हङकङवासी नेपाली बक्सर मिलन घले आफ्नो व्यावसायिक भिडन्तका लागि चीनको इनर मङ्गोलिया पुगेका छन्।
भिडन्त स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे हुनेछ।
भिडन्तको प्रथम चरणमा शुक्रबार (आज) तौल लिइएको छ भने प्रतिद्वन्द्वीसँग ‘फेस अफ’ समेत भइसकेको छ।
‘नक आउट आर्टिस्ट’का रूपमा आफूलाई प्रमाणित गरिसकेका घलेले काजाकस्थानीमूलका चिनियाँ यिरयिमान आइहेङसँग भिड्नेछन्।
घले ‘क्याचवेट’ ७२ किलोग्रामतर्फ मिडिलवेट डिभिजनमा भिडन्त गर्दैछन्। उनले यो भन्दा अगाडि वेलटरवेट वेट तौल समूहमा भिडन्त गरेका थिए। भिडन्त ६ राउन्डको लागि हुनेछ।
घले र उनका प्रतिद्वन्द्वी दुवै जना हालसम्म अपराजित छन्। घलेले यो भन्दा अगाडिको तीन भिडन्तमा ३ वटै नकआउट जित निकालेका थिए भने उनका प्रतिद्वन्द्वीको पनि ३ जितमा एक नकआउट छ।
दुवैको स्टान्स अर्थोडक्स रहेको छ। ३० वर्षीय घलेको उचाइ ५ फिट साढे ४ इन्च र रिच १६४ सेन्टिमिटर छ भने उनका २२ वर्षीय प्रतिद्वन्द्वीको उचाइ ६ फिट १ इन्च र रिच १८५ सेन्टिमिटर रहेको छ।

‘प्रतिद्वन्द्वीको उमेर, उचाइ र रिच सबैमा एड्भान्टेज रहेछ, यो त हाइ रिस्क भएन र?’ नेपालखबरको प्रश्नमा घलेले भने, ‘वास्तवमा बक्सिङ खेल नै रिस्की हो। रिस्क लिएर भिड्दा आफूलाई थप अनुभव पनि हुन्छ। जित निस्किए त्यसको महत्त्व अझ बढेर जान्छ।’
घलेले यो प्रतियोगिताका लागि डेढ महिनाभन्दा बढी कठिन मेहनत गरेका छन्। ‘यो पटक पनि नकआउट जित आउला त?’ अर्को प्रश्नमा उनले भने, ‘बडी सट मेरो हतियार हो, यसैले नकआउट गर्ने योजना छ।’
उनका सहोदर भाइ निवेश घले पनि व्यावसायिक बक्सर हुन्। दुवै दाजुभाइ हङकङको प्रसिद्ध ‘डेफ बक्सिङ’ जिममा प्रशिक्षकको रूपमा कार्यरत छन्।
Shares

प्रतिक्रिया