछि पूर्वमाओवादी खेमाले पार्टी निर्णय उल्लंघन गर्न थालेको देखिन्छ। जनयुद्ध र जनताको बहुदलीय जनावाद जस्ता विषय महधिवेशनबाटै टुंग्याउने सहमति भएको छ’, नेकपाभित्र तत्कालीन एमाले खेमाका एक नेताले भने, ‘अहिले केही हदसम्म दुवै पक्षले संयमता अपनाउनुपर्नेमा को पहिला विरोध र समर्थनमा लाग्ने भन्ने होडबाजी चल्न थाल्यो। यो राम्रो होइन।’

उनका अनुसार पार्टीभित्र पूर्वएमाले र पूर्वमाओवादी खेमा भन्नेको दुई लाइन संघर्ष कायमै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .