हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी : जीवन-मरणकाे दोसाँधमै छन् घाइतेहरू

हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी : जीवन-मरणकाे दोसाँधमै छन् घाइतेहरू

मगेन्द्र राई
मंसिर ८, २०७७ सोमबार ३:५६,

यही नोभेम्बर १५ तारिख अर्थात् भाइटीकाको अघिल्लो दिन साँझ हङकङको जोर्डनस्थित नेपाली रेस्टुरेन्टमा भएको भीषण आगलागीमा परी आफन्त गुमाएका नेपालीका आँखा अझै ओभाएका छैनन्। त्यति मात्र होइन, आगोले जलेर घाइते भएका कतिपय अहिले पनि जीवन-मरणको दोसाँधमै छन्।

घाइतेमध्ये उपचारका क्रममा गत शुक्रबार एक जनाको मृत्यु भएपछि आगलागीमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ। बाँकी १० घाइते अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। तीमध्ये पनि केही व्यक्तिको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ।

यो आगलागीलाई हङकङमा दशककै घातक मानिएको छ। हङकङका प्रमुख कार्यकारी क्यारी लामसहित सरकारका उच्च पदस्थ अधिकारीले गत सोमबार घटनास्थल निरीक्षण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। त्यस क्रममा हङकङका प्रमुख कार्यकारी लामले घाइतेहरूको उपचारमा ध्यान दिन तथा घटनाको कारण पत्ता लगाउन स्थानीय अधिकारीलाई निर्देशनसमेत दिएकी छन्।

प्राप्त सूचनाअनुसार घटना छानबिन गर्न ५० सदस्यीय छानबिन समिति गठन भएको र त्यसले २ महिनाभित्र प्रतिवेदन पेस गर्नेछ। छानबिन समितिमा नेपालीको सहभागिता रहे नरहेको कुनै जानकारी आएको छैन।

गत बुधबार हङकङस्थित महावाणिज्यदूत तथा स्थानीय नेपाली संघसंस्थाको अगुवाइमा सामूहिक शोकसभा गरिएको छ। शनिबार यहाँका चिनियाँले वैदिक परम्पराअनुसार घटनास्थलमै सामूहिक श्रद्धाञ्जलि अर्पण गरेका छन्।

एसियाकै विश्वस्तरीय सहरका रूपमा परिचित हङकङलाई यो घटनाले सोच्न बाध्य बनाएको छ। यस विषयमा अहिले नेपालीबीच बहस भइरहेको छ।

घटनाबारे नेपालीका भनाइ
नेपालीको घनाबस्ती रहेको जोर्डन क्षेत्रमा नेपालीले नै सञ्चालन गरिरहेका दर्जनौं रेस्टुरेन्ट/बारमध्ये कतिपय स्तरीय र मापदण्ड पुगेका छन् भने कतिपय बिनाअनुमतिपत्रका पनि छन्। जसलाई चलनचल्तीको भाषामा ‘दुले’ रेस्टुरेन्ट वा भट्टी पनि भन्ने गरिन्छ। त्यस्ता रेस्टुरेन्ट विशेष गरी पुराना भवनको माथिल्लो तलामा खोलिएका हुन्छन्। जहाँ अचानक आगालागी भयो भने भाग्ने ढोका तथा आगो निभाउने उपकरण पनि हुँदैनन्।

६९ वर्ष पुरानो भवनको एक तलामा भीषण आगालागी भएपछि कतिपयले अवैध रेस्टुरेन्ट बन्द गर्नुपर्ने बताइरहेका छन् भने कतिले त्यस्ता रेस्टुरेन्टलाई वैध बनाउनुपर्ने सुझाव दिइरहेका छन्। नेपाल च्याम्बर्स अफ हङकङका उपाध्यक्ष लबकुमार गुरुङले आगलागी भएको रेस्टुरेन्टका सञ्चालकसँग भेट गरी रेस्टुरेन्टलाई वैधता दिन आफूले सुझाव दिएको नेपालखबरलाई बताए।

घटनाबारे दुःख व्यक्त गर्दै गुरुङले भने, ‘यो घटनाबाट हामी सबैले पाठ सिक्नैपर्छ, अब च्याम्बर्सले यस्ता अवैध रेस्टुरेन्ट बन्द गराउन पहल गरी यस्ता घटना दोहारिन नदिन कदम चाल्नेछ।’

यस्तै नेपाल फाइनान्स लिमिटेडका अध्यक्ष तथा सीईओ धिरजकुमार राईले पनि यस्ता घटनाबाट शिक्षा लिएर हामी सुध्रिनुपर्ने बताए। यस विषयमा हङकङ सरकार नै बढी संवेदनशील भएर व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको सुझाव छ।

उनले भने, ‘हङकङ अवसरका लागि पहिलो गन्तव्य हो, यहाँ हरेक किसिमका व्यापार/व्यवसाय गर्न सकिन्छ, शारीरिक श्रम गरेरै आकर्षक आम्दानी गर्न सकिन्छ, सकेसम्म हामीले यहाँका कानुन पालना गर्दै आम्दानीका अनेक अवसर लिन सक्नुपर्छ, जसले गर्दा यस्ता दुःखद परिस्थितिको सामना गर्न नपरोस्।’

यस क्रममा उनले इमान्दारीपूर्वक व्यापार/व्यवसाय गर्ने नेपालीलाई आर्थिक सहयोग गर्न नेपाल फाइनान्स सदैव तत्पर रहेको पनि बताए।

सहयोग रकमको पारदर्शिताका लागि सञ्जाल गठन गरिने

घटनापछि विभिन्न व्यक्ति तथा संस्थाले पीडितका लागि आर्थिक सहयोग संकलन गरेका छन्।

विगतमा विभिन्न व्यक्ति तथा संस्थाले विभिन्न बाहनामा सहयोग उठाई हिनामिना गरेको व्यापक जनगुनासो भइरहेका बेला त्यसरी दुरुपयोग नहोस् भनेर दूतावासको समन्वयमा स्थानीय नेपाली संघसंस्थाका अगुवासमेत सहभागी गराई संयुक्त सञ्जाल गठन गर्न लागिएको कार्यवाहक महावाणिज्यदूत किरणकुमार गुरुङले नेपालखबरलाई जानकारी दिए।

आगलागी पीडितका लागि दूतावासबाट के कस्ता काम भइरहेका छन् भन्ने प्रश्नमा गुरुङले भने, ‘मृतक तथा घाइते हङकङका स्थायी बासिन्दा भएका नाताले उनीहरूको जिम्मेवारी लिने पहिलो दायित्व हङकङ सरकारको हो, त्यसपछि मात्र हामी यहाँका नेपाली समुदायरसंस्थासँग समन्वय गर्नुपर्ने जिम्मेवारी पूरा गर्छाैं।’

यसैबीच हङकङका धनाढ्य लिका सिङले ३० लाख हङकङ डलर सहयोग उपलब्ध गराएका छन् भने सिकसिक युन संस्थाले पीडितलाई १० लाख हङकङ डलर दिने भएको छ।

मूलधारका मिडियामा विभेदकारी खबर
हङकङका मूलधारका सञ्चारमाध्यम (चिनियाँ/अंग्रेजी) ले घटनाका विषयमा समाचार प्रकाशन/प्रसारण गर्दा नेपालीप्रति उपेक्षा गरेको यहाँका एक नेपाली बौद्धिकले गुनासो गरे। उनका अनुसार तिनले गरिब भएकै कारण नेपालीले सस्तो ठाउँमा गैरकानुनी रूपमा रेस्टुरेन्ट सञ्चालन गरेको भनी समाचार बनाए।

घटनाबारे आफूलाई समेत उपेक्षापूर्ण प्रश्न गरिएको उनले गुनासो गरे। उनले नेपालखबरसँग भने, ‘यहाँ नेपालीले मात्र गैरकानुनी रूपमा रेस्टुरेन्टहरु सञ्चालन गरेका छैनन्। जोर्डन, मङकङ, सामसुइपो आदि स्थानमा चिनियाँले पनि त्यसरी कैयौं सिफुड रेस्टुरेन्ट चलाइरहेका छन्। नाइट मार्केटका पसल कहाँ कानुनसम्मत छन् र? यहाँ कति माजोङ (चिनियाँले खेल्ने एक किसिमको जुवा) गैरकानुनी ढंगले सञ्चालन भइरहेका छन्।’

उनले थपे, ‘म त छक्क परिरहेको छु कि जान्ने/बुझ्ने हाम्रै नेपालीले समेत नेपाली गरिब भएकाले राम्रा र स्तरीय रेस्टुरेन्ट खोल्न नसकेर अवैध रूपमा सञ्चालन गरेको भनेर मिडियालाई बताइरहेका छन्।’

हङकङको शान्ति र समृद्धिका लागि नेपालीको पनि ठूलो योगदान छ। तर यसबारे यहाँका मिडियाले खासै चर्चा गर्दैनन्। अन्य विषयका समाचार भने निकै प्रकाशन/प्रसारण गर्ने गरेका छन्।

हङकङमा पुराना आवासीय भवन निकै छन्। जहाँ अचानक आगलागी भयो भने सुरक्षा दिने व्यवस्था र उपकरण छैनन्। यो घटनापश्चात् भने हङकङ सरकारले त्यस्ता पुराना संरचनामा सुधार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .