हङकङमा प्रहरी हुँ भन्दै २० लाख हङकङ डलर ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूले मनि लाउन्डरिङको जरिवानाबाट बचाइदिने भन्दै आठ हङकङवासीबाट २० लाखभन्दा बढी नगद ठगी गरेको प्रहरीको दाबी छ।
पक्राउ पर्ने महिला र पुरुष हुन्। उनीहरूलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये एक जनाले मुख्यभूमि चिनियाँ अधिकारीको नक्कली हङकङ प्रहरी वारेन्ट कार्ड, झुटा पत्र आदि प्रयोग गरेर पीडितहरूलाई उनीहरूले सीमापार अपराध गरेको भन्दै रकम असुलेका थिए।
‘ठगी गर्नेले पीडितहरूलाई अदालत वा सरकारी भवन बाहिरका स्थानमा दशौँ हजारदेखि लाखौँसम्म नगद ल्याउन निर्देशन दिएका थिए, जहाँ पीडितहरूबाट असुलिएको पैसा प्रहरी अधिकारीको भेषमा सहयोगीलाई हस्तान्तरण गरिएको थियो,’ प्रहरीले भनेको छ।
यस प्रकारका आठ घटना २४ मार्चदेखि ९ अप्रिलको बीचमा भएका थिए। जसमा २२ देखि ८३ वर्ष उमेर समूहका पीडितले कुल २२ लाख हङकङ डलर गुमाए।
प्रहरीले २३ वर्षीय अभियुक्तलाई पीडितबाट नगद लिँदै गर्दा पक्राउ गरिएको बताएको छ। उनको साथबाट नक्कली प्रहरी वारेन्ट कार्ड र मुख्यभूमि प्रहरीबाट जारी गरिएका जस्ता देखिने नक्कली पत्रहरू फेला परेका थिए।
यसका साथै, अधिकारीहरूले पीडितले उक्त व्यक्तिलाई हस्तान्तरण गर्न लागेको हङकङ डलर ३ लाख १० हजार नगद पनि जफत गरेका छन्।
Shares

प्रतिक्रिया