हङकङको एक बेकरीका कर्मचारीले भुइँ पुछ्ने ‘मोप’ले खानेकुरा राख्ने ठाउँ ‘सेल्फ’ सफा गरिरहेको भिडिओ सार्वजनिक भएपछि निकै विरोध भएको छ।
यस्तो हर्कतको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भएको छ भने मानिसहरूले निकै आलोचना गरिरहेका छन्।
तस्बिरमा देखिएअनुसार चेवान शान सपिङ सेन्टरको बेकरीमा दुई महिला कर्मचारीले खाली शेल्फ सफा गर्न भुइँ पुछ्ने मोप प्रयोग गरिरहेको देखिन्छ।
जहाँ मोप बाल्टी पनि सँगै देखिएको छ। माथिल्लो शेल्फमा प्याक गरिएका केही पेस्ट्री र चाडपर्व विशेष सामानहरू देख्न सकिन्छ। मोपले पहिले भुइँ पुछिएको थियो कि थिएन भन्ने कुरा चाहिँ स्पष्ट छैन।
बुधबारको घटना भनिएको यो तस्बिरका बारेमा हङकङको खाद्य तथा वातावरणीय स्वच्छता विभागले पनि चासो देखाएको छ। यस बारेमा ५ वटा गुनासो प्राप्त भएको र प्रमाण पुगेमा कारवाही गरिने अधिकारीहरूले बताएका छन्।
विभागका अनुसार कर्मचारीले बिहीबार बिहान पसलको भ्रमण पनि गरे तर यो सफाईको लागि बन्द रहेको भेटियो।
‘हामीले जिम्मेवार व्यक्तिलाई मौखिक चेतावनी दिएका छौँ र स्वच्छता शिक्षा प्रदान गरेका छौँ,’ विभागले भनेको छ, ‘उनीहरूलाई खाना तथा व्यक्तिगत र वातावरणीय स्वच्छता कायम राख्न भनिएको छ।’ (एससीएमपी)
Shares

प्रतिक्रिया