हङकङमा १३ वर्ष शरणार्थी जीवन बिताएका जोन (परिवर्तित नाम) को परिवार संयुक्त राज्य अमेरिकामा नयाँ जीवनको सपना देख्दै थियो। यही सपनालाई साकार दिलाउने टिकट पनि उनीहरूको हातमा परिसकेको थियो।
जनवरी २७ मा उड्न ठिक्क परेर बसेका उनीहरूको सपना अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले भने चकनाचुर बनाइदियो।
सबै शरणार्थी प्रवेश निलम्बन गर्ने र अमेरिकी शरण कार्यक्रम रोक्ने ट्रम्पको उक्त कार्यकारी आदेश पदभार ग्रहण गरेको केही घण्टामा हस्ताक्षर गरिएको थियो। जसले अमेरिका पुनर्वासको लागि स्वीकृत हङकङका दर्जनौँ मानिसलाई अलपत्र पारेको छ।
लस एन्जलसको लागि निर्धारित जोनको उडानले बिराम लियो।
‘यो सम्पूर्ण परिवारको लागि विनाशकारी समाचार थियो,’ पूर्वी अफ्रिकी देशबाट भागेर हङकङ आइपुगेका ३७ वर्षीय जोनले भने, ‘हामीसँग केही दिन मात्र बाँकी थियो।’
शरणार्थी अधिकार पक्षधरहरूका अनुसार यो आदेशलाई ९० दिनभित्र समीक्षाको लागि पेस गरिने भए पनि यसले पहिले नै ठूलो पीडा र तरंग निम्त्याइसकेको छ किनकि हङकङका शरणार्थीलाई अब सुरुआती अवस्थामा फर्काइने डर छ।

जोनको परिवारले वर्षौँको मिहिनेतपछि चिकित्सासहित सुरक्षा लगायतका कडा अमेरिकी जाँच पूरा गरिसकेको थियो।
संयुक्त राष्ट्रसंघको आप्रवासन संगठन (आईओएम) ले उनी, उनकी श्रीमती र बच्चाहरूलाई पुनर्वासका लागि योग्य करार गरिसकेको थियो।
ट्रम्पको आदेशले विश्वभरबाट युद्ध, उत्पीडन वा प्रकोपका कारण भागेका झन्डै ३ करोड ७९ लाख शरणार्थीहरूको कानुनी बसाइँसराइलाई अवरुद्ध पारेको छ।
ट्रम्पले आफ्नो आदेशमा, आप्रवासीका कारण संयुक्त राज्य अमेरिका ‘डुबान’ मा परेको बताएका छन्। अब देशले यो थेग्न नसक्ने र अमेरिकीको सुरक्षाका खातिर पनि यो उचित नभएको उनको तर्क छ।
सन् २०२४ को आर्थिक वर्षमा एक लाखभन्दा बढी शरणार्थीहरू अमेरिकामा पुनर्वास भएको र यो बितेका तीन दशकमा सबैभन्दा धेरै भएको पनि उनको आदेशमा छ।
ट्रम्पको यो आदेशबाट प्रत्यक्ष पीडित जेम्स (परिवर्तित नाम) पनि हुन्। हङकङमा १४ वर्ष पर्खिएपछि यसै महिना अमेरिका पुनर्वासको लागि अनुमति पाएका उनी सबै आगमन रोक्नु उचित नभएको बताउँछन्।
‘पहिलो पटक समाचार सुनेपछि, म सुत्न सकिनँ। अहिलेसम्म गाह्रो भइरहेको छ,’ पूर्वी अफ्रिकी राष्ट्रबाट भागेर हङकङ आइपुगेका जेम्स प्रश्न गर्छन्, ‘ट्रम्पको एक हस्ताक्षरका कारण कति लाख मानिस सुत्न नसकेका होलान्?’
जोन र जेम्स हङकङमा बस्ने १५ हजार ८०० शरणार्थीहरूको प्रतिनिधि पात्र हुन्। जसले पुनर्वासको लागि सबै प्रक्रिया सफलतापूर्वक पार गरे तर उड्ने बेलामा ट्रम्पको एक हस्ताक्षरले रोकिए।
जोन र जेम्सले अमेरिका उड्ने दिन नजिकिएसँग हङकङमा गरिरहेको जागिर छोडे, बसिरहेको डेरा छोडे र साथीहरूलाई बिदाइ पार्टी समेत दिइसकेका थिए।
क्रिश्चियन एक्सन सेन्टर फर रिफ्युजीजका सामाजिक कार्यकर्ता जेफ्री एन्ड्रयुजका अनुसार यस पटक कम्तीमा ५० जना हङकङ छोड्ने प्रकियामा थिए। उनका अनुसार सामान्यतया प्रत्येक वर्ष ७० जनासम्म शरणार्थी अमेरिका जाने गर्थे।
शरणार्थीहरूले रद्द गरिएका उडानहरूको बारेमा फोन गर्न थालेपछि भने ‘आतंक’ सुरु भएको एन्ड्रयुज बताउँछन्। सेन्टरमा मद्दतको लागि व्यापक अनुरोध आएको उनले बताए।
शरणार्थीहरूलाई सहयोग गर्ने गैरनाफामुखी समूह जस्टिस सेन्टर हङकङले पनि ट्रम्पको आदेशले आफ्नो सम्पर्कमा रहेका परिवारलाई निकै असर परेको बतायो।
‘प्याक्ड एन्ड रेडी’ परिवार समेत आदेशको फन्दामा परेको समूहकी कार्यकारी निर्देशक लिनेट नामले बताइन्।
‘जब मानिसहरूले जाने मौका पाए। आफूहरू पाइपलाइनमा रहेको उनीहरूलाई थाहा भयो। जसले उनीहरूमा धेरै आशा सिर्जना गर्यो,’ नाम भन्छिन्, ‘त्यसपछि त्यो सबै आशा रातारात गायब भयो!’
९० दिनको समीक्षा अवधिले पनि नीतिमा परिवर्तन ल्याउने कुरामा नामले शंका व्यक्त गरिन्।
‘निलम्बन हाम्रो समुदायका परिवारका लागि ठूलो धक्का हो, जो वर्षौँदेखि पर्खिरहेका छन्,’ हङकङको अर्को गैरनाफामुखी संस्था ब्रान्चेज अफ होपले भन्यो।

त्यस्तै, शरणार्थी केन्द्र (सेन्टर फर रिफ्युजी)की आउटरिच संयोजक उज्मा नवीद अचानक परिवर्तनले शरणार्थी समुदायलाई साँच्चै पीडादायी ठाउँमा छोडेको बताउँछिन्।
‘मेरोमा जो परिवारहरू आए उनीहरूले ‘आई एम डन’ जस्तो महसुस गरे,’ शरणार्थीको मनोदशा नियालेकी नावीदले भनिन्, ‘म पनि त्यस्तै महसुस गरिरहेको थिएँ, तर म तिनीहरूलाई त्यो भन्न सक्दिनँ।’
खुट्टा उचालिसकेर पनि हङकङमै अड्किएका जोन अब नयाँ जागिर खोज्दैछन्। जसले अमेरिकन ‘बिग ट्रक चालक’ बन्ने आशा पालेका थिए।
उनी भविष्यमा राष्ट्रपतिबाट अर्को निर्णयको पर्खाइमा छन्। (एएफपी)
Shares

प्रतिक्रिया