एउटा दुर्लभ पुतली जापानबाट ३ हजार किलोमिटर (१,८६४ माइल) उडेर हङकङ आएको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। जसले प्रजातिको लागि अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा लामो बसाइँसराइको नयाँ विश्व रेकर्ड स्थापित गरेको छ।
पुतलीलाई हङकङ विश्वविद्यालयको बायोलोजिकल साइन्सेस स्कुलका पोस्टडक्टोरल फेलो लिङ युटले रिपल्स बेमा फेला पारेका थिए।
यसको पखेटामा जापानी अक्षरहरू र मिति १८ अगस्ट लेखिएको थियो। जसलाई चार महिनाअघि जापानको फुकुशिमामा ट्याग गरी छोडिएको थियो।
स्टिकरसहितको पुतली भेटिएपछि लिङले स्कुलको डेनाइड बटरफ्लाइ अनुसन्धान परियोजनाका अन्य साथीहरू टिमोथी बोनब्रेक र एमिली जोन्ससँग मिलेर काम गरे।
टोली पुतलीको पखेटामा टाँसिएको स्टिकरमा भएको यूआरएलको माध्यमबाट जापानका मासायोशी शिमिजु र हिरोकी ताकिजावाको सम्पर्कमा पुग्यो। जापानका यिनै शिमिजु र ताकिजावाले पुतलीलाई ट्याग गरी छोडेका थिए।
वयस्क भाले पुतली (चेस्टनट टाइगर) कम्तीमा १२४ दिन पुरानो भएको र जापानबाट हङकङसम्म आइपुग्दा ३ हजार किलोमिटर यात्रा गरेको पाइएको थियो। जसले यस प्रजातिको सबैभन्दा लामो बसाइँसराइको रेकर्ड बनाएको छ।
पुतलीको यो कार्यलाई अनुसन्धानकर्ताहरूले आश्चर्यजनक भनी टिप्पणी गरेका छन्। ‘यो आश्चर्यजनक उपलब्धि हो। यस्तो सानो कीराको लागि ३ हजार किलोमिटरभन्दा बढी उड्नु र सय दिनभन्दा बढी समयसम्म उक्त सामर्थ्य राख्नुले यी जीवहरूको शारीरिक क्षमता देखाउँछ,’ अनुसन्धाता बोनब्रेकले भने।

यस्तो सानो कीराको लागि ३ हजार किलोमिटर उड्नु र सय दिन भन्दा बढी समयसम्म उक्त सामर्थ्य राख्नु आश्चर्यजनक भएको एक अनुसन्धाताले बताए।
डेटा रेकर्ड गरेपछि पुतलीलाई पुन: जंगलमै छोडिएको थियो। यसपछि पुतलीले हङकङलाई नै अन्तिम गन्तव्य बनायो कि अझ अन्यत्रै पुग्यो स्पष्ट छैन।
विश्वविद्यालयका प्रवक्ताका अनुसार यो प्रजाति लामो दूरीको बसाइँसराइको लागि प्रख्यात छ। यिनीहरूको पखेटा चिन्ह लगाउनाले वा ट्याग गर्दा उनीहरूको चालको बारेमा तथ्यांक प्राप्त हुने गर्दछ। यात्रा गरेको दूरी, उडान मार्ग र आयु समेत त्यसमा समावेश हुन्छ।
यसअघिको रेकर्डअनुसार सन् २०११ मा भएको थियो। त्यतिखेर पनि एउटा चेस्टनट टाइगर नै समावेश थियो। त्यसले जापानबाट हङकङसम्म लगभग २,४२३ किलोमिटर उडान गरेको थियो र ८२ दिनसम्म बाँचेको थियो।
पछिल्लो पुतलीले यस प्रजातिको उडानका लागि नयाँ रेकर्ड बनाएको छ। जापानबाट हङकङमा यस्तो पुतली बसाइँ सरेको पत्ता लागेको यो तेस्रो पटक हो।
डिसेम्बर २०१२ मा, ताइपो वातावरणीय संघको फङयुन बटरफ्लाइ रिजर्भको टोलीले त्यस वर्षको अक्टोबरको मिति उल्लेख भएको यसै प्रजातिको पुतली भेटेका थिए।
यो पुतलीले जापानको वाकायामा प्रिफेक्चरबाट हङकङसम्म २,५०० किलोमिटर यात्रा गरेको पुष्टि भएको थियो।
जापानमा पाइने पुतलीहरूमध्ये यो अद्वितीय रहेको अनुसन्धाताहरू बताउँछन्। यसले मौसमी रूपमा बसाइँ सर्ने गर्दछ।
नोभेम्बर २०२१ मा, उही प्रजातिको अर्को पुतली पेन्घुको ताइवानी टापुहरूमा फेला परेको थियो। टोयामाको एक संग्रहालयका प्रतिनिधिले भने कि पुतलीलाई त्यस वर्षको सेप्टेम्बरमा प्रिफेक्चरबाट छोडिएको थियो र पेन्घु पुग्न २,३०० किलोमिटर उडेको थियो। (एससीएमपी)
Shares

प्रतिक्रिया