ad ad

छापा खबर


विद्यालय अगाडि चिहान : झ्यालबाट चिहाउँदै पढ्दै बालबालिका

विद्यालय अगाडि चिहान :  झ्यालबाट चिहाउँदै पढ्दै बालबालिका

नेपालखबर
पुस ७, २०७६ सोमबार २:१४,

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनास्थित महाराजा माध्यमिक विद्यालय परिसर र इस्लाम धर्मावलम्बीको दाहसंस्कार गर्ने श्मशानघाट (कब्रस्तान)को पर्खाल जोडिएको छ।

विद्यालय आउने–जाने छात्रछात्रा यही कब्रस्तान छिचोलेर विद्यालय जानुपर्छ । श्मशानघाटलाई चारैतिरबाट पर्खालले घेरिएको छ, तर पर्खाल होचो भएकाले कक्षाकोठामा बसेर पढ्दा वा खेलमैदानमा खेल्दा कब्रस्तानमा गाडिएका चिहान र अन्तिम संस्कारका लागि ल्याएका शव प्रस्टसँग देखिन्छ ।

विद्यालयनजिकै कब्रस्तान हुँदा त्यहाँ हुने गतिविधिले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको खबर आजको नयाँ पत्रिका दैनिकमा बाँकेबाट विश्वराज पछडङ्ग्याले लेखेका छन्।

विद्यालय चलिरहेका वेलासमेत अन्तिम संस्कारका लागि शव ल्याउने र श्मशानघाटका चिहान प्रस्ट देखिने भएकाले विद्यार्थीमा त्रास उत्पन्न हुने गरेको छ । तर, यो प्रक्रिया वर्षौँदेखि चल्दै आएको छ ।

०६३ अघि इस्लाम धर्मावलम्बीले विद्यालयको मुख्य द्वारअगाडि शव गाड्थे । यसले विद्यार्थी र शिक्षकलाई असहज भएपछि विद्यालयले आफ्नो जमिन दिएर उत्तरतर्फ श्मशानघाट सार्न अनुमति दिएको थियो ।

‘१३ वर्षअघि चिहानमाथि हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता थियो । अहिले त धेरै राहत भएको छ,’ महाराजा माविका पूर्वविद्यार्थी विजय मल्लले भने, ‘चिहानमाथि नहिँडी विद्यालय पुग्न सकिने अवस्था थिएन।’

विद्यालय आउजाउ गर्दा र अन्तिम संस्कारको समयमा डर लाग्ने गरेको विद्यार्थीहरू बताउँछन् । ‘बिहानको समयमा ट्युसन र कोचिङ पढ्न आउँदा शरीर नै सिरिंग हुन्छ,’ छात्रा पवित्रा सुनारले भनिन्, ‘दिउँसोको समयमा समेत एक्लै आउजाउ गर्दा डर लाग्छ । खेल्दाखेल्दै खेल सामग्री श्मशानघाटमा जान्छ । डराएर लिन जान हत्तपत्त कोही तयार हुँदैनन्।’

विद्यालय सञ्चालनको समयमा शव गाड्न ल्याउँदा कक्षाकोठाको झ्यालहरू बन्द गर्नुपर्ने हुन्छ । श्मशानघाटमा हुने मृत्यु संस्कारको दृश्य नदेखियोस् भनेर विद्यार्थीले कक्षाकोठाका झ्याल लगाउने गरेको विद्यालयका प्रधानाध्यापक हरिहरप्रसाद दीक्षितले बताए।

‘श्मशानघाटछेउमा विद्यालय नहुनुपर्ने हो, अन्यत्र जमिन नभएको भन्दै विद्यालय नजिकै घाट बनाइयो, यसले विद्यार्थीको पठनपाठनमा समस्या निम्त्याएको छ,’ दीक्षितले भने, ‘गाडेको शवको दुर्गन्ध कक्षाकोठासम्मै पुग्छ । यसले विद्यार्थीमा मानसिक असर परेको छ।’

चिहान नदेखिने गरी घाटको व्यवस्थापन गर्न विद्यार्थी र शिक्षकले माग गरेका छन् । पठनपाठनमा असर पर्ने भएकाले विद्यालय प्रांगणबाट नदेखिने गरी पर्खाल लगाउनुपर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .