टीईडी टकमा हङकङकी दीपमाला, जो पछ्याउन चाहन्छिन् हजुरबुबा रत्नप्रसाद खरेलको पथ

राणा र पञ्चायती शासनविरुद्ध लडेका खरेलले त्यागेका थिए मन्त्री पद पनि
टीईडी टकमा हङकङकी दीपमाला, जो पछ्याउन चाहन्छिन् हजुरबुबा रत्नप्रसाद खरेलको पथ

विपेन्द्र घिमिरे
साउन १३, २०८२ मंगलबार १९:३७, काठमाडौँ

टीईडीएक्स एचकेयूएसटी, हङकङ विज्ञान तथा प्रविधि विश्वविद्यालय (एचकेयूएसटी) द्वारा आयोजना गरिने टीईडी कार्यक्रम हो।

विद्यार्थी नेतृत्वको पहलमा हुने यस कार्यक्रममा वक्ताले सहभागीलाई कुनै विषयवस्तुमा केन्द्रित रही महत्त्वपूर्ण जानकारीका बारेमा अवगत गराउने गर्दछन्।

टीईडी वार्ता शीर्षकमा गरिने प्रस्तुतिमा वक्ताले आफूले अनुभव गरेका, सिकेका, अनुसन्धान गरेका वा समाजमा परिवर्तन ल्याउने सोचका बारेमा छोटो र प्रभावकारी रूपमा प्रस्तुति दिन्छन्। जसद्वारा टीईडीले स्थानीय प्रतिभा र विचारलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने माध्यमको रूपमा काम गर्छ।

४३.३ मिलियन सब्सक्राइबर रहेको च्यानल टीईडी टकमा फरक फरक एपिसोडमा फरक फरक वक्ताले आफ्नो स्टोरी प्रस्तुत गर्ने गर्दछन्, जसले सहभागीलाई प्रेरणादायी जानकारी दिन्छन्।

यो टकमा प्रस्तुतिका लागि छनोटमा पर्नु नै सर्वप्रथम त महत्त्वपूर्ण हुन्छ। पछिल्लो टक सोमा यही महत्त्वपूर्ण छनोटमा परेकी छन् नेपाल र हङकङकी छोरी दीपमाला खरेल ढकाल।

हङकङमै जन्मे हुर्केकी दीपमालाले हङकङ युनिभर्सिटीबाट ब्याचलर्स पूरा गरेकी हुन्। फाइनान्ससम्बन्धी अध्ययन गरेकी उनी ब्ल्याक रकमा आबद्ध छिन्।

वित्तीय साक्षरताको ज्ञाता दीपमाला, सामाजिक न्यायको बारेमा पनि उत्तिकै चासो राख्छिन्।

नेपालमा राणा शासनको पतनपछि राजा त्रिभुवनले गठन गरेको दोस्रो सल्लाहकार सभाको सदस्य तथा टंकप्रसाद आचार्यको नेतृत्वमा गठित मन्त्रिमण्डलमा अर्थउपमन्त्री बनेका हजुरबुवा रत्नप्रसाद खरेलकी नातिनी भएको नाताले पनि उनमा सामाजिक न्यायमा निकै रूचि र चासो देखिन्छ।

यही रूचि, चासो र हजुरबुवाको व्यक्तित्वलाई दीपमालाले टीईडी टकमा दमदार प्रस्तुति दिएकी छन्।

टीईडी कुराकानीमा उनले हजुरबुवाको जीवनकथा विश्वभरका मानिससम्म साझा गरेकी छन्।

२०२४ एचकेएसएआर डाइभर्सिटी लिस्ट अवार्ड विजेता, संयुक्त राष्ट्र मिलेनियम फेलो, विश्वविद्यालय सेवाकी अध्यक्ष दीपमालाले कार्यक्रममा सामाजिक-आर्थिक विकास र अन्तर-सांस्कृतिक समझदारीको वकालत समेत गरेकी छन्।

५ वटा भाषामा निपुण दीपमालासँग तीन च्याम्पियनसिप उपाधि छन्। उनी प्रतिस्पर्धी बहसकर्ता पनि हुन्। सांस्कृतिक प्रतिनिधित्व र सामुदायिक संलग्नताको भावनालाई मूर्त रूप दिनुपर्छ भन्ने धारणा राख्ने उनी भावी पुस्तालाई सशक्त बनाउँदै आफ्नो परिवारिक विरासतलाई सम्मान गर्दै अघि बढ्न चाहन्छिन्।

उनको यो समर्पणले आफ्नो समुदायको लागि सशक्त आवाज बन्न सक्छ। टीईडी टकद्वारा प्रस्तुत गरिएको उनको स्टोरी स्थानीय समुदायद्वारा स्वतन्त्र रूपमा आयोजना गरिएको थियो। जहाँ उनले आफ्नो हजुरबुवाको जीवनगाथा प्रस्तुत गरेकी थिइन्।

उनका हजुरबुवा अर्थात् राजा त्रिभुवनका पालाका एक मन्त्री रत्नप्रसाद खरेल। जो राणा परिवारबाट सत्ता खोसेर शाह परिवारमा सुम्पिनका लागि मात्रै नेपाली जनताले ज्यानको बाजी लगाएर क्रान्ति गरेका होइनन् भन्ने धारणा राख्थे।

उनको यो धारणा व्यवहारमा पनि स्पष्ट देखिन्थ्यो। यसैले त पञ्चायतभित्रका प्रतिपक्षीको रूपमा चिनिएका उनी महेन्द्रकालीन १७ सालको ‘कू’ पछि पक्राउ परे। जेल बसे।

जेल जीवनपछि २०१९ सालमा भने उनी पञ्चायतमै छिरे र सदन भित्रैबाट व्यवस्थाको विरोधमा उत्रिए। राजनीतिमा देखिएका विकृति, विसङ्गति र जनताका समस्याका बारेमा संसद्‌भित्रबाट खरो प्रस्तुति दिए।

सुरुमा राणा शासन विरुद्ध लडेका खरेल पछि पञ्चायतका विरुद्ध पनि उस्तै खरो रूपमा प्रस्तुत भए। पटक-पटक मन्त्री हुनका लागि गरिएको आग्रहलाई व्यवस्था नसुध्रिएसम्म नबन्ने अडान राखे। जुन कुरा उनको निधनपछि परिवारको अग्रसरतामा गतसाल प्रकाशित पुस्तक ‘निष्काम कर्मयोगी रत्नप्रसाद खरेल’ मा पनि उल्लेख गरिएको छ।

दीपमालाले आफ्नो प्रस्तुतिमा हजुरबुवाले समाजका लागि गरेको यिनै योगदानको बारेमा वर्णन गरेकी छन्। हजुरबुवाको दर्शनमा टेकेर उनले निश्चित उद्देश्यका साथ नेतृत्व गर्न र सही कुराका लागि कहिल्यै लड्न नछोड्न आह्वान गरेकी छन्।

पहिलो पुस्ताकी नेपाली हङकङेली दीपमालाको यो अग्रसरता हङकङको नेपाली समुदायका लागि महत्त्वपूर्ण कोसेढुङ्गा बन्न सक्छ।

टीईडी टकको लिंक-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .