बिहीबार राति हङकङको चुनमुनमा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या भएको छ।
हिजो राति सवा १० बजे पोतिन स्टेटको ब्लक ७ का एक सुरक्षा गार्डले एक जना पुरुषमाथि आक्रमण भएको र उनको ढाडबाट रगत बगिरहेको भनी प्रहरीलाई खबर गरेका थिए।
एम्बुलेन्स आइपुग्दा अचेत भइसकेका पीडितलाई तत्काल चुनमुन अस्पताल लगिएकोमा राति ११:५५ बजे मृत घोषित गरिएको थियो।
मृतक व्यक्ति वोङ उपनामका ३३ वर्षीय पुरुष भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा हाल उनी ४४ वर्षीया एक महिलासँग प्रेम सम्बन्धमा रहेको र यही निहुँमा महिलाको पूर्वप्रेमीसँग झगडा भएको थाहा हुन आएको छ। साथै, दुवै पुरुष लागुऔषध दुर्व्यसनी रहेको समेत प्रहरीको आशंका छ।
प्रहरीले महिलालाई पक्राउ गरी सोधपुछ गरेको छ भने फरार व्यक्तिको खोजी भइरहेको जनाएको छ। संदिग्ध ५५ वर्षीय पुरुष हुन्।
महिलाले प्रहरीलाई बताएको घटनाक्रमअनुसार, ब्लक ७ को विपरीत सडकबाट साइकलमा आएका महिलाका पूर्वप्रेमी वोङ नजिक पुग्दा झगडा भएको थियो।
झगडाले तीव्र रूप लिँदा पूर्वप्रेमीले वोङलाई पछाडिबाट बारम्बार धारिलो हतियारले प्रहार गरेका थिए। र, आक्रमणपछि उनी त्यहाँबाट भागे। शुक्रबार बिहान ११ बजेसम्म फरार व्यक्ति पक्राउ परेका छैनन्। (द स्ट्यान्डर्ड)
Shares

प्रतिक्रिया