छापा खबर


आइफाको खर्चः कसलाई कति पर्छ?

आइफाको खर्चः कसलाई कति पर्छ?

नेपालखबर
असार १६, २०७६ सोमबार १:३१,

नेपाल पर्यटन बोर्डले सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०१९(आइफा) गर्ने योजना बनाएको छ।

तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन। बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र काइन्ड (वस्तु) गरी दुई तवरले सहयोग गर्नेछ।

क्यासअन्तर्गत नेपालले ४ मिलियन डलर (४४करोड रुपैयाँ) खर्च गर्ने छ। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका हुन्।

काइण्ड सपोर्ट अन्तरगत भने होटल व्यवस्थापन, जहाज आतेजाते खर्च र स्थानीय यातायात खर्च भनिएको छ।

क्यास अन्तरगतको ४४ करोड रुपैयाँ काठमाडौं महानगरपालिका र पर्यटन बोर्ड आफैले गर्ने छ। त्यस बाहेक नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर आफ कमर्श, नेपाल चलचित्र विकास बोर्ड लगायतका संस्थाले पनि क्यास अन्तरगत सहयोग गर्नेछन्।

होटल, जहाज र स्थानीय यातायातको खर्च भने क्रमशः होटल एसोसियसन नेपाल(हान),नेपाल वायु सेवा निगम र नाडा अटो मोवायलस् डिलर्सले गर्ने छ।

अवार्ड आयोजनाको खर्च व्यवस्थान बारे बोर्डका सिइओ जोशीले भने,‘आइफा अवार्ड गर्न सरकारले निर्णय गरिसकेको छ। करिब तीन महिनाको गृह कार्यपछि यो निर्णय हुन सकेको हो। यस प्रत्यक्ष खर्च नेपाल सरकरको ढुकुटीबाट हुने होइन।जस्तो अतिथि बस्ने बस्नका लागि होटल एसोशियनले गर्छ। त्यस बाहेक जहाजको व्यवस्थान नेपाल एयरलाइन्सले गर्छ। काठमाडौंमा यातायात र गाडीको व्यस्था नाडाले गर्छ। यस बापत नेपाल सरकारले उनीहरूलाई खर्च दिनु पर्दैछ। यसा अझ स्पष्ट गरौं । नेपालले ५ सयसम्म कालाकारको मात्रै व्यवस्थापन गर्ने छ । बाँकीको व्यवस्थापन आईफाले नै गर्ने छ ।’

पाँच देखि छ सयको हाराहारीमा कलाकार आउने
बोर्डका अनुसार नेपाल होस्ट राष्ट्र भएकाले कार्यक्रमको नाम ‘नेपाल आईफा’ रहनेछ । आईफा आगमी अगस्टको अन्तिम साता हुनेछ । कार्यक्रम स्थल नेपाली सेनाको मुख्यालय आगडीको फुटवल मैदान छनोट गरिएको छ ।

कार्यक्रममा कलाकार र उनीहरूका सहयोगीसहित १५ सय भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन् । त्यस मध्ये ५ सय देखि ६ सयको संख्यामा भने कलाकार मात्रै हुनेछन् । जसमा ६० देखि ८० जना कलाकार भिआईपी तहका हुनेछन् । कार्यक्रममा सहभागि हुने मध्ये ८० प्रतिशत भारतको मुम्वईबाट आउनेछन् । बाँकी २० प्रतिशत कलाकार भने दिल्ली र बैंगलोरबाट आउनेछन् ।

कार्यक्रमको स्टेज निर्माणका लागि दुवइबाट बिशेष खालको डोम ल्याइनेछ । एसी सहितको डोममा पाँच हजार जना अटाउनेछन् । कार्यक्रममको कुल खर्च १६ मिलियन डलर (एक अर्व ७६ करोड रुपैयाँ) हुने भनिएको छ । कार्यक्रम तीन दिन सम्म चल्ने भनिएको छ ।

कस्को खर्च कति?
बोर्डका अनुसार आइफामा सहभागि हुन कलाकार सहित एक हजार भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन्। त्यस मध्ये कलाकारको व्यवस्थापन भने नेपालले नै गर्नु पर्ने छ । उनीहरूका लागि बस्ने व्यवस्था होटल एसोसियसन नेपाल(हान)ले गर्ने भनिएको छ ।

कलाकारको स्तर मुल्यांकन गरि हानले नै होटलको व्यवस्थापन गर्ने छ । कलारका कम्तीमा ३ दिन होटलमा रहनेछन् । यस अवधिसम्म हुनेहरूले होटलको १४ सय कोठा प्रयोग गर्ने छन् । प्रत्येक कोठाको मुल्य सरदरमा ६ सय डलर पर्ने भनिएको छ । यस आधारमा होटल खर्च मात्रै ८ करोड ४० लाख रुपैयाँ खर्च हुनेछ ।

त्यस्तै कार्यक्रममा सहभागि कलाकारलाई जहाज मार्फत काठमाडौसम्म ल्याउने जिम्मा नेपाल एयरलाइन्सलाई दिने योजना छ । वोर्डका अनुसार ८० प्रतिशत कलाकार भारतको मुम्वईबाट आउने भएका छन् । बाँकी २० प्रतिशत कालकार भने भारतकै बैंगलोर र दिल्लीबाट आउनेछन् । प्रस्ताव अनुसार ६ सय कलाकारको आतेजाते जहाज भाडा नेपाल एयर लाइन्सले नै व्यहोर्नछ । कार्यक्रममा सहभागि कलाकार बिजनेश क्लासमा नै आउनेछन् । भारतको तीन वटै सहरमा बिजनेश क्यासको एक तर्फी भाडा सरदर ३५ हजार रुपैयाँ छ । यस आधारमा नेपाल एयर लाइन्सको ४ करोड २० लाख रुपैयाँ खर्च हुनेछ ।

काठमाडौंमा उत्रि सकेपछि उनीहरूलाई होटलसम्म लैजान र ल्याउन सुविधा सम्पन्न गाडीको आवश्यकता पर्ने हुन्छ । यसको सम्पुर्ण व्यवस्था गर्ने जिम्ममा नाडा अटो मोवायलस् डिलर्सलाई दिने भनिएको छ । यसका लागि उसले उपत्यका भित्र रहेका सो रुमका गाडी प्रयोग गर्ने छ । यस प्रयोजनमा कम्पतीमा ४ सय वटा गाडी प्रयोग हुनेछन् ।

प्रत्येक गाडीको भाडा प्रति दिन कम्तीमा ३० हजार रुपैयाँ लाग्नेछ । यस आधारमा नाडाको ३ करोड ६० लाख रुपैयाँ खर्च हुने छ । मुख्य आयोजक वोर्ड र सहअयोजक काठमाडौं महानगरपालिकाले गर्ने भनिएको ४४ करोड रुपैयाँ भने मञ्च निर्माणमा प्रयोग हुनेछ । मञ्च निर्माणका लागि दुवइबाट अत्याधुनिक र सुविधा सम्पन्न डोम ल्याउने भनिएको छ ।

कार्यक्रममा सहभागि कलाकारको खाना तथा खाजाको प्रवन्धका लागि वोर्डले सोचेको छैन । सहयोगीका रुपमा रहेका नेपाल चलचित्र विकास बोर्ड, नेपाल उद्योग बाणिज्य महासंघ, चेम्वर आफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका संघसंस्थाबाट यसमा लाग्ने खर्च जुटाउन सकिने बोर्डका भनाई छ ।

नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले आईफा अवार्ड आयोजनाको खर्च बारे टुंगि नसेको बताए । उनले भने,‘खर्च सम्वन्धमा आईफा प्रतिनिधि र हामीबीच छलफल भइरहेको छ । ४४ करोड रुपैयाँसम्म होस्ट मुलुकले व्यहोर्ने गरि उनीहरूको प्रस्ताव आएको छ । यही खर्च महानगरपालिका र पार्यटन बोर्डले गर्ने भनिएको हो । महानगर र बोर्डको रकम नेपाल सरकारको ढुकुटी होइन ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad