हङकङवासी यी नेपाली एक्लैले जुटाए नेपालका कोरोना संक्रमितका लागि डेढ करोड

हङकङवासी यी नेपाली एक्लैले जुटाए नेपालका कोरोना संक्रमितका लागि डेढ करोड

मगेन्द्र राई
जेठ ३, २०७८ सोमबार १७:२२,

नेपालका कोरोना संक्रमितका लागि हङकङवासी एक नेपालीले एक्लैको पहलमा डेढ करोड रुपैयाँ सहयोग रकम जुटाएका छन्।

पर्वत जिल्ला घर भएका आपुन एचके (भोटे) एक्लैको पहलमा नेपालमा कोरोनाबाट पीडितका लागि हङकङ डलर १० लाख ५ हजार (१,५१, ३४, ०३१ रुपैयाँ) सहयोग रकम हात परेको हो।

आफ्ना रोजगारदाता रियल स्टेट व्यापारी प्याट्रिक सेक एक्लैबाट उनले त्यति धेरै सहयोग रकम प्राप्त गरेका हुन्।

प्राप्त सहयोग रकममध्ये परोपकारी संस्था सावर एक्सनमार्फत कोरोना पीडित नेपालका नेपालीका लागि ५ सय थान अक्सिजन सिलिन्डर र अत्यावश्यक अन्य सामग्री खरिदमा खर्च गरिने आपुन एचकेले नेपालखबरलाई जानकारी दिए।

अक्सिजन नभएकै कारण नेपालमा कोरोनाका बिरामीले ज्यान गुमाइरहेको हृदयविदारक दृश्य सञ्चारमाध्यममा देखेपछि मन थाम्नै गाह्रो भएकाले केही सहयोग गर्ने सोच आएको उनले बताए।

तर आफैंले केही गर्न सक्ने क्षमता उनमा थिएन। त्यसैले १२ वर्षदेखि आफू अंगरक्षकका रूपमा सेवा गरिरहेको आफ्नै साहुसँग उनले यस विषयमा कुरा राखे।

‘परिवारको सदस्यजस्तै व्यवहार गर्ने बोसले २५/३० हजार डलर त कसो नदेलान् भन्ने लागेको थियो,’ उनले सुनाए, ‘तर सोमबार बिहान बोलाएर १० लाख ५ हजार डलर मेरो हातमा थमाइदिँदा त मलाई सपनाजस्तै लाग्यो।’

केही नेपाली बौद्धिकको सल्लाहबमोजिम भरपर्दो संस्थामार्फत रकम नेपालका कोरोना पीडितका लागि खर्च गर्न लागिएको उनले बताए।

सावर एक्सन, नेपालमा शैक्षिक क्षेत्रमा सहयोग गरिरहेको संस्था तथा यसका सञ्चालकसँग व्यक्तिगत चिनजानसमेत भएकाले सोही संस्थामार्फत सहयोग रकम खर्च गर्न लागिएको उनले जानकारी दिए।

‘मलाई लाग्छ, रकम सही समय, स्थान र व्यक्तिसमक्ष पुगे मलाई थोरै भए पनि मातृभूमिको ऋण तिर्न सकेको महसुस हुनेछ,’ उनले भने।

नेपालमा कुनै विपत्ति आइपर्दा हङकङवासी नेपाली सहयोगका लागि सधैं सक्रिय हुने गरेका छन्।

यसपटक एकै व्यक्तिको पहलमा यति धैरै सहयोग रकम सम्भवतः पहिलोपटक जुटेको हुनुपर्छ।

आपुन (भोटे) ३ दसकदेखि हङकङमा छन्। उनले मुअय थाई बक्सिङ र बडिबिल्डिङमार्फत आफ्नो परिचय बनाएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .