शनिबार हङकङको म्याकलहोज ट्रेलमा बेपत्ता भएका पदयात्री तेस्रो दिनसम्म पनि भेटिएका छैनन्।
शनिबार ट्रेलको खण्ड १० मा श्रीमतीसँगै पदयात्रामा निस्केका ७९ वर्षीय चिनियाँ यात्रीको अग्नि सेवा विभाग, सरकारी उडान सेवा, नागरिक सहायता सेवा र प्रहरीका उद्धारकर्ताहरू सम्मिलित टोलीले खोजी जारी राखेको छ।
हि उपनामका पैदलयात्री पदयात्रा सुरु गरेको एक घण्टापछि आश्रयस्थलमा आराम गर्ने क्रममा श्रीमतीसँग छुटेका थिए। हङकङ गार्जियन्स स्वयंसेवक उद्धार टोलीले सामाजिक सञ्जालमा गरेको पोस्टअनुसार दम्पतीले शनिबार बिहान ८:२० बजे होह फुक टोङ कलेज नजिकैको पदयात्रा प्रवेशद्वारबाट यात्रा सुरु गरेका थिए। उनीहरू चुनमुनको ताईलाम चुङ जलाशयतर्फको खण्ड १० मा एक घण्टा हिँडेपछि छुट्टिएका थिए।
स्रोतका अनुसार, हि पछाडि छुटेपछि श्रीमतीले अर्को आश्रयस्थलमा आराम गर्दै पतिलाई कुरेकी थिइन्। तर यही बेला भारी वर्षा हुन थाल्यो र बिहान ९:५० बजे एम्बर वर्षाको चेतावनी लागु भयो, जुन अपराह्न ४ बजेसम्म रहेको थियो।
दिउँसो २ बजेपछि पतिलाई खोज्न फर्किएकी उनले आश्रयस्थलमा नभेटेपछि प्रहरीलाई खबर गरिएको थियो। तर, आज तेस्रो दिन बितिसक्दा पनि उद्धार टोलीले कुनै संकेत फेला पार्न सकेको छैन।
Shares

प्रतिक्रिया