मिस नेपाल हङकङ इन्टरनेसनल दीपमाला एनआरएनए आईसीसीकी कान्छी संयोजक

मिस नेपाल हङकङ इन्टरनेसनल दीपमाला एनआरएनए आईसीसीकी कान्छी संयोजक

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १४:३५, काठमाडौँ

हङकङमा जन्मे-हुर्केकी दीपमाला खरेल ढकाल गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको दोस्रो पुस्ता संयोजक बनेकी छन्। यो सँगै उनी हङकङबाट यो पदमा पुग्ने नेपाली दोस्रो पुस्ताकी कान्छी सदस्य बन्न पुगेकी छन्।

आईसीसीमा संयोजक जस्तो महत्त्वपूर्ण पदमा पुगेकी युवा पुस्ताकी दीपमालाको काँधमा अब आफू जस्तै देशबाहिर रहेका युवालाई देशको माटोसँग सम्बन्ध प्रगाढ बनाउने गहन जिम्मेवारी आएको छ।

उनले यो कार्य आफ्नो प्राथिमकतामा रहने बताइसकेकी छन्। देश बाहिर जन्मे-हुर्केको पुस्तालाई देशसँग जोड्नका लागि सांस्कृतिक सम्बन्ध महत्त्वपूर्ण सेतु हुने भन्दै उनले सांस्कृतिक आदान-प्रदानमा विशेष पहलकदमी लिने बताएकी छन्। 

‘आफ्नो देशको संस्कार विश्वका जुनसुकै कुनामा गए पनि भेट्न सकिँदैन, त्यसैले एक नेपालीले आफू जुनसुकै देशमा भए पनि आफ्नो संस्कार र संस्कृति भुल्नु हुँदैन,’ उनी भन्छिन्, ‘आफ्नो माटोको मूल्य मान्यता अन्त कहीँ पाइँदैन, त्यसैले नयाँ पुस्तालाई देशसँग जोड्न मेरो पहल हुनेछ।’

बाहिर जन्मे-हुर्केका पुस्तालाई न नेपालको न उताको भन्ने जुन खालको अप्ठेरो आइपर्न सक्छ, त्यसमा दीपमाला पनि भुक्तभोगी हुन्। तर यसलाई आफूले कमजोरीका रूपमा नलिई शक्तिका रूपमा लिएको उनी बताउँछिन्।

त्यसैले विदेशमा जन्मे-हुर्केका आफूजस्तै नयाँ पुस्ताका अरू युवालाई उनी सन्देश दिन्छिन्– विदेशमा जन्मे-हुर्केर बटुलेको ज्ञान र अनुभव आफ्नो देशमा ल्याउन सकिन्छ, जुन देशका लागि उपलब्धिमूलक हुन सक्छ।

आफ्नो नेपालीपनले नै आफूलाई एनआरएनएसँग जोडिन प्रोत्साहन मिलेको बताउने दीपमाला एनआरएनएबाट पाएको जिम्मेवारीबाट नयाँ पुस्तालाई देशसँग जोड्ने अभियानमा सक्रिय हुने बताउँछिन्।

एक महिनाअघि मिस नेपाल हङकङ इन्टरनेसनल २०२६ को ताज पहिरिएकी ढकाल यतिखेर मिस नेपालको तयारी जुटेकी छन्।

फेब्रुअरी पहिलो हप्ता भएको कार्यक्रममा मिस नेपाल हङकङ इन्टरनेसनल २०२६ जितेपछि दीपमाला मिस नेपालमा सिधै प्रवेश गरेकी हुन्। यी दुई सौन्दर्य प्रतियोगिताबीच केही वर्षदेखि यस्तो समझदारी छ।

मिस नेपाल बनेर विश्वभर देशको प्रतिनिधित्व गर्दै संसारमा नेपाल चिनाउने उनको लक्ष्य छ।

आफू एनआरएन पनि रहेकी दीपमाला मिस नेपाललाई यसरी व्याख्या गर्छिन्, ‘एनआरएन भनेको विदेशमा आफ्नो देशको प्रतिनिधित्व हुनु हो। यस्तै, मिस नेपाल भनेको पनि देशको प्रतिनिधित्व हो, यसले आफ्नो देशको मूल्य, मान्यता र संस्कृतिलाई विभिन्न प्लेटफर्ममार्फत विश्वमा फैलाइरहेको हुन्छ।’

उसो त दीपमालासँग मिस नेपालको पारिवारिक सम्बन्ध पनि छ। उनकी आमा रोशनी खरेल पनि सन् १९९४ मा मिस नेपालमा सहभागी भएकी थिइन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .