४८ वर्षीया ताइवानी अभिनेत्री बार्बी सुलाई मृत्युको चार दिनअघि फ्लुको लक्षण देखिएको ताइवानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
पारिवारिक यात्राको क्रममा जापानमा रहेका बेला सुको आइतबार निधन भएको थियो। उनको मृत्युको कारण निमोनिया रहेको छ।
सुको परिवारका लागि एक टुर गाइडबाट मंगलबार अनलाइनमा प्रसारित स्क्रिनसटमा अभिनेत्रीले आफ्नो मृत्यु हुनुभन्दा चार दिनअघि फ्लुका लक्षण देखाउन थालेको उल्लेख छ।
ताइवानी आउटलेट ईबीसी न्यूजले उक्त स्क्रिनसटको आधारमा सुलाई जनवरी २९ मा खोकी लाग्न सुरु गरेको र दमका लक्षणहरू देखाउन थालेको बताएको छ। यसपछिका दुई दिन उनी होटलबाट बाहिर ननिस्केको पनि समाचारमा उल्लेख छ। तर, यो स्क्रिनसटको आधिकारिक पुष्टि भने भइसकेको छैन।
होस्ट तथा अभिनेत्री बार्बीको अस्तु जापानबाट बिहीबार (६ फेब्रुअरी) ताइवान ल्याइने पनि ताइवानी सञ्चारमाध्यमले जनाएका छन्। उनका पति कु जुन र बिहनी डी सुले अस्तु घर ल्याउनेछन्।
सुको परिवारले सोमबार उनको मृत्यु पुष्टि गरेपछि विश्वभरका प्रशंसक स्तब्ध बने। सन् २००१ को टेलिभिजन नाटक मेटोर गार्डेनमा बार्बीको अभिनयले हङकङ र एसियाभरि उनका प्रशंसक बढेका थिए।
ताइवानी अभिनेत्री बार्बी सुको निधन, हङकङमा पनि थिइन् चर्चित
लोकप्रिय अभिनेत्री सुलाई फ्लुले अल्पायुमै लगेपछि हङकङमा भने खोपसम्बन्धी चासो र बुकिङ बढेको छ।
उनको निमोनियाबाट मृत्यु भएको खबर फैलिएपछि सहरका क्लिनिकहरूमा मानिसको भीड बढेको चिकित्सकले बताएका छन्।
पारिवारिक औषधि विशेषज्ञ डा. एङ्गस चानले समाचार बाहिरिएदेखि फ्लु खोपको लागि सोधपुछ र अपोइन्टमेन्ट लिनेको संख्यामा वृद्धि भएको बताए।
‘अहिलेसम्म लगभग एक दर्जन सोधपुछ भइसकेको छ,’ चानले मंगलबार बिहान भने, ‘जसमा केही दिनपछिको लागि बुकिङ गर्नेहरू पनि छन्।’
उनको सम्झनामा विगतका वर्षहरूमा र यो वर्ष पनि अहिलेसम्म यति धेरै सोधपुछको सामना गर्नुपरेको थिएन। (एससीएमपी)
Shares

प्रतिक्रिया