मानव विकास सूचकांकमा नेपाल १४७ औं स्थानमा आउन सफल भएको छ। नेपाल गत वर्षभन्दा दुई स्थान माथि उक्लन सफल भएको हो।
गत वर्ष नेपाल १ सय ४९औं स्थानमा रहेको थियो भने यसको अघिल्लो वर्ष १ सय ४८औं स्थानमा रहेको थियो।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले मंगलबार सार्वजनिक गरेको विश्व मानव विकास प्रतिवेदन–२०१९ ले नेपालले बर्सेनि आफ्नो अवस्था सुधार गर्दै लगेको औँल्याएको छ । प्रतिवेदनअनुसार नेपालको स्थिति अफ्रिकी मुलुक केन्याको समान रहेको छ।
खासगरी प्रतिव्यक्ति आय, शिक्षाको अवस्था र औसत आयुलाई आधार मानेर मानव विकास सूचकांक निकाल्ने गरिन्छ । यसमा मुलुकले गरिबी निवारण, भोकमरीबाट उम्कन गरेका प्रयास र खतरनाक रोगबाट मुक्त हुन गरेका प्रयासलाई अध्ययनमा राखिएको हुन्छ।
शिक्षा, स्वास्थ्य एंव रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १३०.५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले औंल्याएको छ।
यो खबर आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन्।
मानव विकास सूचकांकका आधारमा नेपाल मध्यमस्तरको देशका रूपमा रहेको छ । प्रतिवेदनमा विश्वभरका देशलाई १ सय ८९ स्थानसम्म वर्गीकरण गरिएको छ। त्यसमध्ये नेपाल अतिकम मानव विकास सूचकांक भएका मुलुकभन्दा एक कदम मात्र माथि छ।
सूचीअनुसार १ सय ५३औं स्थानसम्म रहेका मुलुकलाई मध्यमस्तर मानिएको छ भने त्योभन्दा तल रहेका मुलुक कमजोर मानव विकास भएका छन् । १ सय ५३औं स्थानमा सोलोमन आइल्यान्ड रहेको छ।
मानव विकास सूचकांकमा सबैभन्दा अग्रस्थानमा भने नर्वे रहेको छ । स्वीट्जरल्यान्ड, आयरल्यान्ड, जर्मनी, हङकङ, अस्ट्रेलिया, आइसल्यान्ड, स्विडेन र सिंगापुर पहिलो १० नम्बरमा रहेका छन्।
नेपालको मानव विकास सूचकांक मूल्य सन् १९९० देखि २०१८ सम्ममा न्यूनतम ०.३८० देखि ०.५७९ अर्थात् औसत ०.५२६ ले वृद्धि भएको छ । सन् १९९० देखि २०१८ सम्म नेपालको जन्मदरको औसत आयुमा १६.१ वर्षको वृद्धि भएको छ।
विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले वृद्धि भएको छ भने विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ । नेपालको औसत आयु वढेर अहिले ७०.५ वर्ष पुगेको छ।
प्रतिदिन १.९० अमेरिकी डलर क्रय शक्ति अनुपातभन्दा न्यून अवस्थामा जीवनयापन गरिरहेका जनसंख्यालाई बहुआयामिक गरिबीका रूपमा लिइन्छ । आय गरिबीको रेखाभन्दा माथि रहेका जनसंख्याले स्वास्थ्य, शिक्षा र जीवनस्तरमा अभाव सामना गर्न पुगेका छन्।
पछिल्लो ३ दशकमा प्राथमिक स्वास्थ्य र गाउँगाउँमा स्वास्थ्य स्वयंसेवकलगायतको पहुँच विस्तार भएपछि प्रतिव्यक्ति आयु भने स्थिर रहेको छ।
यद्यपि ३ दशकमा करिब ३० वर्ष नै औसत आयु बढेको छ । तर, स्वास्थ्य सेवासम्मको सहज पहुँच र सहरी क्षेत्रमा पनि गुणस्तरीय स्वास्थ्य सेवामा भने अझै चुनौती बाँकी नै रहेको छ।
Shares
प्रतिक्रिया