ad ad

छापा खबर


एउटै मञ्चमा ओली र प्रचण्डबीच यस्तो घोचपेच

एउटै मञ्चमा ओली र प्रचण्डबीच यस्तो घोचपेच

नेपालखबर
असार १४, २०७६ शनिबार २३:३३,

पार्टी एकता हुँदाको सम्झौता कार्यान्वयनका सवालमा आपसी तिक्तता बढिरहेका बेला सत्तारूढ नेकपाका दुई अध्यक्ष शनिबार राजधानीमा एउटै सार्वजनिक कार्यक्रममा उपस्थित भए।

कार्यक्रम सुरु नहुँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल मञ्चमा पुगिसकेका थिए । त्यसको १५ मिनेटपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली आइपुगे।

मञ्च पुग्नासाथ ओलीले दाहालसँग हात मिलाए । त्यसलाई कार्यकर्ताले हुटिङका साथ स्वागत गरे । हल तालीको गडगडाहटले गुन्जियो।

दुई अध्यक्षबीच बढेको अविश्वासका कारण उनीहरूले हात मिलाउँदासमेत कार्यकर्ताले लामो समय ताली बजाए। यो खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।

बोल्ने क्रममा दुई नेताबीच आपसमा छेडखानीसमेत चल्यो । दाहालले आधा घण्टा र ओलीले ५० मिनेट बोले ।

‘जननेता’ स्व. मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको विचार गोष्ठीमा अध्यक्षद्वयका अतिरिक्त कांग्रेस नेता कृष्णप्रसाद सिटौला, सूर्य चिहनबाटै चुनाव जितेका सांसद हृदयेश त्रिपाठीसहितका नेता वक्ताका रूपमा उपस्थित थिए।

दुई अध्यक्षबीचको तिक्ततापूर्ण सम्बन्धको विषय सांसद त्रिपाठीले सुरुमै उठाए । नेकपा र सरकारको सफलता र असफलताको विषय राजनीतिक कोर्ससँग जोडिएको भन्दै उनले दुई नेतालाई मिल्न सचेत गराए ।

‘उहाँहरू निर्वाचनपछि यति ठूलो बन्नुभयो कि आफ्नो क्षेत्रफल कति हो भन्ने थाहा नभए जस्तो छ । अहिले धेरै जञ्जालमा पर्नुभयो, अरूले त उहाँहरूलाई (दुई अध्यक्ष) कलाकार पनि भन्छन्,’ त्रिपाठीले भने, ‘पार्टी एकीकरण र सरकारलाई सफल बनाउन सक्नुभएन भने लोकतान्त्रिक प्रणालीमाथि नै खतरा उत्पन्न हुन्छ । नेकपा असफल भयो भने सम्हाल्न प्रतिपक्ष पनि तयार छैन।’

असफल हुँदा एउटा सरकार र नेकपा मात्रै होइन, प्रणाली नै असफल हुने र राजनीतिक कोर्स नै बदलिने खतरा रहेको उनले बताए।

त्रिपाठीका यी भनाइलाई दुवै अध्यक्षले ठीकै हो भन्दै एकअर्कालाई छेडछाड गरे । कम्युनिस्ट आन्दोलनका पथप्रदर्शक मदन भण्डारीको गुणगानका क्रममा दुवै अध्यक्षले एकआपसमा अप्रत्यक्ष ढंगले छेडछाड गरे।

ओलीले नक्कली सिद्धान्तको पिँजडाभित्र रहेको भन्दै अध्यक्ष दाहाललाई व्यंग्य गरे । ‘मदन भण्डारी कुनै नक्कली सिद्धान्तको नाममा गतिहीन हुने, आडम्बर देखाउने, हिँड्न नदिने, भन्न नदिने गर्नु हुँदैनथ्यो । उहाँ (मदन भण्डारी) सिद्धान्तलाई पिँजडा होइन भनेर त्यसभित्र बस्नुहुन्थेन । सिद्धान्तलाई मार्गदर्शन बनाएर अघि बढ्नुहुन्थ्यो,’ ओलीले भने।

दाहालले पनि मदन भण्डारी आग्रह, पूर्वाग्रह राख्ने संकीर्ण नेता नभएको भन्दै घुमाउरो भाषामा ओली भने संकीर्ण बनेको सांकेतिक आरोप लगाए।

‘मदन भण्डारी कुनै आग्रह पूर्वाग्रह र संकीर्णता समातेर होइन, त्यसमाथि विजय हासिल गरेर सबैलाई मिलाएर लैजाने सक्ने क्षमता भएको नेता हुनुहुन्थ्यो,’ ओलीप्रति सांकेतिक प्रहार गर्दै दाहालले भने, ‘देश, काल, परिस्थितिअनुसार आफ्ना नीति र कार्यक्रमलाई समेत बदल्न तयार हुनुहुन्थ्यो । उहाँको त्यही प्रवृत्ति मिलेर नै पार्टी एकीकरण भएको हो।’

मदन भण्डारीको उत्तराधिकारी ओली र आफू नै भएको उनले दाबी गरे।

आफूहरूलाई असफल नबनाउनसमेत पार्टीका नेता कार्यकर्तालाई उनले आग्रह गरे । ‘सरकारलाई सफल पार्ने, पार्टी निर्माण गर्ने र विदेशी शक्ति सन्तुलनमा राख्नेमा सबैको सामूहिक चिन्ता भएन भने दुई नेता असफल हुनेछन्,’ उनले भने, ‘पार्टीलाई सुदृढ एवं सरकारलाई सफल बनाउन सकेनौं भने यो प्रणालीमाथि नै खतरा आउँछ।’

नेकपाभित्र एकीकरणका क्रममा पार्टीको सिद्धान्तको विषय पछिल्लोपटक पेचिलो बन्दै गएको छ । सिद्धान्तकै विषय नमिल्दा पार्टीको सैद्धान्तिक दस्तावेज सार्वजनिक हुन सकेको छैन।

शनिबार दुई नेताको छेडखानी यसमै केन्द्रित थियो । ओलीले पार्टी एकताको प्रक्रिया १०–१५ दिनमा टुंग्याइने बताए । ‘एकताको विषयले हामीमाथि खिसिट्युरी गर्ने र प्रहार गर्ने काम भएको छ । यसको प्रक्रियामा केही अलमल भएकै हो । निराश हुनुपर्ने कुनै कारण छैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .