हङकङको याउचि मङ जिल्लामा ‘नि:शुल्क सामुदायिक मध्यस्थता तथा परामर्श केन्द्र’ स्थापना भएको छ।
गतहप्ता एक कार्यक्रमकाबीच हङकङ सरकारका न्याय उपसचिव डा चेङ क्वको प्रमुख आतिथ्यतामा केन्द्रको उद्घाटन गरिएको हो। कार्यक्रममा जिल्ला अधिकारी एडवर्ड यु, बेनी युङ सहितका सरकारी अधिकारी, डीएबीका याउचि मङ अध्यक्ष लगायतको उपस्थिति थियो।
त्यस्तै, याउचिमङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार टंक राना, स्थानीय तथा जातीय अल्पसंख्यक समुदायका अगुवा व्यक्तित्वहरूको समुपस्थितिमा केन्द्रको उद्घाटन गरिएको हो।
केन्द्रबाट समुदायका लक्षित व्यक्ति, विशेषगरी अल्पसंख्यक जातीय निवासीलाई नि:शुल्क मध्यस्थता तथा परामर्श लगायतका सेवा प्रदान गरिने राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार रानाले जानकारी दिए।
यसको प्रमुख उद्देश्य अल्पसंख्यक समुदायको द्वन्द्व र विवाद कम गर्दै राम्रो समुदाय निमार्णमा सघाउ पुर्याउनु रहेको रानाको भनाइ छ।
विशेषत: नेपाली समुदायका अगुवाहरूकै मागमा स्थापना भएको यस सेवा केन्द्रमा एआई प्रविधिबाट मानिसले बोलेका कुरा जुनसुकै भाषामा उतार्न सकिनेछ।
‘यो केन्द्र हामी नेपालीहरूकै जोडबलमा स्थापना भएको हो,’ रानाले नेपालखबरसँग भने, ‘केन्द्रमा रहेको कम्युटरसमक्ष आफ्ना समस्या भनेपछि यसले जुनसुकै भाषामा तुरुन्तै उतारिदिन्छ। जसलाई अदालतमा प्रमाण लगायतका कुरामा बलियो कागजातका रूपमा प्रस्तुत गर्न सकिन्छ।’
जम्मा १८ जिल्ला रहेको हङकङमा याउचि मङ यस्तो सेवा केन्द्र स्थापना हुने पहिलो जिल्ला बनेको छ।
Shares

प्रतिक्रिया