हङकङका वित्त प्रमुख पल चानले १० देखि १५ वर्षभित्र अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको विश्वव्यापी श्रेणीमा हङकङ कम्तीमा दोस्रो स्थानमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
बुधबार एचएसबीसी ग्लोबल इन्भेस्टमेन्ट समिटमा बोल्दै वित्त सचिव चानले यसको आधारमा गतवर्ष कुल गार्हस्थ्य उत्पादनमा ३.५ प्रतिशत वृद्धि, राम्रो निर्यात र बढ्दो निजी लगानीलाई उद्धृत गरे।
‘१०/१५ वर्षपछिको हङकङ निश्चित रूपमा अन्तर्राष्ट्रिय वित्तीय केन्द्र श्रेणीकरणमा तेस्रो नम्बरमा मात्र सीमित रहनेछैन, कम्तीमा दोस्रो नम्बरमा हुनेछ,’ चानको भनाइ उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।
गत महिना जारी गरिएको पछिल्लो ग्लोबल फाइनान्सियल सेन्टर इन्डेक्समा हङकङले एसियाको शीर्ष वित्तीय केन्द्रको रूपमा आफ्नो स्थान कायम राखेको छ र विश्वव्यापी रूपमा तेस्रो स्थानमा छ। यस्तै, फिनटेक, बैंकिङ र बीमामा पनि अगाडि छ।
यो इन्डेक्समा हङकङले ७५६ अंक प्राप्त गरेको छ। यो अंक लन्डनभन्दा एक अंक पछाडि हो भने शीर्ष स्थानमा रहेको न्यूयोर्कभन्दा दुई अंकले पछाडि हो। यस्तै, सिंगापुरलाई हङकङले एक अंकले पछि पारेको छ।
Shares

प्रतिक्रिया