हङकङ प्रहरीले एक व्यक्तिको खोजीलाई तीव्र पारेको छ भने उसको केटी साथीलाई पक्राउ गरेको छ।
गत शनिबारदेखि हराइरहेकी भियतनामी महिलाको हत्या गरेको आरोपमा प्रहरीले ती व्यक्तिको खोजी तीव्र पारेको हो।
आरोपीलाई खोज्नुअघि प्रहरीको अनुसन्धानले ती व्यक्तिले शंकास्पद गतिविधि गरेको फेला पारेको थियो।
प्रहरीको काउलुन वेस्ट रिजनल क्राइम हेडक्वार्टरका सुपरिन्टेन्डेन्ट गार काम लामका अनुसार ४९ वर्षीया ती महिला अन्तिमपटक चिउङ शा वानको १५२ क्यासल पिक सडकस्थित एक भवनमा प्रवेश गरिरहेको देखिएको थियो।
साउथ चाइना मर्निङ पोस्टका अनुसार त्यसपछि उनले उक्त भवन छोडेको देखिएको छैन। आरोपी पुरुष पनि उनीसँगै देखिएका थिए भने त्यहाँ धेरैपटक ओहोरदोहोर गरेको पाइएको थियो।
‘ती व्यक्ति भवनमा प्रवेश गर्ने र बाहिरिने गरेको धेरैपटक देखिएको थियो। उसले गह्रौँ देखिने झोला बोकेको थियो। त्यसपछि ती व्यक्ति भवनहरुबीचको साँघुरो गल्लीमा हिँडिरहेको र बोकेका वस्तु फोहोर फाल्ने कन्टेनर (रबिस बिन)मा फ्याँकिरहेको देखिएको थियो’, गारले भने।
गारका अनुसार त्यसपछि प्रहरीले सोमबारदेखि आरोपीलाई खोज्न थालेको थियो। प्रहरीले मंगलबार बेलुका उक्त भवनमा खानतलासी समेत गरिसकेको छ।
प्रहरी अधिकारीहरुले अनुसन्धानको क्रममा उनीहरु बसेको फ्ल्याटमा कसैलाई पनि फेला नपारेको बताएका छन्। तर कोठामा रगतका खाटाहरु भने भेटिएको उनीहरुको भनाइ छ। प्रहरीको पहिचान ब्युरोले पछि घटनास्थलको फरेन्सिक परीक्षण गर्न भनेको थियो। बुधबार यससम्बन्धी प्रारम्भिक परीक्षणहरु सकिएको बताइएको छ।
Shares

प्रतिक्रिया