‘संघर्ष हो जीवन
जीवन संघर्ष हो
जीवनदेखि थाकेर बस्छु नभन
जीवनदेखि हारेर मर्छु नभन’
पच्चीस वर्ष पहिले पाँचथरको फाल्गुनन्द गाउँपालिका-५, कोप्चेमा जन्मिएकी इन्द्रकला लिम्बु (निक्की नेम्बाङ) को जीवनमा मञ्जुलले गाएको उक्त गीत ठ्याक्कै मेल खान्छ।
सानै उमेरमा पितृवियोगको पीडा भोगेर दु:खको पहाड छिचोलेकी निक्कीको जिन्दगी आँधीबेहरीको कथाजस्तै छ। मुढाले बन्चरोको प्रहार सहेझैँ निक्कीले एकपछि अर्को विपत्तिको सामना गरेकी छन्। नियतिले उनलाई एकपछि अर्को बज्रपात थप्दै गयो।
आमालाई पनि निष्ठुरी दैवले चुँडेर लग्यो। मान्छेको जिन्दगीमा यो भन्दा ठूलो पीडा अरू के हुन सक्छ र! त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ। तर पनि उनले जीवनदेखि थाकेर बस्छु भनिनन्, जीवनदेखि हारेर मर्छु भनिनन्। बरु परिस्थितिसँग पौठेजोरी खेल्दै शोकलाई शक्तिमा बदलिन्।
छिनोका हजारौँ चोटपश्चात् तयार भएको सुन्दर मूर्तिझैँ निक्की अहिले एक सफल खेलाडीका रूपमा स्थापित छिन्। त्यो पनि एक खेलमा हैन, रोड म्याराथन, ट्रैल रनिङ र डुआथ्लन (रनिङ प्लस साइक्लिङ), माउन्टेन बाइक रन (अफरोड साइक्लिङ), लेजर रन (दौड प्लस सुटिङ) जस्ता धेरैवटा साहसिक खेलमा।

राष्ट्रिय च्याम्पियनसमेत बनिसकेकी निक्कीले साफ र एसियन च्याम्पियसिपजस्ता प्रतिष्ठित खेलमा सहभागिता जनाइसकेकी छन्। उनको विजय यात्रा जारी छ। समग्रमा उनी युवा पुस्ताको प्रेरणा बनेकी छन्।
पहिलो प्रतियोगितामै प्रथम
पाँचथरमा ५ कक्षा पास गरेपछि धरान झरेकी निक्की यहाँ शिक्षा निकेतन माविमा पढ्न थालिन्। सानैदेखि साहसी, फुर्तिलो र जोसिलो स्वभावकी उनी खेलकुदमा रुचि राख्थिन्। फुटबल राम्रो खेल्ने उनी स्कुलमा यसका लागि पूर्वाधार पर्याप्त नभएकाले विकल्पको खोजीमा थिइन्।
यसै सिलसिलामा करिब १० वर्षअगाडि धरानमा आयोजित ‘धरान रन’ ८ किमितर्फ यू-१६ को प्रतिनिधित्व गर्दै पहिलोपटक प्रतियोगितामा भाग लिइन्। त्यतिबेला उनी मात्र १५ वर्षकी थिइन्।
त्यो क्षण स्मरण गर्दै उनले भनिन्, ‘खासमा बिनातयारी नै स्वास्थ्य र रमाइलोका लागि दौडमा भाग लिएकी थिएँ, पहिलो भएछु। जितसँगै ५ हजार पनि प्राप्त गरेँ। त्यो मेरो जीवनको पहिलो कमाइ थियो। त्यतिबेला त अलि सानै थिएँ, जितको उति सारो स्वाद पाइनँ, सबैले वाहवाह गरे, ठूलै काम गरेछु, संसारै जितेछु कि के हो जस्तो पनि लाग्यो। त्यसपछी धेरैले चिन्न थाले। त्यो नै मेरो खेल यात्राको टर्निङ प्वइन्ट थियो। त्यो नै मेरो खेल जीवनको कोसेढुंगा साबित भयो। अहिले मलाई त्यो क्षण विशेष लाग्छ। पहिलो भन्ने शब्द निकै महत्त्वपूर्ण हुँदोरहेछ मान्छेको जीवनमा। जस्तो: पहिलो प्रेम, पहिलो कमाइ, पहिलो जित, अझ युद्ध र खेलमा त पहिलो शब्दले विशेष अर्थ लाग्छ।’
उनी आफूलाई "धरान रन"को उत्पादन मान्छिन्।
एकपछि अर्को सफलता

धरान रनको जितबाट उत्साहित निक्कीको खेल यात्राले थप उचाइँ लिँदै गयो। करिब १० वर्षको अवधिमा देशविदेश पुग्दै उनले सयौँ मेडल तथा ट्रफी जितिसकेकी छन्। साहसिक खेल मन पराउने निक्किले सन् २०१९ मा जोमसोममा अल्टिच्युड ट्रैल एड्भेन्चरअन्तर्गत रनिङ, साइक्लिङ र रक क्लाइम्बिङ विधामा प्रथम स्थान हासिल गरिन्।
सोही वर्ष पोखरामा आयोजित दक्षिण एसियाली खेलमा नेपालको प्रतिनिधित्व गर्दै डुआथलनमा चौथो भइन्। भन्छिन्, ‘त्यो खेल मेरा लागि मात्रै नभएर देशकै लागि महत्त्वपूर्ण खेल थियो। बन्द प्रशिक्षणमा रहे पनि खेल्न पाउने मौका ५०/५० थियो। उक्त प्रतियोगितामा सहभागी हुन क्वालिफाइड खेल खेल्नुपर्थ्यो। हामी २ जना थियौँ। हामीबीच भिडन्त भयो। मैले जितेँ। मलाई त त्यो क्वालिफाइड म्याच जित्दा उपाधि नै जिते जस्तो लाग्यो। अनि सहभागी हुने मौका पाएँ। त्यो क्षण म कहिल्यै भुल्दिनँ।’
सोही साल पोखरामा साइकल रेसमा प्रथम भइन्। त्यसको केही समयपछि चीनको कुन्मिङमा आयोजित ५० किलोमिटर ट्रेल रेसमा टप फाइभमा परिन्। त्यसपछि कोरोना महामारीले सबै क्षेत्र ठप्प भयो।
कोरोना कहरपछि कमब्याक

कोरोना कहरले खेल क्षेत्र दुई वर्ष थलिए पनि स्वअभ्यासलाई निरन्तरता दिइन्। २०२१ मा ५० किमि लामो भोजपुर ट्रेल रेस प्रतियोगिताको विजेता बनेर सानदार कमब्याक गरिन्। त्यसैगरी सोही वर्ष सिक्किममा आयोजना भएको साइकल दौडमा पनि जित हासिल गरिन्।
यसपछि २०२३ मा पोखरामा ५० किमि क्रस कन्ट्री दौडमा विजेता बनिन्। सोही साल पोखरामै आयोजित एसियन च्याम्पियनसिपमा डुआथलनतर्फ प्रथम र पोखरामै ९औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डुआथलनमा स्वर्ण पदक जितेर इतिहास रचिन्।
निक्कीले ६० किलोमिटर दूरीको सिन्धुपाल्चोक अल्ट्रा ट्रेलरेस , सिक्किममा आयोजित एकता दिवस ४० किलोमिटर दौड, सिक्किममै आयोजित एमटीबी साइकल रेसलगायत कैयौँ प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी छन्। उनी कोरियामा आयोजित लेजर रन (दौड प्लस सुटिङ) मा समेत सहभागी भइसकेकी छन्।
‘सानोतिनो प्रतियोगिता त कति जितियो कति, हिसाबकिताब नै राख्न भ्याएको छैन’, ठट्यौली भाषामा निक्किले भनिन्।
हङकङमा दौडने धोको

