नेपालीमूलकी सञ्जु (परिवर्तित नाम) तीन वर्षअघि सुन्दर भविष्यको खोजी गर्दै हङकङ आइपुगिन्। विदेशी घरेलु कामदारका रूपमा २०२३ मा हङकङमा पाइला टेकेकी ३४ वर्षीया सञ्जु जुन सपना बोकेर सहरमा छिरेकी थिइन्, भोगिन् ठ्याक्कै उल्टो।
यसबीचमा उनले दुई वटा रोजगारदाताकोमा काम गरिन् तर दुवै मालिक उनका लागि सहज भएनन्। पहिलोले ६ महिनामा दुई महिनाको तलब भुक्तानी गर्यो त्यो पनि वैधानिक न्यूनतम ज्यालाभन्दा ३० प्रतिशत कम। त्यस्तै, यसबीचमा जम्मा ३ दिन छुट्टि पाइन् भने २४ घण्टामा दुई घण्टा मात्र आराम पाइन्।
शोषण, थकान र दुर्व्यवहार सहेरै ६ महिना त बिताएकै थिइन् तर पनि उनले बास पाइनन्। अङ्ग्रेजी नजानेको भनेर मालिकले घरबाट निकालिदिए, त्यो पनि मध्यरातमा।
पहिलो रोजगारदाताको बाट निकालिएको तीन महिनापछि अर्को ठाउँमा काम पाइन्। तर, यो पनि फलामको चिउरा सरह बन्न पुग्यो।
‘सानो कोठाको भुइँमा सुत्नुपर्यो। जबकि त्यहाँ खुट्टासम्म फैलाउन सक्दिनथेँ। पंखा र वातानुकूलितको कुरा त परै जाओस्,’ सञ्जु सुनाउँछिन्, ‘झ्याल खोल्न अनुमति थिएन, मलाई खानेकुरा दिँदैनथे।
भोकभोकै बस्नुपरेपछि एक पटकले उनले आफैँ खानेकुरा किनेर ल्याइन् र भान्सामा पकाउने प्रयास गरिन्। तर, घरमालिकलाई यो पाच्य भएन। ‘यो मेरो ग्यास हो, मेरो भान्सा हो’ भन्दै सञ्जुले ल्याएको खानेकुरा फ्याँकिदिए।
सञ्जुको यो पीडादायी कथा साउथ चाइना मर्निङ पोस्टमा आइतबार (२२ फेब्रुअरी)मा छापिएको लेखको अंश भावानुवाद गरिएको हो।
नेपालीमूलका धेरै घरेलु कामदार हङकङमा सञ्जुको नियति भोग्न हङकङमा विवश छन्। घरेलु कामदारको रूपमा जानेहरूका लागि दुई वर्षको सम्झौता गरिएको हुन्छ। दुई वर्षअगावै यदि उनीहरू रोजगारदाताको बाट हिँडे स्वत: अवैध हुन्छन्।
स्मरण रहोस्, नेपालीका लागि हङकङमा रोजगार भिसा खुला छैन।
Shares

प्रतिक्रिया