नेपाली महावाणिज्य दूतावास, हङकङले मकाउमा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ।
चीनको विशेष प्रशासकीय क्षेत्र मकाउलाई समेत हेर्ने जिम्मेवारी पाएको हङकङ महावाणिज्य दूतावासले मकाउका नेपालीको सहजताका लागि यहाँ बेला-बेला घुम्ती सेवा सञ्चालन गर्ने गरेको छ।
यसै सिलसिलालाई निरन्तरता दिँदै महावाणिज्य दूतावासले आगामी शनिबार (८ फेब्रुअरी) घुम्ती राहदानी सेवा दिन लागेको हो।
महावाणिज्य दूतावासद्वारा आज प्रकाशित सूचनाअनुसार गैरआवासीय नेपाली संघ, मकाउको कार्यालयमा रहने घुम्ती सेवामा राहदानी वितरणका साथै प्रत्यक्ष दर्ताको काम हुनेछ।
यसअघि प्रत्यक्ष दर्ताका लागि दूतावासको इमेलमा आवेदन दिएका ५४ जनाको आवेदन स्वीकृत भएकोले घुम्ती सेवाका दिन उपस्थित हुन समेत सूचनामा भनिएको छ।
साथै, गत डिसेम्बरमा प्रत्यक्ष दर्ता गरेका आवेदकलाई सोही दिन राहदानी वितरण गरिने भएकोले पुरानो राहदानीसहित उपस्थित हुनका लागि महावाणिज्य दूतावासले आग्रह गरेको छ।
‘राहदानी जारी/नवीकरणका लागि १३ डिसेम्बर २०२४ मा प्रत्यक्ष दर्ता गर्नुभएका आवेदकको राहदानी समेत सोही मिति, समय र स्थानमा वितरण गरिने भएकोले पुरानो राहदानीसहित सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।
सूचनाअनुसार राहदानी वितरण तथा प्रत्यक्ष दर्ता बिहान १० बजेदेखि अपरान्ह साढे ४ बजेसम्म हुनेछ।

Shares

प्रतिक्रिया