दौडकै सिलसिलामा भारत, चीन, कोरियालगायत देशमा पुगिसकेकी निक्किलाई अब हङकङमा दौडने धोको छ।
नेपालमा नाम चलेका पुराना तथा नयाँ धेरै खेलाडीले हङकङमा दौडिसकेका छन्। त्यति मात्र हैन, नेपाली संगीतकर्मी तथा खेलाडीका लागि हङकङ ‘लक्की चार्म’का रूपमा लिने गरिन्छ।
निक्कीको चाहना के छ?
नेपालखबरको प्रश्नमा उनले भनिन्, "मलाई हङकङमा दौडने ठूलो धोको छ, आफूले आफैँलाई च्यालेन्ज गर्न मन छ। मैले एकपटक हङकङका लागि प्रयास पनि गरेकी थिएँ तर मौका पाउन सकिएन। अझै आशा मारेको छैन, मौकाको पर्खाइमा छु।"
हङकङलाई ट्रैल रनिङका लागि उर्वर भूमि मानिन्छ। यहाँ नेपाली ट्रैल रनरहरूले थुप्रै कीर्तिमान कायम गरेका छन्।
पूर्वी नेपाललाई पर्यटकीय गन्तव्य बनाउन जोड
मान्छे प्रकृतिभन्दा पर रहन नसक्ने मान्यता बोकेकी निक्की प्रकृति, वातावरण र पर्यावरण जोगाउँदै पूर्वी नेपाललाई पर्यटकीय गन्तव्य बनाउन हरेकले आआफ्नो हैसियतअनुसार योगदान दिनुपर्ने बताउँछिन।
‘सबैले पोखरा, फेवाताल, माछापुच्छ्रेको मात्रै चर्चा गर्छन्, विदेशीहरूमा पनि त्यही छाप परिसक्यो। त्यतिले मात्र नेपालको चिनारी काफी हुँदैन, नेपालका हरेक स्थान अद्वितीय र सुन्दर छन्। पूर्वमा धेरै सुन्दर ठाउँ छन्, त्यसको प्रवर्द्धन र अन्वेषण गर्न जरुरी छ’, उनले भनिन्।
सरकार, सरोकारवाला, नागरिक सबै मिलेर काम गरे पूर्वी नेपाललाई पर्यटकीय गन्तव्य बनाउन सकिने उनको ठहर छ।
भविष्यमा प्रशिक्षक बन्ने

प्लस टुसम्मको पढाइ सकेकी निक्की हाललाई खेलमै केन्द्रित हुने बताउँछिन् तर खेलाडीकै रूपमा सधैँ रहिरहन सकिन्न भन्ने सत्य निक्कीले राम्ररी बुझेकी छन्।
भन्छिन्, ‘भर्खरै खेलमा आएका नयाँ खेलाडीहरू बाटो अल्मलिएका बटुवाजस्तै हुन्, उनीहरूमा प्राविधिक, शारीरिक, मानसिक ज्ञान त्यति हुँदैन, उनीहरूलाई बाटो देखाउने, खेलको प्राविधिक ज्ञान दिने, हौसला दिने प्रशिक्षक नै हुन्। म स्वयं पनि त्यही स्थितिबाट गुज्रेर आएकी हुँ। अहिले सफलता र अनुभव बटुलिरहेकी छु। यही आफूले सिकेका ज्ञान र अनुभव नयाँ खेलाडीमा बाँड्न चाहन्छु।’
आफूलाई नयाँ भाइबहिनीहरूले यो खेल कसरी खेल्न सकिन्छ, के के गर्नुपर्छ भनेर जिज्ञासा राख्न गरेको कुरा पनि निक्कीले सुनाइन्।
सफलता एक दिनमै प्राप्त हुने कुरा होइन। यो त शारीरिक, मानसिक र रणनीतिक कुराहरूको समिश्रण हो। जहाँ कठिन परिश्रम, अनुशासन, सहनशीलता, उत्साह, प्रेरणा, आत्मविश्वास, लक्ष्य निर्धारण, प्रतिस्पर्धात्मक भावना आदि चाहिन्छ।

निक्की सफलताको सूत्र यसैलाई मान्छिन्। उनी हाल यही वर्षको मे महिनामा सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलमा उपाधि हात पार्ने लक्ष्यका साथ तयारीमा जुटेकी छन्।
जिन्दगीमा दु:ख, पीडा त कसलाई हुँदैन र! त्यही पीडालाई इन्धनमा परिवर्तन गर्दै जिन्दगीको गाडी हाँक्नुपर्छ। हरेक कठिनाइभित्र अवसर पनि लुकेको हुन्छ। नकारात्मकतालाई सकारात्मकतामा बदल्नु पर्छ। संघर्ष त जीवनको एक हिस्सा हो। आज त्यसको सामना गर्यौँ भने भोलि त्यसले हामीलाई थप बलियो, बुद्धिमानी र परिपक्व बनाउँछ। निक्किलाई परिस्थितिले यस्तै पाठ सिकायो। निक्कीलाई थप सफालताका लागि हार्दिक शुभकामना!
निक्कीका थप तस्बिर-


Shares

प्रतिक्रिया