मे २४ मा नेपाल एयरलाइन्सबाट हङकङ उड्दै २७२ नेपाली

मे २४ मा नेपाल एयरलाइन्सबाट हङकङ उड्दै २७२ नेपाली

नेपालखबर
जेठ ५, २०७७ सोमबार १६:०,

लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि नेपालमै अड्किएका हङकङका नेपालीमध्ये २७२ जना मे २४ मा हङकङ फर्कन पाउने करिब निश्चित भएको छ।

हङकङका नेपालीले सञ्चालन गरेका आठ वटा ट्राभल कम्पनीले संयुक्त रुपमा त्यो दिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज १० घण्टाका लागि चार्टर्ड गर्ने सम्झौत सोमबार गरेका छन्।

हङकङस्थित नेपाल एयरलाइन्सको कार्यालयमा भएको सम्झौता अनुसार मे २४ मा काठमाडौंबाट उड्ने वाइडबडी जहाजमा २७२ जना उड्न सक्ने अल्फा ट्राभलका प्रमुख कार्यकारी इन्दर पुनले बताए।

‘मे २४ का लागि पहिलो खेप जहाज चार्टर्ड गरिएको हो, यसमा २७२ जना उड्न पाउँछन्’, पुनले सोमबार राती नेपालखबरसँग भने, ‘तर यो उडानमा अब सिट खाली छैनन्, नेपालबाट फर्कन चाहनेहरूका लागि हामी नेपाल एयरलाइन्सकै अरु दुई वटा उडान चार्टर्ड गर्ने तयारीमा छौं।’

नेपाल एयरलाइन्स हङकङका म्यानेजर नवराज उपाध्यायले चार्टर्ड उडानका लागि ट्राभल कम्पनीहरूले पैसा तिरिसकेकाले मे २४ मा वाइडबडी हङकङ आउने बताए।

हङकङका सनराइज, हिमालय, मिग अल्फा, चाइना प्यासेफिक, डाइनामिक, फिस्टेल, नमस्ते र लुम्बिनी ट्राभलले संयुक्त रुपमा विमान चार्टर्ड गरेका हुन्।

पुनले कति मूल्यमा नेपाल एयसरलाइन्सको जहाज चार्टर्ड गरिएको खुलाउन चाहेनन्, एकतर्फी टिकट मूल्य भने इकोनोमी कक्षमा ६,५८० र बिजिनेस कक्षमा ८,००० हङकङ डलर तोकिएको बताए। यात्रुहरूले ३५ किलो लगेज र ७ किलो ह्याण्डक्यारी ल्याउन पाउने छन्।

लकडाउन अघिसम्म काठमाडौं–हङकङ सातामा ३ वटा उडान गर्दै आएको नेपाल एयरलाइन्सका लागि चार्टर्ड उडान गर्न धेरै झन्झट नहुने भएकाले यही जहाज रोजिएको पुनले बताए।

नेपाल एयरलाइन्ससँग सम्झौता भैसकेपनि चार्टर्ड उडानका लागि हङकङ विमानस्थलसँग अनुमति लिने प्रक्रिया चाहिँ अब सुरु गरिने उनले बताए।

‘यसअघि नियमित उडान गरिरहेकाले नेपाल एयरलाइन्सका लागि हङकङ विमानस्थलबाट चार्टर्ड उडानको अनुमति लिन खासै अप्ठेरो नपर्ला’, पुनले भने, ‘कागजात धेरै चाहिँदैन र प्रक्रिया पनि लामो नहोला भन्ने हाम्रो विश्वास हो।’

कोरोना महामारी नियन्त्रणमा आएसँगै हङकङमा स्कुल कलेज खुल्न थालेकाले आफ्ना बालबालिकासहित नेपालमै रोकिएका एक हजार भन्दा बढी हङकङे नेपाली जतिसक्दो चाँडो फर्कन चाहन्छन्। नेपालमा लकडाउनका कारण नियमित उडान नभएपछि चार्टर्ड उडान व्यवस्थापन गर्न विभिन्न समूहहरूले प्रयास गरेपनि त्यो सफल हुन सकिरहेको थिएन्।

मे २४ मा चार्टर्ड उडान पक्का होला त?

‘कोरोना महामारीको बेला भएकाले कुनै अप्रत्यासित समस्या नआउला भन्न त सकिन्न’, पुनले भने, ‘अहिलेकै अवस्था रहेमा मे २४ मा पहिलो चार्टर्ड उडान हुनेमा हामी निश्चित छौं।’ 

हङकङ फर्केपछि सबै यात्रुले १४ दिन सरकारी क्वारेन्टिनमा बस्नु पर्नेछ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .