यो हप्तामात्रै सरकारी अधिकारीहरुले हङकङमा सयौँ उडान रद्द गरेका छन्। हङकङको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनयता प्रदर्शनकारी टर्मिनल भवन प्रवेश गरेपछि विरोधका कारण यसो गर्नुपरेको हो। तर बुधबार भने अधिकारीहरुले प्रदर्शनकारीमाथि कडाइ गरी विमानस्थल खुलाएको बीबीसीले जनाएको छ।
वित्तीय र व्यावसायिक ‘हब’ नै मानिने हङकङमा विमानस्थल बन्द हुनु र व्यवसायमा खलल पुग्नु कम्पनीहरुको लागि पनि निकै दुःखद परिस्थिति हो। सोमबार र मंगलबार विमानस्थलमा प्रजातन्त्रपक्षधर विरोध प्रदर्शनकारी विमानस्थल छिरेपछि यस क्षेत्रकै तेस्रो व्यस्त विमानस्थल बन्द गर्नुपरेको थियो। हङकङको विमानस्थल बेइजिङ र जापानको टोक्यो विमानस्थलपछि तेस्रो व्यस्त विमानस्थल हो।
सीएनएनका अनुसार यसले विश्वकै व्यवसायमा र हङकङको पर्यटन क्षेत्रमा नराम्रो प्रभाव पार्नेछ। गत वर्ष ७ करोड ४० लाख यात्रुले यस विमानस्थलबाट उडान र अवतरण गरेका थिए। यो विमानस्थलले १ हजार १ सय यात्रु र कार्गो उडान हरेक दिन व्यवस्थापन गर्छ भने २ सय बढी विश्व गन्तव्यमा उडान भर्छ। हङकङका यातायात सचिव फ्रान्क चानका अनुसार यो एयरपोर्टले मात्रै हङकङको कुल गार्हस्थ्य उत्पादनमा ५ प्रतिशत योगदान गर्छ।
‘एयरपोर्ट नै बन्द हुने परिस्थिति सृजना हुनु निकै हानिकारक छ, यसले दशौँ लाख डलर घाटा हुनेछ’, एयरलाइनरेटिङ डटकमका सम्पादक तथा प्रबन्धनिर्देशक जियोफ्रे थोमसले भने। उनको वेबसाइटले एयरलाइनहरुसम्बन्धी समाचार सम्प्रेषण गर्छ। यसरी विमानस्थल बन्द हुँदा यात्रुहरु अन्तै मोडिने हुँदा पनि त्यसको असर निकै नकारात्मक पर्ने उनी बताउँछन्। फरच्युन ग्लोबल ५०० कम्पनीमा अटाएकामध्ये ७ वटा कम्पनीहरु त हङकङकै रहेका छन्। जसमा लेनेभो, सीके हचिङसन पनि पर्छन्। त्यसैगरी ठूला कर्पोरेसनहरु र मुख्य बैंकहरु हङकङमा रहेका छन्।
हङकङमा प्रदर्शन चर्किँदै जाँदा त्यसको गम्भीर परिणाम वित्तीय क्षेत्रले भोग्नुपरेको बताइएको छ। आम्दानी घटेको मात्र नभई, व्यावसायिक संघसंस्थाको ‘सप्लाई चेन’ (आपूर्ति प्रणाली)मा समेत अवरोध भएको छ भने लगानी त्यत्तिकै थुप्रिएको हङकङस्थित अमेरिकन चेम्बर अफ कमर्सले गत महिना नै बताइसकेको छ।
कम ग्राहकले घाटा
व्यावसायिक हब नै हङकङको परिचय हो। तर यसलाई विरोध सुरु हुनुअघि नै खतरा देखिसकेको थियो। धेरैभन्दा व्यावसायिक यात्रुहरु सिधै बेइजिङ यात्रा गर्नथालेका थिए। हङकङ पर्यटन बोर्डले फेब्रुअरीमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार हङकङमा यात्रुहरु रोकिन छोडेका थिए। गत सोमबार भएको विमानस्थल बन्दको प्रभाव र परिणाम अहिले नै यतिउति हुन्छ भन्नु हतार गरेसरह हुने हङकङको लगानीसम्बन्धी एउटा फर्म बीईए युनियन इन्भेष्टमेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकारी एलिनोर वान बताउँछिन्। तर उनी पनि विमानस्थल बन्दको खबरले मानसिक रुपमै नकारात्मक प्रभाव पर्ने उनको भनाइ छ। विमानस्थल नै बन्द हुने परिस्थिति सृजना भएपछि हङकङ घुम्न जानेहरुलाई विभिन्न देशले यात्रा चेतावनी जारी गरिसकेका छन्।
यसले हङकङ घुम्न जानेको संख्या घट्ने र होटल बुकिङमा कमी आउने उनी बताउँछिन्। व्यावसायिक हब नै भएकोले हङकङमा धेरै व्यावसायिक सम्मेलनहरु पनि हुने गरेका छन्, जसले गर्दा होटलहरु व्यस्त हुँदै आएका छन् तर पछिल्लो राजनैतिक परिस्थितिले त्यसमा गम्भीर असर पुग्नेछ। यसको परिणामा त्यस्ता सम्मेलनहरु सिंगापुरतर्फ सर्ने परिस्थिति सृजना नहोला पनि भन्न सकिन्न। पछिल्लो समय चीनको शांघाई र शेन्जेन पनि मुख्य वित्तीय बजारका रुपमा विकसित भइरहेको छ।
के हो हङकङमा चर्किएको आन्दोलन?
हङकङको सरकारले ल्याएको सुपुर्दगी विधेयकविरुद्ध हङकङका नागरिकहरुले दुई महिनायता प्रदर्शन र विरोध गरिरहेका छन्। विधेयक पारित भएर ऐन बनेमा हङकङले कुनै पनि अभियुक्तलाई बेइजिङमा सुपुर्दगी गर्न सक्नेछ। सो विधेयक हङकङको संसदमा पेस भए पनि विरोध चर्किएका कारण स्थगित गरिएको छ। प्रदर्शनकारीले विधेयक खारेजीको माग गरिरहेका छन्।
गत अप्रिलमा उक्त विधेयक सार्वजनिक गरिएको थियो। त्यसले अभियोगकै भरमा मूलभूमि चीन सुपुर्दगी गरिँदा कुनै पनि व्यक्तिले चीनको अदालती प्रणालीअनुसार अनावश्यक ट्रायल र हिंसामा पर्नसक्ने आलोचकहरुले बताउँदै आएका छन्। यसले अधिकारकर्मी र पत्रकारलाई जोखिम बढाउने उनीहरुको दाबी छ। यसबाहेक आलोचकहरुले हङकङमाथिको बेइजिङको नियन्त्रण थप बढाउने पनि उनीहरुले बताउँदै आएका छन्।
प्रतिक्रिया