संसार नयाँ वर्षको उल्लासमा झुमिरहेका बेला बुधबार बिहान हङकङको एक पाकिस्तानी परिवारले भने दु:खान्त बेहोरेको छ।
बुधबार बिहान पौने २ बजे ट्याक्सीले लेन काटेर कारमा ठोकिन पुग्दा पाकिस्तानी परिवारका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
३० वर्षीय पुरुषले चलाएको कारमा उनी सहित ५ जना सवार थिए। चालकको घटनास्थलमै र २ जनाको प्रिन्सेस मार्गरेट अस्पतालमा मृत्यु भएको हो। कारका अन्य २ यात्रुको पछाडि चोट लागेको छ।
त्यस्तै, ६५ वर्षीय पुरुषले चलाएको ट्याक्सीमा २ यात्रु थिए। उनीहरूको हातखुट्टामा चोट लागेको छ।
ट्याक्सी चालकलाई खतरनाक तरिकाले सवारी साधन चलाएर ज्यान लिने अभियोग गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य ४ जना घाइते भएका छन्। ट्याक्सीका चालकलाई पक्राउ गरिएको छ।
वेस्ट काउलुन राजमार्गमा ओलम्पियन सिटी सपिङ सेन्टर नजिकै दुर्घटना भएको हो।
ट्याक्सीको ठक्करपछि नियन्त्रण गुमाएको कार गुडिरहेको अर्को ट्याक्सी तथा सडक छेउमा पार्किङ गरिएका अन्य ३ गाडीलाई ठक्कर दिन पुगेको थियो। यसपछि कार कर्बमा ठोकिएको थियो।
३० वर्षीय कार चालकले आफन्तलाई गाडीमा चढाएको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण कार क्षतिग्रस्त भएको तस्बिरमा देख्न सकिन्छ।
विपरीत लेनबाट आइरहेको अर्को गाडीको ड्यासक्याम फुटेजमा देखिएअनुसार कार बायाँतर्फको सडक डिभाइडरमा ठोकिएको छ भने पछाडिबाट तीव्र गतिमा ट्याक्सी आइरहेको छ। (एससीएमपी)
Shares

प्रतिक्रिया