हङकङमा आयोजित गोर्खा ट्रेलब्लेजर दौडमा नेपालीहरूको सन्तोषजनक प्रदर्शन, सन्तोष बने समुदायको प्रथम

हङकङमा आयोजित गोर्खा ट्रेलब्लेजर दौडमा नेपालीहरूको सन्तोषजनक प्रदर्शन, सन्तोष बने समुदायको प्रथम

मगेन्द्र राई
फागुन १८, २०८१ आइतबार १०:२१, हङकङ

हङकङमा नेपालीहरूद्वारा आयोजित गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगितामा नेपाली प्रतियोगीहरूले सन्तोषजनक नतिजा ल्याएका छन्।

३० र १२ किलोमिटर विधामा शनिबार बिहान क्रमशः ९ र ९:३० बजे हङकङको न्यु टेरिटोरिजस्थित लाउसुइ हेङ कन्ट्री ट्रेलमा दौड सुरु गरिएको  थियो। त्यहाँबाट सालोतुङ सेन, प्लोभर कोभ कन्ट्री पार्क भएर सुन्दर मनोरम डाँडाकाँडाहरू छिचोल्दै दौड सम्पन्न भएको थियो।

दौडको प्रमुख विधा ३० किलोमिटरतर्फ फ्रान्सका अर्नाउड माउडुइटले निर्धारित दूरी ०३:५६:२० मा पूरा गरी प्रथम भए। त्यसैगरी बेलायतका टोमी येङले ०३:५८:३४ र बेलायतकै रिचार्ड किम्बरले ०४:०४:०९ मा पार गरी क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे।

नेपालखबरका सम्वाददाता सन्तोष तामाङले ०४:१५:३५ मा निर्धारित दूरी पार गरी चौथो स्थान हासिल गरे।

उनी उक्त विधामा ओभर अलमा चौथो भए पनि नेपालीबीच भने प्रथम भएका थिए। सन्तोषले लिङ्मा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ लिमिटेडको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी बनेका थिए।

 त्यसैगरी महिला ३० किलोमिटरतर्फ चीनका टजक्वान ली निर्धारित दूरी ०४:२७:३१, हङकङवासी नेपाली  दिलु लिम्बुले  ०४:५५:१५ मा र  नर्वेकि जोनेट दिम्ब्लाद ले ०५:२४:२२ मा  पूरा गरी क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए।

दिलु गत वर्षको दौडमा पनि दोस्रो भएकी थिइन्।


 
त्यसैगरी १२ किलोमिटरतर्फको दौडमा पुरुषतर्फ बेलायतका रायन ह्वेलनले ००:५७:०५ मा,  बेलायतकै  म्याथ्यु गेले ००:५८:११ मा र हङकङका स्थानीय नेपाली यामनाथ लिम्बु (नुगो याम) ले  ०१:००:४७ पार गरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए। नुगो याम गतवर्ष ३० किलोमिटरतर्फ प्रथम भएका थिए।

१२ किमि महिलातर्फ हङकङकी गिल वू, हङकङकै धाविका यिङ किउ चाउ र बेलायती टमि क्रोले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्।

सन्तोष तामाङको पुनरागमन
करिब एक दशक अगाडि हङकङमा ट्रेल रनरहरूको भीडमा सन्तोष तामाङलाई नचिन्ने बिरलै थिए। हङकङको प्रसिद्ध ‘साउथ चाइना मर्निङ पोष्ट’ मा उनको कभरेज हुन्थ्यो।
 
‘लोकल हिरो’ को उपमा पाएका उनले सन्‌ २०१५ मा ‘बोनाका एक्सन स्प्रिन्ट दौड प्रतियोगिता’ मा ब्याक टु ब्याक लगातार दुई वटा उपाधि जितेर कीर्तिमान कायम गरेका थिए।

‘किङ अफ द हिल’ को विजेता बनेका थिए भने प्रसिद्ध भिब्राम हङकङ १०० किमि प्रतियोगितामा एसियालीमा प्रथम भएका थिए। अन्य थुप्रै  प्रतियोगिता जितेका थिए।

यति लोभलाग्दो सफलता हात पारिरहेको बेला उनी ट्रेल रनिङको दुनियाँबाट एकाएक लापत्ता भए।

यसैबीच उनी साहसिक हवाई खेल प्याराग्लाइडिङमा होमिए। उनी अहिले टान्डेम पाइलट समेत बनिसकेका छन्।

अहिले उनी अचानक गोर्खा ट्रेल ब्लेजरमा देखा परे। विनातयारी आफ्नो पुरानो क्षमताको परीक्षण गर्न यो प्रतियोगितामा भाग लिएको उनी बताउँछन्।

सन्तोष तामाङ (तस्बिर सौजन्य : गोर्खा ब्लड)

जहाँ उनले सबै नेपालीलाई पछि पारे। पूर्ण तयारीका साथ भाग लिएका भए उनले सजिलै उपाधि हात पार्थे। अब उनी आफूले रचेको इतिहासलाई पुनरावृत्ति गर्न चाहन्छन्।

आफूलाई यो क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने अग्रज सुवर्ण थापा मगरको गुन कहिल्यै नभुल्ने बताउँदै उनले भने, ‘अब म आफ्नो लयमा फर्कन चाहन्छु।’ यो उनको सुखद पुनरागमन हो।

छैटौँ संस्करणको उक्त प्रतियोगितामा लगभग ५० जना हङकङवासी नेपाली सहित कुल २४० प्रतियोगीको सहभागिता थियो।

प्रतियोगिता गोर्खा सेमेट्री ट्रष्ट र चाइल्ड वेलफेयर स्किमले संयुक्त रूपमा प्रत्येक वर्ष गराउँदै आएको छ। यी दुवै हङकङ अवस्थित परोपकारी संस्था हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .