हङकङ सरकारले सहरका एक हजार रेस्टुरेन्टलाई कुकुरमैत्रीको अनुमति दिएको छ। जहाँ ग्राहकले आफ्ना कुकुरलाई सँगै लैजान सक्नेछन्।
सरकारले ९ जुलाईदेखि लागु हुनेगरी पहिलो चरणमा एक हजार रेस्टुरेन्टलाई यस्तो अनुमति दिएको हो।
अनुमतिबारे शुक्रबार खाद्य तथा स्वच्छता विभागले भनेको छ– छुट्याइएका एक हजार कोटामा खुला मतदानबाट अनुमति प्राप्ट रेस्टुरेन्ट किटान गरिएको छ। जसको खाना परिसरमा कुकुरहरूलाई प्रवेश अनुमति दिइएको छ।
यी हजार रेस्टुरेन्टमध्ये ३४३ वटा हङकङ टापु, ३२६ वटा काउलुन र ३३१ वटा न्यु टेरिटोरिजमा अवस्थित छन्।
अनुमति पाएका यी रेस्टुरेन्टले २४ जुनअघि हङकङ डलर १४० तिरेर इजाजतपत्र संशोधन गर्नुपर्ने विभागले जनाएको छ। साथै, यी रेस्टुरेन्टले प्रवेशद्वारमा कुकुर प्रवेश अनुमतिपत्रको लाइसेन्स टाँस्नुपर्नेछ। जसबाट ग्राहकले घरपालुवा जनावरमैत्री रेस्टुरेन्ट हो भन्ने सहजै पहिचान गर्न सक्नेछन्।
प्रक्रिया पूरा गर्न असफल रेस्टुरेन्टको कोटा भने स्वत: प्रतीक्षासूचीमा रहेका रेस्टुरेन्टमा जानेछ। साथै, प्रक्रियाका क्रममा कुनै रेस्टुरेन्टले अनुमति फिर्ता पनि लिन सक्नेछन्। कसैले फिर्ता लिएमा पनि यो कोटा प्रतीक्षासूचीमा नै जानेछ।
अनुमति पाएका रेस्टुरेन्टलाई भोजन क्षेत्रको योजना बनाउन, सुविधाको स्तरोन्नति गर्न, कर्मचारीहरूलाई तालिम दिन, बीमा प्रदायकसँग समन्वय गरेर अगाडि बढ्न लगायतका दिशानिर्देश विभागले जारी गरेको छ।
यसका साथै, विभागका अधिकारीले आउँदो मंगलबार र बुधबार अनुमति प्राप्त रेस्टुरेन्टहरूमा भ्रमण गरी सञ्चालनको वैधानिकताबारेमा अवगत गराइने जनाएको छ।
विभागका अनुसार कुकुरमैत्री रेस्टुरेन्ट सञ्चालनका लागि विभागसमक्ष जम्मा २२०० आवेदन परेका थिए। यसमध्ये फिर्ता लिएका र अयोग्ग ठहरिएकालाई हटाएर १६१६ मा मतदान गरिएको थियो। यी मध्ये माथिल्लो अंक पाउने हजार रेस्टुरेन्टलाई अनुमति दिइएको हो। एजेन्सी
Shares

प्रतिक्रिया