हङकङमा आसन र भाषणबाट परै रहेर व्यवसायमा रम्दै जम्दै यी नेपाली

हङकङमा आसन र भाषणबाट परै रहेर व्यवसायमा रम्दै जम्दै यी नेपाली

हङकङको डिस्कभरी बेमा वाईबी राई गल्फर र अंकल रस कफीसप सञ्चालकका रुपमा चिनिन्छन्


कमल पौड्याल
फागुन २९, २०७९ सोमबार १८:१, हङकङ

बुढापाकाले त्यसैले भनेका रहेछन् बाँचियो भने देख्न पाइन्छ, समय बलवान हुन्छ भनेर। समय चक्र पनि अचम्म छ। कुनै समय मूलभूमि चीनबाट हङकङमा धेरै पर्यटकहरु आएर असुविधा भएको भन्दै स्थानीयहरुले चिम सा चुइ हार्वर सिटी अगाडि प्रदर्शन समेत गरेका थिए। अझ केही पर्यटकहरूलाई अभद्र व्यवहार गरिएपछि प्रहरीले नै हस्तक्षेप गरेको मुख्य समाचार बनेको थियो त्यो बेला। बेलायतले एक सय छपन्न वर्ष शासन गरेको हङकङभन्दा पाँच दशकमै अग्रिम विकास गरेको मूलभूमिका बासिन्दाहरुको लवाइखवाइ र महंगा विलासी वस्तु किन्ने क्षमता देखेर हङकङ निवासीहरुले आफ्नो इर्ष्यालाई घुमाउरो तरिकाले अभिव्यक्त गरेका हुन् भनेर सामाजिक विश्लेषकहरु अथ्र्याउँथे त्यसबेला। 

यस्तै मकाउ–जुहाइ–हङकङ जोडने ५५ किमि सामुद्रिक पुल र वेस्ट काउलुन ग्वाङझाउ द्रुत रेलमार्गबाट आएका अत्याधिक यात्रु सम्हाल्न नसके पछि कोटा सिस्टम लागू गर्नु परेको थियो। 

तर गएको तीन वर्ष हङकङका यी सबै सीमानाका त बन्द भए नै, यही समयको सेरोफेरोमा संसारका कुनै पनि देशबाट आउने यात्रुावाहक हवाईजहाजमा ८/१० हाराहारी कोभिड संक्रमित देखिएमा करिब अर्को २/३ हप्ता त्यो वायुसेवाले हङकङ अवतरण गर्ने अनुमति पाउँदैनथे। 

तीन वर्षपछिको उही समयमा अहिले भने पर्यटक भित्र्याउन हङकङ सरकार भरमग्दुर प्रयासरत छ। हङकङ र मूलभूमिबीचको सीमा करिब ३ वर्षपछि खोलिएको छ हालसालै। 

हङकङ सरकार, एअरपोर्ट अथोरिटी, क्याथे प्यासिफिक र अन्य स्थानीय वायुसेवाहरुले हालसालै ‘हेलो हङकङ’ योजना अन्तर्गत करिब पाँच लाख हवाई टिकट हङकङ आउन चाहनेहरुलाई निशुल्क वितरण लगायत अन्य धेरै आकर्षक योजनाहरु अघि सारेका छन्। कार्यकारी प्रमुख जोन लीले व्यवसायी र अर्थविदहरुको दलबल सहित मध्यपूर्व भ्रमण पुरा मात्र गरेनन्, विदेशी लगानीकर्ता र पर्यटकहरुका लागि मूलभूमि चीनको ढोका हङकङ कोभिड महामारीपछि पूर्ण तयारीसाथ सुरक्षित र अब्बल रहेको सन्देश दिएर आए हालसालै। 

