लुनार नयाँ वर्षको पहिलो दिन हङकङ घुम्नेहरु गत वर्षभन्दा १० प्रतिशतले बढेका छन्।
अध्यागमन विभागको पछिल्लो तथ्यांकअनुसार १ लाख ५३ हजार ३ सय ८३ पर्यटक मंगलबार हङकङ आइपुगेका हुन्।
जुन गत वर्षको नयाँ वर्षको पहिलो दिनको तुलनामा १०.४ प्रतिशतले बढी हो। कुलमध्ये १ लाख २० हजार जना चीनबाट आएको विभागले जनाएको छ।
नयाँ वर्षको पहिलो दुई दिनमा कुल २ लाख ६५ हजार १ सय ४० मानिसहरुले हङकङको यात्रा गरेका छन्। गत वर्षको सोही अवधिमा २ लाख ४५ हजार ७ सय २९ जना आएका थिए। यस वर्ष यस्तो संख्या ७.८ प्रतिशतले बढी हो।
नयाँ वर्षको विदा चीनमा गत आइतबारदेखि सुरु भएको थियो। यो फेब्रुअरी २३ सम्म चल्नेछ। लुनार क्यालेन्डरको गत महिनाको २८औँ दिनबाट नयाँ वर्षको सातौँ दिनसम्म गरी निरन्तर ९ दिनसम्म चल्छ।
सरकारी अधिकारीहरुले १४ लाख ३० हजार पर्यटक चीनबाट आउने अपेक्षा गरेका छन्। जुन गत वर्षभन्दा ६ प्रतिशतले बढी हुनेछ।
चीन र अन्य देशहरुबाट आएका पर्यटकले हङकङ सहर अहिले भरिभराउ छ। बितेका ५ दिनमा मात्रै ८ लाख १६ हजार ५ सय २२ जना हङकङ आइसकेका छन्।
बुधबार बिहान हङकङ–जुहाई–मकाउ पुलमा व्यापक ट्राफिक देखिएको थियो भने बस स्टेसनहरु पर्यटकले भरिभराउ देखिन्थे। झण्डै सय जनाजति हङकङ आइल्यान्डस्थित मध्य र पश्चिमी जिल्ला जाने बस पर्खिरहेका थिए।
यो ठूलो पुल सीमापारका लागि चर्चित छ। जहाँबाट ४४ हजार १ सय ५९ जना फेब्रुअरी १७ मा आइपुगेका थिए। योसँगै लो वु र लोक मा चाउपछिकै यो तेस्रो धेरै व्यस्त नाका बनेको छ।
त्यसैगरी हाइ आइल्यान्ड रिजर्भियरको पूर्वीतर्फको ड्याम साइ कङ पनि पर्यटकले भरिएका छन्। गत वर्षयता यो रिजर्भियरमा चीनबाट घुम्न आउने क्रम बढेको छ।
Shares

प्रतिक्रिया