मकाउको अन्तिम स्याटेलाइट क्यासिनो, क्यासिनो ल्यान्डमार्कले डिसेम्बर ३० मध्यराति आफ्नो ढोका सदाका लागि बन्द गरेको छ। सन् १९९० को दशकदेखि सहरको गेमिङ उद्योगमा महत्त्वपूर्ण अध्याय पस्केको क्यासिनोको अवसानसँगै एक युगको अन्त्य भएको छ।
क्यासिनोले युगको अन्त्य गरेसँग त्यहाँ कार्यरत २५ नेपालीको मकाउ बसाइ पनि अन्त्य भएको छ। उनीहरूलाई कम्पनीले मध्य जनवरीको टिकट थमाइसकेको छ।
एसजेएम होल्डिङ्सको गेमिङ इजाजतपत्रअन्तर्गत मकाउ प्रायद्वीपस्थित न्यु ओरिएन्ट ल्यान्डमार्क होटलभित्र अवस्थित यो क्यासिनोले अन्तिम क्षण बिताइरहँदा त्यहाँ १०० भन्दा बढी खेलाडी, कर्मचारी र दर्शक उपस्थित थिए।
यस्तै, उति नै संख्यामा बासिन्दा तथा पर्यटकहरू क्यासिनोको प्रवेशद्वार बाहिर भेला भएका थिए। ऐतिहासिक क्षणको कोही तस्बिर खिच्दै थिए, कोही फेसबुक र कुआइसौ जस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा लाइभस्ट्रिम गर्दै थिए।

स्थानीय सञ्चारमाध्यम मकाउबिजनेस डटकम लेख्छ, ‘मंगलबार (३० डिसेम्बर) मध्यरातको आधा घण्टाअघि, क्यासिनो ल्यान्डमार्कका कर्मचारीले खेलाडीहरूलाई जानकारी दिए कि खेलको तीन राउन्ड मात्र बाँकी छ। यसको लगत्तै रातको ११:४० बजे अन्तिम हात खेल्न दिइयो र संरक्षकहरूलाई बाहिर लगियो।
यसमध्ये एक स्थानीय खेलाडी चान पनि थिए जसले अन्य स्याटेलाइट क्यासिनोका अन्तिम दिनमा त्यहाँ पनि पुगेका थिए। जसमध्ये डिसेम्बरको सुरुमा बन्द भएका पोन्टे १६ रिसोर्ट र होटल फोर्टुनामा रहेका क्यासिनोलगायत थिए। उनी भन्दैथिए– म २० वर्षभन्दा बढी समयदेखि जुवा खेल्दै आएको छु। कोटाई क्यासिनोहरू भव्य छन् तर अब यी सम्झनामा मात्र रहने छन्।’
ल्यान्डमार्क सञ्चालनको अन्तिम घण्टामा, भुइँ तलामा केवल ६ वटा ब्याकाराट टेबल सक्रिय थिए भने दर्जनौँ जुवा टेबल र मेसिनहरूसहित बाँकी गेमिङ फ्लोर पहिले नै बन्द भइसकेका थिए। अन्तिम काउन्टडाउनअघि खाजा र पेय पदार्थ काउन्टरहरू पनि बन्द गरिएका थिए।
क्यासिनो ल्यान्डमार्क बन्द हुनुको मुख्य कारण २०२२ मा मकाउ सरकारले गेमिङ नियममा गरेको व्यापक परिवर्तन हो। संशोधित कानुनअन्तर्गत अब क्यासिनोहरू इजाजतपत्र प्राप्त गेमिङ कन्सेन्सिएरहरूको स्वामित्वमा रहेका सम्पत्तिभित्र सञ्चालन हुनुपर्छ। यो परिवर्तनमा स्याटेलाइट क्यासिनो कम्पनीलाई गेमिङ कन्सेन्सिएरहरूसँग गेमिङ राजस्व बाँड्नबाट पनि प्रतिबन्ध लगाइएको छ।
यद्यपि, परिवर्तित नियमको पालनाका लागि २०२५ को अन्त्यसम्म समय दिइएको थियो। सोही समयावधि सकिएसँगै क्यासिनो ल्यान्डमार्कले पनि ढोका बन्द गरेको छ।
२०२५ को सुरुमा, मकाउमा ११ स्याटेलाइट क्यासिनो सञ्चालनमा थिए, एसजेएमअन्तर्गत स्व-व्यवस्थित सम्पत्तिमा रूपान्तरण गर्ने क्यासिनो लार्कबाहेक अब अरू सबै बन्द भएका छन्।
क्यासिनो बन्दसँगै यहाँ कार्यरत १ हजार १६९ जना कर्मचारीको रोजगारी पनि खोसिएको छ। यही संख्यामा परेका हुन् २५ जना नेपाली।
डिसेम्बरको सुरुमा एक विज्ञप्ति निकाल्दै गेमिङ निरीक्षण र समन्वय ब्युरो (डीआईसीजे) ले एसजेएमले बन्दबाट प्रभावित क्यासिनो ल्यान्डमार्कका १ हजार १६९ कर्मचारीप्रति आफ्नो जिम्मेवारी पूरा गरेको सुनिश्चित गर्न श्रम मामिला ब्युरोसँग काम गरिरहेको बताएको थियो।
यही सन्दर्भलाई जोडेर नेपालखबरले प्रभावित नेपालीमध्ये केहीसँग कुराकानी गरेको थियो। जसमध्ये एनआरएनए मकाउका पूर्ववरिष्ठ उपाध्यक्ष तथा प्रवासी नेपाली मञ्च, मकाउका पूर्वअध्यक्ष शिव थापा भन्छन्, ‘हामीले पाउने सेवासुविधा सबै हिसाब गरेर पायौँ। एचआर प्रमुखले हाम्रो इमेल ठेगाना र नेपालको फोन नम्बर टिपेर राखेका छन्।’
लमजुङका थापा सन् २०११ देखि उक्त क्यासिनोमा काम गर्दै आएका थिए।
त्यस्तै, सन् २००२ देखि काम गर्दै आएका स्याङ्जाको पुतलीबजारका हुमबहादुर गोदर भन्छन्, ‘२३ वर्ष काम गर्ने मौका पाइयो। अब सरकारी नीतिकै कारण बन्द भयो, यसमा गुनासो गरिरहनुपर्ने कारण देख्दिनँ।’
यस्तै भनाइ नेपालगन्जका अभिमान सिं राना मगरको पनि छ। उमेरको कारणले पनि अब अवकाश लिने समयमा पुगेका राना भन्छन्, ‘६० वर्षे उमेरहद पुग्नै आँटिसकेको थियो, यसै पनि मैले त बिदा लिनै पर्थ्यो, अहिलेसम्म काम गर्न पाइयो, सेवा गर्ने मौका पाएँ कम्पनीलाई धन्यवाद।’
ल्यान्डमार्क होटलमा लामो समयदेखि काम गर्दै आएका कास्कीका पूर्णबहादुर गुरुङका अनुसार क्यासिनोमा काम गर्ने नेपालीहरू २००२ देखि २०१३ सम्म आइपुगेका हुन्। यो क्यासिनो ल्यान्डमार्क होटलद्वारा सञ्चालित थियो।
गुरुङ भन्छन्, ‘एकैचोटि यति ठूलो संख्यामा आफूसँगै काम गर्ने नेपाली दाजुभाइको रोजिरोटी गुम्दा निकै खल्लो लाग्दो रहेछ।’ होटलतर्फ कार्यरत नेपालीको भने रोजगारी सुरक्षित छ। गुरुङका अनुसार होटलतर्फ झन्डै तीन दर्जन नेपाली कार्यरत छन्।

क्यासिनो बन्द हुँदा लाग्यो नारा, चुहियो आँसु
३० डिसेम्बर मध्यरातमा क्यासिनो बन्द हुँदै गर्दा त्यहाँको माहोल संवेदनशील बनेको थियो। क्यासिनोको बोर्ड छोप्न जब पर्दा तानियो, भिड चलमलाउन थाल्यो, प्रतिक्रिया दिन थाल्यो।
त्यतिबेलाको माहोल इंगित गर्दै मकाउबिजनेस डटकम लेख्छ, ‘ल्यान्डमार्क फेरि खुल्छ - कोही कराए। अन्यले नारा लगाए- बन्द गर्न इच्छा छैन भने ढोका बन्द नगर!’
भिडबाट जे-जस्ता सहानुभूति आए पनि कानुनको अगाडि केही लाग्ने वाला थिएन। अन्तत: पाँच मिनेटको ढिलाइपछि क्यासिनोको साइनबोर्डमा पर्दा पूर्ण रूपमा तानियो। क्यासिनो सदाका लागि सुस्तायो।
यो माहोलमा कोही रोए पनि। रुनेमध्येमा एक मध्यम उमेरकी कर्मचारी बढी नै भावुक देखिइन्, जो यहाँको खाना र पेय पदार्थ डिपार्टमा दुई वर्षभन्दा बढी समयदेखि काम गरिरहेकी थिइन्। आफ्ना सहकर्मीहरूसँग उभिइरहेकी उनी पर्दा खस्दा सागीहरूलाई अँगालो हालेर रोएकी थिइन्।
उनको भावुकता देखेपछि मिडिया उनीतिर सोझिए। आँसु झार्दै उनले भनिन्, ‘आफूले काम गरिरहेको ठाउँ छोड्न तपाईँलाई पनि पक्कै गाह्रो हुनेछ।’
यद्यपि उनी बेरोजगार नै भने हुनुपर्ने छैन। किनकि उनले समान भूमिकामा ग्रान्ड लिस्बोआ प्यालेसमा नियुक्ति पाइसकेकी छन्। आँसु पुछ्दै उनले राहत पनि व्यक्त गरिन्, ‘म खुसी हुनु पर्छ, म बेरोजगार हुनु पर्दैन तर त्यहाँ धेरै कुरा छन् जुन हामी नियन्त्रण गर्न सक्दैनौँ।’
क्यासिनो बन्दसँगै उनले त अन्यत्र रोजगारी पाइन्। तर, नेपालीलाई चाहिँ किन घरफिर्तीकै टिकट थमाइयो? उनीहरू पनि अन्यत्र सिफ्ट हुन मिल्दैनथ्यो? नेपालखबरले यो जिज्ञासा मकाउस्थित नेपाली संघसंस्थाका प्रतिनिधि समेत रहेका चण्डीप्रसाद योङ्ह्यालाई गरेको थियो, जो फर्किने नेपालीमध्ये एक हुन्।
जनसम्पर्क समिति मकाउका पूर्वअध्यक्ष तथा किरात याक्थुङ चुम्लुङ मकाउका अध्यक्ष योङ्ह्या जवाफमा भन्छन्, ‘स्थानीयलाई त प्राथमिकता हुने भइहाल्यो नि! धेरै स्थानीय बेरोजगार भइसकेपछि हामी विदेशीको पालो कहाँ आउनू!’
‘नेपाली संघसंस्थाले पहल गरेनन्?’ प्रश्न खस्न नपाउँदै योङ्ह्या थप्छन्, ‘गरेर हुनेवाला केही छैन। सरकारी नीति हो, मुख्यभूमि चिनियाँहरूलाई त पठायो भने हाम्रो पहलले केही हुने स्थिति रहन्न।’
पाँचथरका योङ्ह्या यही क्यासिनोमा २००२ अप्रिलबाट कार्यरत थिए। उनी नेपाल आदिवासी जनजाति महासंघ, मकाउका उपाध्यक्ष समेत हुन्। महासंघले शुक्रबार एक कार्यक्रम गरी योङ्ह्यालाई बिदाइ पार्टी समेत दिएको थियो।

Shares

प्रतिक्रिया