उनै जोन लीले फेब्रुअरी २८ बिहान एउटा विशेष सम्बोधन मार्फत करिब ९५० दिनपछि यही मार्च १ तारिखबाट हङकङमा अनिवार्य मास्क म्यान्डेट सहित कोभिड रोग सम्बन्धी अन्य सबै नियमहरु अन्त्य भएको घोषणा गरेपछि हङकङबासीले एउटा धेरै ठूलो विजयोत्सव जस्तै महसुस गरेका छन्। यो खबरसँगै हङकङको वित्तीय बजार र प्रोपर्टी मार्केट उकालो लाग्ने आशामा छन् लगानीकर्ताहरु। बुझ्ने र मनन गर्नेहरुलाई कोभिडले एउटा ठूलो पाठ सिकाएर संसारबाटै करिबकरिब बिदा भएको छ अहिलेलाई। 

यसपालिको बजेट भाषणमा अर्थसचिव पल चेनले हङकङका आम नागरिकलाई पहिलापहिला दिइँदै आएको १० हजार डलरबाट घटाएर जनही ५ हजार डलर यसपालि पनि बाँड्ने घोषणा सहित निजी र व्यावसायिक करमा पुनः भारी छुटको घोषणा गरेका छन्। 

प्रोपर्टी बजार स्थिर बनाउन पहिलो पटक घर खरिदकर्तालाई सरकारी रजिस्ट्रेसन दस्तुरमा ३० प्रतिशत छुट दिइएको छ भने सबै घर मालिक भैसकेकाहरुले त्रैमासिक रुपमा तिर्नुपर्ने घरको करमा पहिलादेखि दिइँदै आएको छुट पुनः यथावत राखेका छन्। 

सार्वजनिक यातायातमा दिइँदै आएको सहुलियत छुट आगामी अक्टोबरसम्म लम्ब्याइएको छ। 

बसोबासको लागि संसारकै महङ्गो सहरमध्ये एक हङकङमा निकै चुनौतीपूर्ण रुपमा रहेको घरको समस्या हल गर्न करिब ६ वटा क्षेत्रमा बोलकबोल माध्यमबाट डेभ्लपरहरुलाई जग्गाका प्लट बिक्री गरिने योजना अघि सारिएको छ। जसमध्येको चुनवानमा बनाइने आवास भवन चाहिँ घर नभएका वा पहिलो खरिदकर्ताले मात्र किन्न सक्नेछन्। 

यी त भए हङकङ सहरका पछिल्ला गतिविधिका मोटामोटी कुरा। यही हङकङलाई कर्मथलो बनाएका ३५–४० हजार हङकङे नेपाली पनि यही सहरभित्र संघर्ष गर्दै आफू र परिवारको भविष्य कोर्दै छन्। पछिल्लो लेखमा रेस्टुरेन्ट र बार व्यवसायमा कामदारबाट मालिक बन्दै गरेका पुराना र नयाँ पुस्ताहरुबारे चर्चा गरियो। 

यो लेखमा नेपाली उद्यमीहरुका किराना पसल, सैलुन, बुटिक, फेसन, ज्वेलरी, गेस्ट हाउस, कफी सप आदिबारे चर्चा गरिनेछ भने बाँकी निर्माण, सुरक्षा, रेमिट्यान्स, फाइनान्स, ट्राभल टुर एजेन्सी लगायत नेपाली उद्यमीहरुका चर्चा क्रमशः पछि गरिनेछ।

हुन त संसारभर छरिएर रहेका नेपालीमध्ये हङकङका नेपालीहरु स्थानीय चिनियाँ सरह समान हक अधिकार उपभोग गर्नेदेखि सबैभन्दा बढी अर्थोपार्जन गर्नेमा पर्छन्। हङकङको लेबर डिपार्टमेन्टलाई सबै कामदारहरुको अभिभावक भन्ने उपनाम दिइन्छ। म खाली छु है भनेर उभिने मेहनती र सीप भएका नेपालीहरु वा कसैले पनि करिब १८/२० हजार हङकङ डलर (नेरु करिब ३ लाख ५० हजारजति) कमाउनु समान्य कुरा हो। 

अझ निर्माण कम्पनीमा दैनिक १२/१४ घण्टा मेहनत गर्नेहरुले त सानोतिनो व्यवसाय गर्नेहरु बराबरी वा धेरै नै कमाउँछन्। 

यसरी मनग्गे आम्दानी जागिरबाटै हुने भएको कारणले पनि व्यवसायमा नेपाली समुदाय विस्तारै मात्रै अघि बढेको बताउँछन् हङकङका पहिलो हस्तकला युवा व्यवसायी आकाश बन्जारा। 

सुरु गरौँ, ग्रोसरी पसलबाट। हङकङमा रहेका नेपालीहरुको घना आवादी क्षेत्रहरुमा पाइलैपिच्छे नेपाली पसलहरु देख्न सकिन्छ। यसको इतिहास केलाउने हो भने हङकङका पहिलो नेपाली रेस्टुरेन्ट व्यवसायी त्रिलोक विश्र्वकर्माले नै सन् ९० को दशकको मध्यतिर कामतिन र वानचाइमा नमस्ते सुपर मार्केट खोलेर यसको श्री गणेश गरेका थिए। जुन अहिले अस्तित्वमा छैन। नेपालकै गाउँठाउँ, जिल्ला, धार्मिक आस्था, जाति विशेष वा आफ्नै नाम राखेर खोलिएका यी अनगिन्ती पसलहरुले दैनिक जीवन निर्वाह गरे पनि आ–आफैँमा व्यावसायिक प्रतिस्पर्धा भने कडै देखिन्छ। सरसफाइ साजसज्जा भएका स्टोरहरु पनि न्यून संख्यामा छन्, जसले नेपालीहरु मात्र नभएर स्थानीय चिनियाँहरुलाई पनि आकर्षित गर्छन्। जे होस् यो व्यवसायलाई नेपाली उपभोक्ताहरुले वर्षौंदेखि चलिआएको भारतीय र पाकिस्तानीहरुकोमा जानैपर्ने बाध्यताको अन्त्य गरेको छ र यसलाई नेपाली समुदायको स्वरोजगारको एउटा प्रारम्भिक खुड्किलो वा व्यावसायिक क ख गको रुपमा हेर्न सकिन्छ। 

हङकङको स्थानीय चर्चित सुपरमार्केटहरुभन्दा पहिल्यै अनलाइन ग्रोसरीको अवधारणा ल्याउने सयपत्री स्टोरका शशिमदन राई र पछि करी एक्सप्रेस, केनो इन्टरनेसनल फुड एन्ड बेभरेज र ए वान सुपरमार्केट जस्ता ठूला स्टोरहरुले नेपाली मात्र नभएर स्थानीय चिनियाँहरुलाई पनि अन्तर्राष्ट्रिय स्तरका विभिन्न ब्रान्डेड अल्कोहलदेखि मिनरल वाटरसम्मका पेय तथा खाद्य पदार्थहरु होलसेलमा सप्लाइ गर्ने हैसियत राख्छन् आजकल। जसमध्येको ए वान सुपरमार्केट सम्पत्तिको स्वामित्व सहितको हङकङको पहिलो नेपाली होलसेल सुपर मार्केट हो। हङकङका धेरै पुराना स्टोरहरुमध्ये पशुपति स्टोर जोर्डन र युनलुङ दुवैले आफ्नै प्रोपर्टीको स्वामित्व सहितको स्थानबाट व्यवसाय चलाएको दशकौँ भएको छ। 

ग्रोसरीपछि खोलिएका जोर्डन युनलुङका भीआईपी बुचरी सप अर्थात मासु पसलले पनि हङकङ सरकारको खाद्य तथा वातावरण सरसफाइ विभागको निकै कडीकडाउ प्रक्रिया पुर्याएर नेपाली समुदायमा राम्रो व्यापार गरेका छन्। 

सैलुनको सन्दर्भ आउँदा म आफ्नै अतीतमा हराएँ केहीबेर। सन् ९० को दशकताका हङकङ आउँदाको मासिक तलब ६ हज्जार हङकङ डलरको नेपाली रुपैयाँ लगभग ४५ हजार रुपैयाँ पर्न आउथ्यो त्यो बेलाको सटही दरमा। बीस रुपैयाँमा कपाल काट्दाकाट्दै देश छोडेर आएको म एकैचोटि पचास हङकङ डलर लाग्थ्यो कपाल काटेको चिम सा चुइको मेरिनार्स क्लबमा। त्यो रकम त्यसबेलाको सबैभन्दा सस्तो थियोे। तर पनि राम्रो अंग्रेजी नबुझ्ने ती स्थानीय चिनियाँ नाइहरु कहिले ठिकै राम्रो काट्थे भने कहिले नराम्रोसँग बिगारिदिन्थे। 

पछि एकजना मित्रले अर्को सैलुन पत्ता लगाए। मुख्य हङकङ द्वीपमा पर्ने कजवे बेको पेर्सिभल स्ट्रिटको पहिलो तल्लाको सैलुनकी मालिक्नी स्थानीय चिनियाँ भए पनि कलकत्तामा जन्मेहुर्केकी भएकीले धाराप्रवाह हिन्दी बोल्दी रहिछन्। 

अनि उनले आफ्ना स्थानीय नाइहरुलाई हाम्रो आग्रह बताउँथिन् र उनीहरु त्यसैगरी काटिदिन्थे। 

पचास हङकङ डलरमै भनेजस्तो कपाल काटिए पनि भूमिगत रेलबाट आउजाउ गर्दा अर्को २० डलर लाग्थ्यो। त्यही समयकै सेरोफेरोमा चिम सा चुइको मिराडोर म्यान्सनको पहिलो तल्लामा पाकिस्तानी मूलका एकजनाले सैलुन खोले। ४० हङकङ डलरमा कपाल काटिने यो सैलुन गज्जबले चल्यो। त्यसपछि अन्य पाकिस्तानी र भारतीय मूलकाहरुले नजिकैको चुङकिङ म्यानसनमा क्रमशः सैलुनहरु थप्दै लागे। 

यसरी पुरुष सैलुनहरु सर्वसुलभ भए पनि महिलाहरुको लागि भने समस्या थियो। 

सन् २००० पछि नेपाली महिला उद्यमीहरुले यो व्यवसायमा हात हाले। 

हङकङमा नेपालीहरुको राजधानी भनिने जोर्डनमा मात्रै ८/१० वटा नेपालीहरुकै स्वामित्वको सैलुनहरु छन् आजकल। 

तीमध्येका पुरुषहरूको लागि एउटा र महिलाहरुको लागि दुई वटा इमेज सैलुनमा नेपाली मात्रै नभएर भाषा र सेवा सुविधाको कारणले अन्य दक्षिण एसियाली मूलका महिला र पुरुषहरु समेत आउँछन्। दर्जनौं नेपाली र दक्षिण एसियाली मूलकालाई रोजगारी दिएकी सैलुनकी प्रबन्धक इन्द्रा गुरुङले नयाँ पुस्ताका नेपाली युवायुवतीलार्ई प्रशिक्षण समेत दिन थालेको दशकौँ भएको छ।

त्यही समयको सेरोफेरोमा खोलिएको जोर्डन सांघाइ स्ट्रिटको सनसाइन सैलुन चिनियाँ नाइ समेत राखेर स्थानीय चिनियाँ ग्राहक समेत भित्र्याउने पहिलो नेपाली सैलुनमा पर्छ। अनिता गुरुङ–संगीता गुरुङ दिदीबहिनीको यही सैलुनमा पटकपटक हङकङ आउँदा चर्चित अभिनेता राजेश हमाल, प्रियङ्का कार्की, केकी अधिकारी, नम्रता श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला लगायत अरु धेरै नेपाली सेलेब्रिटीहरुले शृंगारपटारको सेवा लिएका छन्।

यो सैलुनले स्वदेशको लाजिम्पाटमा समेत सनसाइन काठमाडौं शाखा सञ्चालन गरेको चार वर्ष भैसकेको छ।

यी उल्लेख्य सैलुनका प्रबन्धक गुरुङ चेलीहरु सफल व्यवसायी मात्र नभएर हङकङको नेपाली समाज सेवामा पनि उल्लेख्य आर्थिक मनकारी दाताहरु मध्येमा गनिन्छन्। सामुदायिक नेपाली मूललाई लक्षित सेवा प्रदान गर्ने सबै सैलुनहरुको नालिबेली पस्कँदा लेख लामो हुनसक्छ। 

बुटिक वा फेसनको सन्दर्भमा स्वदेशका विभिन्न चाडपर्व र सामाजिक, पारिवारिक उत्सवहरुमा नेपालदेखि नै पोसाक मगाउनु पथ्र्यो पहिलापहिला। खासगरी महिलाहरु भारतीय पहिरन पसलहरुमा निर्भर हुन्थे। कुनै समयमा भारतीय व्यवसायीहरुले चुङकिङ म्यान्सनको पहिलो तल्लामा रहेको आफ्नै स्वामित्वको पसललाई नै ‘नेपाल सारी’ भनेर नामाकरण गर्नुले नेपाली समुदाय व्यापारिक हिसाबले उनीहरुका लागि कति महत्त्वपूर्ण रहेछ भन्ने छर्लङ्ग हुन्छ। 

अहिले आएर भने नेपाली युवा उद्यमीहरु खासगरी नयाँ पुस्ताका महिलाहरुले नै दर्जनौँ बुटिकहरु सञ्चालनमा ल्याइसकेका छन्। कोभिडपछि सुस्ताएको नेपाली समुदायकै कोरियोग्राफरहरुद्वारा निर्देशित सेन्स अफ क्लिकजस्ता आधुनिक फेसन बुटिकका शोहरु पुनः जुर्मुराउन थालेका छन्। 

ज्वेलरी सपको प्रसंगमा हङकङको चर्चित सुन ब्रिटिस गोर्खा र उनीहरुको परिवारहरुले मात्र उपभोग गर्न पाउँथे इतिहासको कुनै कालखण्डमा। सन् ८० को दशकपछि नेपाली व्यापारीहरु आउजाउ गर्न थालेपछि फैलियो यो व्यापार। व्यारेकभित्र सुनका गहना बनाउने बाँडा वा सुनारहरुले अर्डर अनुसार हङकङ आउने व्यापारी वा पर्यटकहरुलाई पनि अर्डर अनुसारका गहना बनाएर दिन्थे सुटुक्क। 

सन् ९७ पछि ती ब्यारेकसँगै बाँडा सुनारहरुले पनि हङकङ छाडेपछि नेपाली समुदाय सुनका गहना किन्न स्थानीय चिनियाँ वा भारतीयहरुकोमा जाने गर्थे। तर अहिले सबै नेपाली समुदायलक्षित नेपालीहरुको स्वामित्वकै आधा दर्जन जति सुनका गहना पसलहरुले नै नेपाली समुदायको माग धानेका छन्। आजकल त स्थानीय चिनियाँहरुले समेत गहना पसलको मुख्य द्वारमा नेपाली भाषामा ‘नमस्कार’, ‘स्वागत छ’ लेख्नेदेखि कामचलाउ नेपाली भषा सिकेका चिनियाँ कर्मचारीहरु समेत राखेका छन्।

नेपाली स्वामित्वका गहना पसलहरुमध्ये संस्कृति ज्वेलरी सबैभन्दा ठूलो र चल्नेमा मानिन्छ अहिले। टेम्पल स्ट्रिट नाइट मार्केटमा रहेको यो सुन दोकान हङकङमा कामदार भिसामा कालिगढ मगाएर पसलमै गहना बनाउने पहिलो सुन पसल पनि हो। जन्मस्थल बुटवलदेखि नै यो पेसा अंगालेर हङकङ आएका यसका प्रबन्धक प्रकाश राजका अनुसार काठमाडौंको न्युरोडको आफ्नै स्वामित्वको भवनमा संस्कृति ज्वेलरी नाममै अर्को गहना पसल खोल्ने काम अन्तिम चरणमा पुगेको छ। 

अझ हङकङकै सबैभन्दा पुरानो र महङ्गो सपिङ मल चिम सा चुइको हार्बर सिटीमा नेपाली स्वामित्वको पहिलो आधुनिक डिजाइनर गहना पसल काजल नैना महावाणिज्यदूत उदयबहादुर राना मगर र अन्यद्वारा रिबन काटेर शुभारम्भ भएको छ हालसालै।

हङकङमा नेपालीहरुले पछिल्लो समय नाम दाम कमाएका र फस्टाएको व्यापारमध्ये गेस्टहाउस पनि एक हो। यो व्यवसायमा पनि पहिलो हात हाल्ने उनै पहिलो नेपाली रेस्टुरेन्ट व्यवसायी त्रिलोक विश्वकर्मा नै थिए। सन् ९० को दशकमा उनले खोलेका चुङकिङ म्यानसनको डी ब्लकका तीन र दस तल्लामा रहेका चाइना टाउन, होम टाउन भनिने र मोदी रोड ल्याटन बिल्डिङको तीन तल्लाको अर्को राजा गेष्ट हाउस अस्तित्वमा छैनन् अहिले। 

सन् १९६१ मा बनेको ६२ वर्ष पुरानो चिम सा चुइको चुङकिङ म्यानसनका गेस्टहाउसहरुमा हङकङ आउने लगभग सबै नेताहरुदेखि मतदातासम्म कलाकार, अभिनेता, गायकदेखि श्रोतादर्शक सम्मका सबै नेपालीहरु बसेका छन्। भनिन्छ, अहिले हङकङका निकै सपन्न धेरै भारतीय व्यावसायीहरुले आफ्नो व्यवसायको सुरुवात यही भवनबाट गरेका थिए रे। स्थानीय भाषामा फङ सोइ मास्टर भनिने हङकङका ज्योतिषाचार्यहरु चुङकिङ म्यान्सनको वास्तुशास्त्र निकै राम्रो मान्छन्।

पहिलो र दोस्रो तलामा कमर्सियल र तीन तलामाथि रेसिडेन्स र गेस्ट हाउस भएको यो भवनमा उहिले अधिकांश स्थानीय चिनियाँ र न्यून संख्याका भारतीयहरुको हालीमुहाली हुन्थ्यो। अहिले आएर भने ५ वटा ब्लक भएको १७ तल्ले यो भवनमा धेरै उल्लेख्य नेपाली उद्यमीहरुको प्रोपर्टीको स्वामित्व सहितको दर्जनौं गेस्ट हाउस छ भन्ने कतिलार्ई थाहा नहुन सक्छ। 

८ वटा गेस्टहाउस चलाएका धन थापालाई अक्सर भवनको मूल गेटमै भेट्न सकिन्छ। अर्का व्यवसायी खेम गुरुङ म चुङकिङ म्यान्सनको पृथ्वीनारायण शाह भनेर हाँसो गर्थें भेट हुँदा। एकपछि अर्को छिमेकी अपार्टमेन्ट किन्दै गेस्टहाउस बनाउने गुरुङका २१ वटा गेस्ट हाउसमध्ये ५ वटा प्रोपर्टीको स्वामित्व सहितका छन्। 

केही भाडा र केही आफ्नै लालपुर्जा भएका गरी ८५ वटा कोठा भएका अर्का व्यवसायी मीन पुनलाई मैले आरटीएचकेमा कृष्णराज लावतीले लिएको अन्तर्वार्ता सुनेपछि मात्र चिनेको हो। 

छोटो समयमा निकै राम्रो प्रगति गरेका अर्का गेस्ट हाउस व्यवसायी कृष्ण लिम्बु कोभिडको नियमहरु सहज भएसँगै अब भने व्यवसाय बढ्नेमा आशावादी छन्। 

हङकङमा के गर्नुहुन्छ भन्दा मुसुक्क हाँसेर सानो चिया पसल छ, चिया बेच्छु भन्ने शिवकुमार शाहका लालपुर्जा सहितका भाडामा लगाइएका पहिलो तल्लाका ८/१० वटा पसलका सटर र डेढ दर्जन जति गेष्ट हाउस र भाडामा लगाएका अपार्टमेन्ट समेत छन्। चुङकिङ म्यान्सन व्यवस्थापन कमिटीमा समेत रहेका शाह सो कमिटीमा पुग्ने पहिलो र एक मात्र नेपाली हुन्। उनैको अगुवाइमा सन् २०१५ मा नेपालका भूकम्पपीडितको सहयोगार्थ चुङकिङ म्यान्सन व्यवस्थापन कमिटीसँगको सहकार्यमा करिब १ लाख ८५ हजार हङकङ डलर उठाएर नेपाल पठाइएको थियोे। 

अचम्मको कुरा चाहिँ चुङकिङ म्यान्सनका यी सबै उल्लेख्य उद्यमी व्यवसायहीरु हङकङको आसन ग्रहण, माइक, भाषण, बिल्ला, खादा वा मालाका तस्बिरहरूमा कहीँकतै नभेटिने मात्रै हैनन् व्यावसायिक वा सामाजिक सफलताको आत्मप्रचारमा पनि सबैभन्दा पछाडि छन्। 

हङकङमा अन्तर्राष्ट्रिय कफी सप ब्रान्ड– स्टार बक्स र प्यासिफिक कफी यत्रतत्र सर्वत्र भेटिन्छन् नै। 

सन् २००० मा स्थापित संसारभरिका ५० देशमा १७ हजार लोकेसन भएको स्टार बक्स र हङकङभरि मात्रै १०० लोकेसनमा भेटिने सन् १९९२ मा खोलिएको प्यासिफिक कफीको एकछत्र व्यापार छ। 

तर पनि यी कम्पनीहरुका फ्रेन्चाइज नकिनी हङकङमा आफ्नै अंकल रस कफीको ब्रान्ड चलाउने नेपाली कफी सप उद्यमी वाईबी राई आजकल कफी सपमा कम र गल्फ कोर्समा बढी भेटिन्छन्।

कुनै समय करिब डेढ दर्जनसम्म अंकल रसको आउटलेट बनाएका वा फ्रेन्चाइज बेचेका उनले अब भने संख्यात्मकभन्दा गुणात्मक सेवालाई ध्यान दिने भन्दै अहिले आधा दर्जन जति मात्रै राखेका छन्। 

डिस्कभरी बे नर्थमा रहेको उनको कफी सपको छिमेकी स्टार बक्सले नै हालसालै त्यहाँको दैलो बन्द गरेपछि वाईबीलाई मैले डिस्कभरी बेको नारायणमान बिजुक्छे भनेर हाँसो गरेको थिएँ पछिल्लो भेटमा। 

हङकङको पहिलो पर्यावरणमैत्री सहर डिस्कभरी बेमा बस्ने लगभग सबैले उनलाई गल्फको उपाधि र अंकल रस कफीसपको कारणले चिन्छन्। यसरी चिनिने पहिलो र एक मात्र नेपाली उनै हुन्। 

आफ्नो स्वास्थ्य, खुसी र परिवारको लागि समय निकालेर खासगरी छोरा डेन्जललाई गल्फ दुनियाँको नेपाली टाइगर उड नै बनाउने महत्वाकांक्षा लिएर गल्फ कोर्सतिरै धेरै समय खर्चिन थालेका छन् वाईबी पछिल्लो समय। 

यसरी नेपाली व्यवसायीहरु रम्दै जम्दै गरेको संसारकै महत्त्वपूर्ण वित्तीय केन्द्रमध्येको एक यो सहर अन्तरिक्ष यात्रीहरुले रातिको समयमा पृथ्वी ग्रहमा हेर्दा निक्कै उज्यालो देखिने भूभाग मध्ये एक हो भनिन्छ। 

यही भूबनोटको उज्यालो भित्र गमलामा सरेर, जरा हालेर, गमलाबाट बाहिर निस्किएर, जमिनमा सर्दै, पालुवा फेर्दै, फुल्दै, फल्दै र झाङ्गिदै गरेका उल्लेख्य सबै नेपाली व्यवसायी उद्यमीहरु बधाईका पात्र छन्। नेपाल देश र नेपाली जनताका यी अघोषित एम्बेसडर सबै उद्यमीहरुलाई हार्दिक बधाई तथा निरन्तर व्यावसायिक सफलताको शुभकामना!
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .