हङकङमा ‘जिफाह साँझ-२’ सम्पन्न भएको छ। गुरुङ फिल्म एसोसिएसन (जिफाह) हङकङद्वारा आयोजित उक्त सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गत आइतबार जोर्डनस्थित याउमा तेई कम्युनिटी हलमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल, अमेरिका, अस्ट्रेलिया र हङकङका गरी करिब डेढ दर्जन गुरुङ कलाकर्मीले दमदार प्रस्तुति दिएका थिए।
त्यसैगरी गायिका उषा गुरुङले मीठो प्रस्तुति दिएर उपस्थित दर्शकलाई छमछमी नचाउन सफल भएकी थिइन्। अन्य कलाकार अनुसा गुरुङ, अन्जु गुरुङ, प्रेम गुरुङ, आनन्द गुरुङ, साजन गुरुङ लगायतले प्रस्तुति दिएका थिए। कार्यक्रममा कोरियोग्राफी साजन गुरुङको रहेको थियो।

गुरुङ संस्कृति, जनजीवन र परम्परागत भेषभूषासहितको घाटु नाच, रोधी, सोरठीले दर्शकलाई गाउँघरको याद दिलाएको थियो।
यसका साथै, प्रहसन, मिथक, मौलिक संस्कार र संस्कृतिको प्रस्तुतिबाट गुरुङ समुदायका बारे धेरै कुरा बुझ्न सकिन्थ्यो। कार्यक्रममा ६ सयभन्दा बढी नेपालीको उपस्थिति थियो।
यतिखेर नेपाली चलचित्रको माहोल छ तर पनि जातीय/सामुदायिक कार्यक्रम सम्पन्न गर्नु भो। दर्शक खचाखच थिए, व्यवस्थापन पनि राम्रो थियो, कार्यक्रम भव्य देखियो। यसरी सफल हुन्छ भन्ने सोच्नुभएको थियो? चुनौती कत्तिको थियो? भनी नेपालखबरले सोधेको प्रश्नमा आयोजक संस्थाका अध्यक्ष तथा संयोजनको भूमिका निर्वाह गरेकी माया गुरुङले भनिन्, ‘कार्यक्रम सोचेभन्दा राम्रो भएको छ। सुरुमा आर्थिक व्यवस्थापन गर्न गाह्रो होला कि भन्ने चिन्ता थियो। किनकि नेपालबाट धेरै कलाकार, पाहुनाहरू ल्याउनु थियो। तर, हामीलाई विभिन्न व्यक्ति तथा संस्थाले दिल खोलेर आर्थिक, भौतिक, नैतिक सहयोग गर्नु भयो। जसले गर्दा हामीले भव्यताका साथ कार्यक्रम सम्पन्न गर्न सक्यौँ। हामी उहाँहरूप्रति आभारी छौँ।’

आफ्नो टिम बलियो भएका कारणले पनि काम गर्न सजिलो भएको अध्यक्ष गुरुङको भनाइ छ। उद्देश्यअनुसारको सन्देश दिन आफूहरू सफल रहेको उनले बताइन्।
‘हङकङमा छुट्टाछुट्टै संस्था खोलेर सक्रिय भएका गुरुङ प्रतिनिधि पनि एकै ठाउँ देखिए। के यो कार्यक्रममार्फत एकताको सन्देश दिन खोज्नुभएको हो?’ अर्को प्रश्नमा अध्यक्ष गुरुङ भन्छिन्, ‘हो, हामी एकतामा जोड दिन्छौँ। किनकि, एकता नै बल हो। हङकङमा गुरुङका चार वटा संस्था अस्तित्वमा छन्। ती सबै संस्थाबीच विश्वासको वातावरण हुनु जरूरी छ। दाम्लो जति नै पोयामा बाटिए पनि गाँठो एउटै हुन जरूरी छ। हामी सबै गुरुङ एकजुट भएको हेर्न चाहन्छौँ।’
कार्यक्रमका लागि तीन लाख डलरभन्दा बढी प्रायोजन प्राप्त भएको आयोजक संस्थाले बताएको छ।
सुरुको औपचारिक कार्यक्रम अध्यक्ष माया गुरुङको अध्यक्षता सम्पन्न भएको थियो। कार्यक्रमलाई प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य तथा जिफान नेपालका पूर्वअध्यक्ष वेदबहादुर गुरुङ, जिफान नेपालका वर्तमान अध्यक्ष राजबहादुर गुरुङले सम्बोधन गरेका थिए। कार्यक्रममा चलचित्र निर्माता तथा निर्देशक नवीन सुब्बा, विभिन्न संस्थाका प्रतिनिधि, मुख्य प्रायोजकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई प्रमुख अतिथि गुरुङले रिवन काटी उद्घाटन गरेका थिए।

आयोजक संस्थाका उपाध्यक्ष ओम गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव विश्वास गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। सांगीतिक कार्यक्रम भने संस्थाका संस्थापक उपाध्यक्ष सुवास गुरुङले सञ्चालन गरेका थिए।
गीत-संगीत तथा चलचित्रको माध्यमबाट गुरुङ समुदायको कला र संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यस्वरुप कार्यक्रम गरिएको आयोजक संस्थाले बताएको छ।
संस्थाले जिफाह नेपालका लागि पनि आर्थिक सहयोग जुटाउँदै आएको छ। जसअनुरुप सन् २०१७ मा ‘जिफाह साँझ-१’ ल्याएको थियो। जिफाह हङकङ सन् २०१६ मा स्थापना भएको हो।
Shares

प्रतिक्रिया