हङकङलाई कर्मथलो बनाएका टीबी याक्खाले ‘जेप्पा’ नामक म्युजिक भिडिओ सार्वजनिक गरेका छन्। याक्खा भाषामा जेप्पाको अर्थ वाचा/कसम हो।
भिडिओ गत आइतबार काठमाडौँस्थित मन्डला थिएटरमा ओएसआर डिजिटल युट्युब च्यानलमार्फत वर्ल्ड प्रिमियर शो गरिएको हो।
हेनसेन याक्खाले लेखेको उक्त गीतमा राजेश पायल राई र गीता सिंहक लिम्बूको स्वर छ भने साहित्यकार राजन मुकारुङको संगीत छ। विषम आचार्यको एरेन्ज रहेको उक्त गीतको मिक्स मास्टरिङ मुस्कान मुकारुङको छ। सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतका रेकडिस्ट योगेन मुकारुङ हुन्।
भोगेन्द्र याम्फूको छायांकन गरेको भिडिओलाई सनम याक्खाले निर्देशन र सम्पादन गरेका हुन्। पिक्सेल इन्टरटेन्मेन्ट तथा पूर्वेली भिजनको ब्यानरमा निर्माण भएको उक्त भिडिओ निर्माता स्वयं टीबी याक्खा हुन्।
भिडिओमा टीबी याक्खा, अनुसा राई, हेनसेन याक्खा, जीवन याक्खा आदिको अभिनय छ। भिडिओ पूर्वी सङ्खुवासभा र तेह्रथुमको सिमानामा रहेको तिनजुरेको मनोरम स्थानमा छायांकन गरिएको हो।
भिडिओमा नेपालका पूर्वी जिल्लाहरुमा बसोबास गरिरहेका याक्खा जातिको सांस्कृतिक पहिचान झल्कने ‘फोप्मा’ अर्थात् बर्को वा पछ्याैरीको महत्त्व दर्शाउँदै मायाप्रेमको कथावस्तु छ। पूर्वी लोकलयमा आधारित गीतमार्फत याक्खा समुदायको सांस्कृतिक पहिचान उजागर गरिएको छ।
खेल, साहित्य, पत्रकारिता र समाजसेवामा समेत पहिचान बनाएका टीबीले सांस्कृतिक पहिचान झल्कने भिडिओ निर्माणलाई भविष्यमा पनि निरन्तरता दिने नेपालखबरलाई बताए।
सबै कुरा व्यावसायिक भएपछि सांस्कृतिक सम्पदाहरु बिस्तारै छायामा परेर लोप हुने अवस्था आउन थालेकाले संस्कृति संरक्षणका लागि भिडिओमार्फत अभियान सुरु गरेको उनको भनाइ छ।
टीबी १५ वर्षदेखि हङकङमा बसोबास गरिरहेका छन्।
प्रतिक्रिया