छापा खबर


कम्युनिष्टहरुको नक्कल गर्ने अवस्थामा पुग्यो कांग्रेस

कम्युनिष्टहरुको नक्कल गर्ने अवस्थामा पुग्यो कांग्रेस

नेपालखबर
काठमाडौँ, असार १९

मुलुकमा प्रजातान्त्रिक समाजवाद स्थापनाको कार्यनीतिसहित ७५ वर्षअघि कांग्रेसको स्थापना भएको हो। यस अवधिमा मुलुकको राजनीतिमात्र होइन, नेपाली कांग्रेसकै यात्रामा पनि निकै आरोहअवरोह आएको छ। 

एमालेसहितका अन्य दललाई बहुदलीय प्रतिस्पर्धामा सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्ने कांग्रेस सांगठनिक रूपमा भने उनीहरूको नक्कल गरिरहेको खबर आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन्।

आफूलाई ‘मास बेस’ पार्टी भन्ने कांग्रेस ०४६ पछि कम्युनिस्ट पार्टीले जस्तै सदस्यता भएकै आधारमा नेतृत्व चयन गर्ने प्रणाली विकास गरेको हो। ‘मास बेस’ पार्टीको छविबाट बिस्तारै विचलित कांग्रेस ‘क्याडर बेस’ पार्टीमा रूपान्तरण हुँदै गएको छ।

१३औं महाधिवेशनमा कायम रहेका क्रियाशील सदस्यको सतप्रतिशत नयाँ सदस्यता बाँडेर कांग्रेसले अहिले ८ लाख ३० हजार क्रियाशील सदस्य पुर्‍याएको छ। त्यसमै दंग कांग्रेसको संगठनात्मक स्वरूपमा निरन्तर बदलाव आएको छ। आफ्नो पार्टी संगठनलाई नेकपा एमालेसहित अन्य पार्टीले जस्तो क्याडर बेस बनाउन नसकेको कांग्रेसले मास बेस पार्टीको अवधारणालाई पनि आत्मसात् गर्न सकेको छैन। कांग्रेसको सांगठनिक संरचना र सदस्यतालाई लिएर धेरैले भन्न थालेका छन्, ‘यो (कांग्रेस) पार्टी हाँस न कौवाजस्तो भयो।’  

कम्युनिस्ट नीति र सिद्धान्तबाट प्रभावित नेकपा एमाले, माओवादी केन्द्रसहितका दलले गैरकम्युनिस्ट र लोकतान्त्रिक एवं समाजवादी नीति र सांगठनिक स्वरूपलाई आत्मसात् गर्न थालेका बेला कांग्रेस भने कम्युनिस्ट मोडललाई पछ्याउन अग्रसर भएको हो। नेताले चाहेको व्यक्तिले पार्टीको क्रियाशील सदस्यता पाउने र तिनै क्रियाशील सदस्यले पार्टीको तलदेखि माथिसम्मको नेतृत्व चयन गर्ने कांग्रेसको व्यवस्था छ। 

‘कांग्रेसको दर्शन खुला, स्वतन्त्र, आफ्नो विवेकले निर्णय लिन पाउने, व्यक्तिको चाहना मुखरित हुन पाउने र व्यक्तिलाई छनोटको अधिकार हुने भन्ने हो,’ सदस्यता छानबिन समिति सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘अहिले हामीले बनाएको क्रियाशील सदस्यता कम्युनिस्टहरूले संगठित सदस्य बनाएजस्तो हो। त्यस्ता सदस्य पनि संगठन होइन, गुट र व्यक्तिप्रति उत्तरदायी छन्।’  

समाजवादी चिन्तन र सिद्धान्त छाडेर नीतिभन्दा नेतामुखी भएको आरोप कांग्रेसमाथि लाग्दै आएका बेला केन्द्रीय सदस्य पौडेलले आफू नेता बन्न सदस्य बनाउने प्रचलन बढेको टिप्पणी गरे। एउटा चरणमा कसैलाई भोट हालिदिएपछि आफ्नो जिम्मेवारी सकिएको क्रियाशील सदस्यहरूले ठान्ने गरेको उनको बुझाइ छ। 

आफैले भोटर बनाएर तिनै भोटरबाट निर्वाचित हुने कुरा कति स्वाभाविक भन्ने प्रश्न गर्दै पौडेलले कांग्रेसको अधिवेशन सकिएपछि पार्टीको क्रियाशील सदस्यता खुला गर्नुपर्ने र पार्टीले तोकेको सर्त पूरा गर्ने जोकोहीले पनि सदस्यता लिन सक्ने व्यवस्था मिलाउनुपर्ने बताए।  

आफूलाई मास बेस पार्टी भन्ने कांग्रेसले ०४६ पछि कम्युनिस्ट पार्टीले जस्तै सदस्यता भएकै आधारमा पार्टी नेतृत्व चयन गर्ने प्रणाली विकास गर्दै आएको छ। त्यसअघि चौवन्नी सदस्य भनेर दिने गरिए पनि ०४६ पछि क्रियाशील सदस्य हुँदै महाधिवेशन, महासमितिमार्फत नेतृत्व चयनको परम्परा सुरु भएको हो। 

त्यतिमात्र होइन, ०४६ पछि पेसागत राजनीतिमा हात हालेको कांग्रेसले २०६२–०६३ को आन्दोलनपछि जातिय संघसंगठन खोल्न सुरुवात गरेर जातीय राजनीतिलाई पनि बढावा दिएको छ। 

विधानमा जातीय र क्षेत्रीय कुरा नभएका बेला पनि व्यवहारमा सबै जातजाति र समुदायको प्रतिनिधित्व र सहभागितालाई सुनिश्चित गर्दै डिबी परियार, लाक्पा छिरिङ शेर्पासहितका नेतालाई पार्टी सदस्यमा राखेको कांग्रेस नेताहरू बताउँछन्। तर अहिले विधानमा व्यवस्था भएपनि कार्यान्वयनमा समस्या रहेको उनीहरूकै गुनासो छ।

असार १९, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .