कोरोना खोप लगाउनेलाई साढे १६ करोडको आवासीय ‘फ्ल्याट’ उपहार योजना

कोरोना खोप लगाउनेलाई साढे १६ करोडको आवासीय ‘फ्ल्याट’ उपहार योजना

मगेन्द्र राई
जेठ १४, २०७८ शुक्रबार १३:३८,

हङकङका नागरिक कोरोनाविरुद्धको खोप लगाउन अनिच्छुक देखिएपछि स्थानीय साइनो ग्रुपले त्यसमा प्रोत्साहन गर्न ११ मिलियन हङकङ डलर (करिब साढे १६ करोड रुपैयाँ) मूल्य पर्ने आवासीय फ्ल्याट भाग्यशाली गोला प्रथाद्वारा प्रदान गर्ने योजना ल्याएको छ।

काउलुनको क्वन तोङको ग्रान्ड सेन्ट्रल आवासीय क्षेत्रमा अवस्थित ४४९ स्क्वायर फिट क्षेत्रफल रहेको एक बेडरुमसहितको नयाँ फ्लाट उपहार योजना साइनो ग्रुपद्वारा सञ्चालित ङ तेङ फोङ च्यारिटेबल फाउन्डेसन र चाइनिज स्टेट होल्डिङले संयुक्त रूपमा शुक्रबार घोषणा गरेका हुन्।

साथै फाउन्डेसनले एक लाख डलर बराबरको २० वटा प्रिपेड वा क्रेडिट कार्डसमेत प्रदान गर्ने घोषणा गरेको छ।

फ्ल्याट प्राप्त गर्ने उपहार योजनामा सहभागी हुन हङकङको स्थायी बसोबास परिचपत्रवाहक तथा कोरोनाविरुद्ध खोपका दुवै डोज लगाएका व्यक्तिले मात्र आवदेन दिन पाउनेछन्। आवेदन चाँडै खुला गरिने र सेप्टेम्बर १ सम्म दर्ता गरिसक्नुपर्ने बताइएको छ।

फाउन्डेसनका निर्देशक ड्यारल ङले खोप लगाउने क्रम बढाएर कोरोनाविरुद्ध लड्न र आफ्ना प्रियजन, साथी, सहकर्मी बचाउन त्यस्तो योजना ल्याइएको बताए।

फाउन्डेसनले गत मार्चमा हङकङमा भएको आगलागीबाट पीडित नेपालीलाई पनि १० लाख हङकङ डलर बराबरको सहयोग गरेको थियो।

हङकङमा ७५ लाख मानिस बसोबास गर्छन्। जसमध्ये हालसम्म करिब १२ प्रतिशतजति मानिसले मात्र कोरोनाविरुद्ध खोपका दुवै डोज लगाएका छन्। हङकङमा गत फेब्रुअरीदेखि कोरोनाविरुद्ध खोप अभियान सञ्चालन भइरहेको छ। तर यहाँका नागरिक खोप लगाउन अनिच्छुक भएका कारण म्याद गुज्रिएर हजारौं डोज फाल्नुपर्ने स्थिति सिर्जना भएको छ।

खोप तथा सरकारप्रति नागरिकको विश्वास कम हुनाका कारण खोप अभियान प्रभावकारी हुन नसकेको बताइन्छ। केही समयअगाडि हङकङ सरकारले जनतालाई रकम प्रस्ताव गरेर खोप लगाउन आकर्षित गरिरहेको हल्लासमेत चलेको थियो। तर यो कुरा झुटो भएको यहाँकी प्रमुख कार्यकारी क्यारी लामले बताएकी छन्।

हङकङमा स्थानीय स्तरमा नयाँ कोरोना संक्रमण नदेखिएको शुक्रबार लगातार ३ दिन भएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .