ad ad

छापा खबर


मोटरसाइकल चोरीमा तीन तहका चोर सक्रिय

मोटरसाइकल चोरीमा तीन तहका चोर सक्रिय

नेपालखबर
पुस २८, २०७६ सोमबार ३:३०,

सवारी धनी तथा चालकको सामान्य लापरबाहीका कारण मोटरसाइकल चोरीका घटना अपत्यारिलो ढङ्गले बढेको छ। काठमाडौंँ उपत्यकामा प्रत्येक महिना एक सयदेखि १२० वटासम्म मोटरसाइकल चोरी हुने गरेको छ।

मोटरसाइकल चोरी तथा हराउनुमा सवारी धनी तथा चालकको कमजोरी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। असुरक्षित पार्किङ, व्यस्तताका नाममा साधनप्रतिको बेवास्ता र ह्यान्डिल लक नगर्नेजस्ता गल्तीले मोटरसाइकल चोरी हुने गरेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल मोटरसाइकल तथा स्कुटर चोरीमा सङ्गठित गिरोह नै सक्रिय भएकाले सवारी धनी तथा चालकहरू स्वयं सचेत हुनुपर्ने बताउछन्।

विभिन्न स्थानबाट फेला परेका २० वटा मोटरसाइकल सोमबार सवारी धनीलाई जिम्मा लगाइएको छ।

चोरीका मोटरसाइकलको नम्बर प्लेट र स्वरूप परिवर्तन गरिने भएकाले झट्ट हेर्दा ट्राफिक प्रहरीले समेत पत्ता लगाउन सक्दैनन् । तर नियमित सुरक्षा जाँचका क्रममा ब्लुबुक (सवारीधनी) पत्र माग्दा घरमा छुट्यो लिएर आउँछु भन्दै चोर चालकहरू मोटरसाइकल ट्राफिक प्रहरीसँगै सडकमा छोडेर भाग्न सफल हुन्छन्।

महाशाखा प्रमुख ढकालका अनुसार यसरी अलपत्र छोडिएका मोटरसाइकल चोरीका हुन्छन् । यो आर्थिक वर्षको साउनदेखि हालसम्म २११ वटा चोरीका मोटरसाइकल बरामद भएका छन् तर पक्राउ पर्ने अभियुक्त २३ जना छन्।

ह्यान्डिल ‘लक’ फुटाएर चोरी
एकान्तस्थान तथा मोटरसाइकलको बाक्लो अव्यवस्थित पार्किङस्थलबाट बढी चोरी हुने गरेको छ । ह्यान्डिल लक गरेको भए पनि मार्तल (पेजकस) को तिखिरो चुच्चोबाट लक खोल्नुका साथै मोटरसाइकलसमेत ‘स्टार्ट’ गरेको पाइएको छ।

‘मार्तल मोटरसाइकलको चाबी हाल्ने प्वालमा छिराई मुड्कीले झ्याप्प हान्दा लक सहजै खुल्छ र स्टार्ट हुन्छ’ चोरहरूले विकास गरेको यो नयाँ र सामान्य उपकरण हो तर सर्वसाधारणले देख्ने गरी पार्किङ गर्दा चोरी घट्न सक्ने भनाइ प्रहरीको छ।

चोर्नेदेखि बिक्रीसम्म ‘नेटवर्क’
मोटरसाइकल चोरीमा छुट्टाछुट्टै समूह (नेटवर्क) संलग्न हुने गरेको छ । पहिलो समूहले चोर्ने, दोस्रोले ढुवानी र तेस्रोले बिक्री गर्ने गर्छ । चोरीका मोटरसाइकल सस्तो मूल्यमा बिक्री हुन्छन्।

कतिपय अवस्थामा मोटरसाइकल खोलखाल गरी पार्टपूर्जा बिक्री हुन्छ । सवारी धनी वा चालक ढिलो गरी आएमा वा सहज अवस्था पाएमा मार्तलको सहयोगले मोटरसाइकल चोरी गरी नजिकै लुकाउँछन्।

दोस्रो समूहले लुकाएको मोटरसाइकल बिक्रीका लागि लैजान्छ । तेस्रो समूहले उपत्यकाभित्र वा बाहिर पठाउनेबारे मेलोमेसो मिलाउने गरेको
पाइएको छ।

मोटरसाइकल चोरी मुद्दामा फितलो कानुनी व्यवस्था रहेको छ। अभियुक्तहरू १० हजारदेखि एक लाख रुपियाँ धरौटीमा छुट्ने भएकाले प्रायः मोटरसाइकल चोरीले पेसा परिवर्तन गर्दैनन् ।

एक महिनामा तीनदेखि पाँचवटासम्म मोटरसाइकल चोरी गरी पाँच लाख रुपियाँ कमाउन उद्यत हुन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .