आगामी मे महिनाबाट पूर्ण रूपमा खुल्ने घोषणा गरिएको हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ ले यस वर्ष १ करोड ५० लाख यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ।
सांसद एवं विमानस्थल प्राधिकरण बोर्डका सदस्य रक चेनले उक्त लक्ष्यबारे बताउँदै शुक्रबार भने– विमानस्थलबाट सञ्चालन हुने मुख्यतया बजेट र छोटो दूरीको रुटमा उडान गर्ने १५ वटा एयरलाइन्सले यो टर्मिनल प्रयोग गर्ने छन्।
जसमा हङकङ एयरलाइन्स, एचके एक्सप्रेस, ग्रेटर बे एयरलाइन्स लगायत दक्षिणपूर्व एसियामा उडान भर्ने अन्य वाहकहरू समावेश हुनेछन्।
यो सँगै टर्मिनल १ मा रहेका यी एयरलाइन्सका काउन्टर खाली गरिनेछन्, जसले गर्दा लामो दूरीको उडान वा व्यावसायिक यात्रुको लागि ठाउँ खुला बन्नेछ।
टर्मिनल २ पहिलो टर्मिनलको तुलनामा उच्चस्तरको प्रविधियुक्त हुने पनि चेनले थपे।
‘टर्मिनल २ ले प्राविधिक रूपमा उन्नत युवा यात्रुलाई सेवा प्रदान गर्नेछ,’ चेनले एक रेडियो कार्यक्रममा भनेका छन्, ‘लामो दूरीका उडान वा व्यावसायिक उडान भने टर्मिनल १ बाट सञ्चालन हुनेछन्।’
कम काउन्टरहरूको साथ, पुनर्निर्मित टर्मिनल २ मा यात्रुहरूले आफैले आफ्नो सामान चेक इन गर्न र छोड्न सक्ने छन्, जसले गर्दा प्रक्रिया कम झन्झटिलो हुनेछ, चेनले थपे।
Shares

प्रतिक्रिया