हङकङमा भएको अल्ट्रा म्याराथनमा नेपालका दुई दिदीबिहिनीले कीर्तिमानी रचेका छन्।
शुक्रबार र शनिबार भएका दुई छुट्टाछुट्टै दौडमा जुम्लाको पातारासी गाउँपालिका-२ मा जन्मिएका राममाया बुढा र सुनमाया बुढा प्रथम भए। प्रथम मात्र भएनन्, यसअघिका कीर्तिमानी पनि तोडे।
राममायाले शुक्रबार भएको ५६ किलोमिटर दौड (हाफ) ५ घण्टा ३४ मिनेटमा जितेर प्रथम भइन्। उनले यसअघि चीनकी झोउ रुइफाङले बनाएको रेकर्डलाई समेत ब्रेक गरिन्। रुइफाङले बनाएको कीर्तिमानीलाई उनले २४ मिनेट अगाडि पार गरी तोडेकी हुन्।
राममायाको यो विदेशमा पहिलो प्रतिस्पर्धा हो।
यो दौडमा जापानकी नम्बर १ ट्रेल धावक युरो योशिजुमी दोस्रो र चीनकी याङ यान तेस्रो भएका थिए। योशिजुमीले ५ घण्टा ५८ मिनेटमा र यान ६ घण्टा १३ मिनेटमा निर्रधारित दूरी पार गरे।

त्यस्तै, शनिबार भएको सय किलोमिटर अल्ट्रा म्याराथनमा सुनमाया बुढाले निर्धारित दूरी ११ घण्टा ११ मिनेट ४७ सेकेन्डमा पूरा गरी प्रथम ताज पहिरिइन्।
यो दौडमा हङकङकी भेरोनिका लेङ दोस्रो र भियतनामकी हाउ हाथी तेस्रो भए। लेङले निर्धारित दूरी ११ घण्टा २५ मिनेट २२ सेकेन्डमा र हाथीले १२ घण्टा ९ मिनेट ३७ सेकेन्डमा पूरा गरेका थिए।
सुनमायाले पनि यसअघिको रेकर्ड ब्रेक गरी नयाँ कीर्तिमान रचिन्। उनले यसअघि जियाङ फुझाओले राखेको ११ घण्टा २८ मिनेट २१ सेकेन्डको रेकर्ड ब्रेक गरेकी हुन्। जियाङको यो कीर्तिमानी २०२० को थियो।
३३ किलोमिटर (थर्ड) बिहीबार, ५६ किलोमिटर (हाफ) शुक्रबार र अन्टा ग्वान्जन हङकङ १०० (एचके१००) अल्ट्रा-म्याराथन शनिबार भएको थियो।
Shares

प्रतिक्रिया